भारतमा हत्या भएका दुवै युवकको जनकपुरमा अन्तिम संस्कार- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा हत्या भएका दुवै युवकको जनकपुरमा अन्तिम संस्कार

दोषीलाई पक्राउ गर्न गाउँलेहरूले प्रदर्शन गरेका छन्
श्यामसुन्दर शशि

जनकपुर — भारतमा हत्या गरिएका जनकपुरका दुई युवकको सोमबार बिहान जनकपुरमा अन्तिम संस्कार गरिएको छ । भारतमा पोस्टमार्टम सकिएपछि दुवै युवकको शव बिहान जनकपुर ल्याइएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका वाड नं ८ का २२ वर्षीय रोशन साह र वाड नं १३ का २३ वर्षीय विष्णुप्रसाद साहको शव भारत, सीतामढी जिल्लाको बेलाथानास्थित पर्सा गाउँमा खाल्टोमुनि गाडेको अवस्थामा आइतबार बिहान फेला परेको थियो । दुवै युवकलाई अपहरण गरी हत्या गरिएको अनुसन्धानमा संलग्न नेपाल र भारतका प्रहरी अधिकारीहरुले बताएका छन् ।

हत्या आरोपमा नेपालमा दुई तथा भारतमा चार जना पक्राउ परेका छन् । सीतामढीका अनुमण्डल प्रहरी पदाधिकारी सुवोध कुमारका अनुसार सीतामढी जिल्ला बेलाथानास्थित रजबाडाका सुनिल सहनी, अजित भण्डारी तथा सुकी मुसहरनीया गाउँका इन्द्रजित बैठा र अजय बैठा पक्राउ परेका छन् । मुख्य आरोपित सुजित भण्डारी भने फरार छन् ।

अनुमण्डल पदाधिकारी सुवोध कुमारका अनुसार दुवै युवकको अपहरण र हत्या फिरौतीकै लागि गरिएको थियो । पक्राउ परेका आरोपितहरुकै बयानका आधारमा शव गाडेको स्थानको खोजी गरिएको तथा उनीहरुको सम्बन्ध नेपाली युवकहरुसँग समेत देखिएको उनले जानकारी दिए । पक्राउ परेकामध्ये केही आपराधिक पृष्टभूमिका रहेको पनि उनले जानकारी दिए ।

‘आरोपीहरुले हत्यामा आफ्नो संलग्नता स्विकार गरेका छन् । अनुसन्धानको क्रममा नेपाल र भारतका अन्य केहीको नाम पनि आएको छ,’ सुवोध कुमारले कान्तिपुरसँगको फोन सम्पर्कमा भने ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरी सिसवा नगरपालिका–२ इटहर्वा बस्ने हरिश्चन्द्र पण्डितका छोरा २४ वर्षीय किशनकुमार पण्डित र सोही गाउँ बस्ने बैजनाथ पासमानको छोरा २४ वर्षीय मुकेश पासमानलाई पक्राउ गरेको छ । पासमानलाई जिनकै घरबाट पक्राउ गरिएको थियो भने पण्डितलाई डेरा गरी बस्दै आएको जनकपुरधाम नगरपालिका ८ वलवा टोलबाट आइतबार पक्राउ गरिएको थियो ।

रोशनका परिवारका सदस्यहरुले दिएको जानकारी अनुसार किशन पण्डित बलवा टोलमा डेरा गरी बस्दै आएका थिए । पण्डित र मृतक रोशन साहबीच मित्रता थियो । यसअघि पनि दुवैजना सँगै भारत आउने–जाने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले पनि मृतक रोशन र पक्राउ परेका किशनबीच मित्रता रहेको बताएका छन् । कान्तिपुरसँगको कुराकानीमा उनले भने ‘दुवै जनाबीच पुरानो मित्रता त थिएन । तर पछिल्लो समय दुवै जनाबीच पटकपटक फोन सम्पर्क भएको देखिएको छ ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुवै युवक अपहरणमा परेकै दिन (पुस २७ गते) देखि नै किसनले प्रयोग गर्दै आएको फोन अफ भयो । किसनले प्रयोग गर्दै आएको फोन अरुकै नाममा दर्ता थियो ।

दुवै युवकको अन्तिम संस्कारपछि आक्रोशित पिडारी गाउँवासी जनकपुर–ढल्केवर सडकखण्ड अवरोध गर्नुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि धर्नासमेत बसेका थिए । आक्रोशित स्थानीयवासी दोषीलाई अविलम्ब पक्राउ गरी कडाभन्दा कडा सजायको माग गर्दै थिए ।

जनकपुरधाम उपमहानगरपालिका वाड नं १३ का पूर्व वडाध्यक्ष एवं पिडारी निवासी शुभचन्द्र मण्डलका अनुसार प्रहरी उपरीक्षक विश्वराज खड्काले आरोपीलाई अविलम्ब पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रोहित र विष्णु छिमेकी तथा मिल्ने साथी थिए । पछिल्लो बुधबार (पुस २७ गते ) दुवै जना रोहितको मामाघर परिहार जानका लागि घरबाट निस्केका थिए । परिहार सीतामढी जिल्लाको बेलाथाना अन्तर्गतककै गाउँ हो । तर मामाघर पुग्नुअघि नै अज्ञात समूहले उनीहरुलाई अपहरण गरेको थियो ।

दुवै जना भारत छिर्ने बित्तिकै अपहरणमा परेको प्रहरीको अनुमान छ । उनीहरु जनकपुर गएका तथा नेपालका बैंकहरु बन्द भएको सूचना जनकपुरबाटै कसैले अपहरणकारीलाई दिएको पीडित परिवारको दाबी छ ।

