कर्मचारी बिदामा गएपछि गजेन्द्रनारायण अस्पतालको भिडियो एक्सरे ४ दिनदेखि बन्द- मधेस - कान्तिपुर समाचार

कर्मचारी बिदामा गएपछि गजेन्द्रनारायण अस्पतालको भिडियो एक्सरे ४ दिनदेखि बन्द

अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको भिडियो एक्सरे सेवा पछिल्लो चार दिनदेखि रोकिएको छ । अस्पतालको भिडियो एक्सरे सेवा बन्द हुँदा अस्पतालमा आएका बिरामीहरुलाई अस्पताल बाहिर महँगोमा भिडियो एक्सरे सेवा लिनुपर्ने बाध्यता सिर्जना भएको छ ।

अस्पतालमा भिडियो एक्सरे सेवा सञ्चालन गर्ने रेडियोलोजिष्ट आशिषकुमार सिंह बिदामा गएपछि सेवा नै ठप्प भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहका अनुसार अस्पतालमा सिंह एक मात्र रेडियोलोजिष्ट छन् । उनी बिदामा गएका कारण सेवा सञ्चालन गर्ने प्राविधिकको अभावमा भिडियो एक्सरे सेवा रोकिएको हो ।

अस्पतालमा भिडियो एक्सरे चलाउने रेडियोलोजिष्टको दरबन्दी खाली छ । छात्रवृत्ति करारमा रहेका सिंह आउँदो शुक्रबार सम्मका लागि बिदामा रहेको मेसु डा. साहले बताए ।

प्रकाशित : माघ १०, २०७९ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका आदिललाई काठमाडौं लगियो

अवधेशकुमार झा

राजविराज — म्याच फिक्सिङ गरेको आरोपमा सोमबार बिहान पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आदिल  अन्सारीलाई काठमाडौं लगिएको छ । 

राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानवाट पक्राउ परेका आदिललाई बुद्ध एयरको उडानवाट राजविराजबाट काठमाडौं पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । अन्सारीमाथि नेपाल टी–टवान्टी लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोप छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) लगिने र अनुसन्धान गरिने तयारी छ । लिगमा अन्सारी जनकपुर रोयल्स टिमबाट खेलेका थिए ।

बारा जिल्ला घर भएका आदिललाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानबाटै सोमवार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । सो मैदानमा जारी मुन्ना साह मेमोरियल अन्तर कलेज क्रिकेट प्रतियोगितामा जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट प्रतियोगिता खेल्न मैदान पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोही प्रकरणमा सप्तरीको राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको साझेदारीमा गत पुस ८ गतेदेखि टी–२० लिग प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा म्याच फिक्सिङका आधारहरू फेला परेपछि सीआईबीले छानबिन गरिरहेको छ ।

प्रकाशित : माघ ९, २०७९ १७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×