‘मैले अपहरणकारीलाई नेपालको बैंक बन्द छ । फिरौती रकमको व्यवस्था हुन सकेन भन्दा उनले नेपालमा बिदा भएको जानकारी रहेको जवाफ दिएका थिए । भारतीय नागरिकलाई नेपालको विदाबारे कसरी थाहा हुन्छ ? कुनै नेपालीले नै जानकारी दिएको हुनुपर्छ,’ मृतक विष्णुप्रसाद साहका पिता रामबाबु साहले भने ।

पुस २७ गते घरबाट निस्केका छोरालाई खोज्न रामबाबु २८ गते नै सीमावर्ती गाउँहरु पुगेका थिए । रोशनको मामाघर परिहार पनि पुगेका थिए । तर कहीँ कतै कुनै सूचना पाएका थिएनन् । पुस २९ गते अपहरणकारीले सुरुमा विष्णुप्रसादको फोनबाट र पछि भारतीय नम्बरको मोबाइलबाट फिरौती माग्न थाल्दा छोरा अपहरणमा परेको थाहा पाएका थिए ।

सुरुमा ५० लाख फिरौती मागेका अपहरणकारीहरुले मोलतोलपछि २० लाख फिरौती लिएर दुवै जनालाई मुक्त गर्ने सहमति जनाएका थिए ।

प्रकाशित : माघ ९, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्

जनकपुरका दुई युवकको सीतामढीमा हत्या

बाजे भन्छन्– ‘फिरौतीको लागि जोहो गरेको २० लाख घरमै छ’
श्यामसुन्दर शशि

जनकपुर — जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ र १३ का दुई युवकको सीमावर्ती भारतीय गाउँमा हत्या भएको छ । अनुसन्धानका क्रममा भारत पुगेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायका अनुसार दुवै युवकको शव खाल्टो खनेर गाडेको अवस्थामा सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा आइतबार बिहान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको सूचनाको आधारमा मृतकका परिवारका सदस्यहरु आइतबार बिहान घटनास्थल पुगेका थिए । रायका अनुसार शव जनकपुरका २२ वर्षीय रोहित साह तथा २३ वर्षीय विष्णु साहकै रहेको परिवारका सदस्यले पहिचान गरेका छन् । पोष्टमार्टमपछि बेलुकासम्म शव परिवारका सदस्यहरुलाई बुझाइने छ ।

रोहित र विष्णु छिमेकी अनि मिल्ने साथी थिए । पछिल्लो बुधबार (पुस २७ गते) दुवै जना रोहितको मामाघर परिहार जानका लागि घरबाट निस्केका थिए । परिहार सीतामढी जिल्लाको बेला थाना अन्तर्गतकै गाउँ हो । तर मामाघर पुग्नुअघि नै अज्ञात समूहले उनीहरुलाई अपहरण गरेको हुन सक्ने प्रहरीको दाबी छ । डिएसपी रायका अनुसार दुवै जनालाई केही दिनअघि नै हत्या गरेको देखिन्छ । घटना हेर्दा डोरीले घाँटी थिचेर उनीहरुको हत्या गरेको जस्तो देखिने रायले बताए ।

दुवै जना भारत छिर्ने बित्तिकै अपहरणमा परेको परिवारको अनुमान छ । अपहरणकारीहरुले विष्णु साहका बुबा रामबाबु साहलाई फोन गरेर सुरुमा ५० लाख फिरौती मागेका थिए । मोलतोल पछि २० लाख फिरौती लिएर दुवै जनालाई मुक्त गर्ने सहमति भएको थियो । अपहरणकारीहरुले विष्णुका बुबालाई घरि सीमावर्ती कुनै गाउँ त घरि सर्लाहीको मलंगवा बोलाउने गरेका थिए । तर उनीहरुले न फिरौतीको रकम लिए न त दुवै जनालाई मुक्त नै गरे ।

‘ऋण काढेर २० लाखको जोहो गरेको थिएँ । रुपियाँ अहिले पनि ब्यागमै छ । तर नाति नै नरहेपछि रुपियाँको के काम ?, ’ बाजे रामकिशोर साहले रुँदै कान्तिपुरसँग भने । नातिको अवस्थाबारे रोहितका बाजे पृथ्वी साह अझै पनि बेखबर नै छन् । बिहान कान्तिपुरसँगको भेटमा उनले भने, ‘जगदीश(रोहितका बुबा) बुझ्न गएको छ । हेरौं कतिबेला फर्केर आउँछ ।’

रोहित र विष्णु कुन प्रयोजनको लागि मामाघर परिहार गएका थिए भन्नेबारे आफूलाई जानकारी नभएको बाजे पृथ्वी साहले बताए । विष्णु साहको परिवारमा बाजे रामकिशोर, बुबा रामबाबु, आमा, श्रीमती तथा ३ वर्षीया एक छोरी छन् भने रोहित अविवाहित हुन् ।

घटना अनुसन्धानको क्रममा नेपाल र भारतका संयुक्त प्रहरी टोलीले सम्भावित स्थानहरुमा छापा मारेका थिए । यसै क्रममा शव गाडिएको स्थान फेला परेको थियो । पीडित परिवारका सदस्यहरुलाई गरेको फोन नम्बरको आधारमा नेपालका दुई तथा भारतका तीन जना नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रकाशित : माघ ८, २०७९ १३:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×