१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुधारगृहमा दोब्बर बालक

६० जना क्षमताको सुधारगृहमा १ सय २८ जना कोचाकोच गरी बस्दै
शंकर आचार्य

पर्सा — मधेस प्रदेशको एकमात्र वीरगन्जस्थित बाल सुधारगृह क्षमताभन्दा दोब्बर बालक–किशोरका कारण अस्तव्यस्त बनेको छ । ६० जनाको क्षमता भएको गृहमा बुधबार १ सय २८ बालक तथा किशोर थिए । 

सुधारगृहमा दोब्बर बालक

गृहका साना ठूला ११ कोठामध्ये सानामा १२ देखि १४ जना र ठूलोमा ३० देखि ३१ जनालाई कोचाकोच गरी राखिएको छ । उनीहरू पर्सादेखि सप्तरीसम्मका अदालतबाट कानुनी विवादमा परेर पुर्पक्ष तथा कैद सजायका लागि पठाइएका हुन्, जसमध्ये ९ जना भारतीय छन् । गृहमा रहेकामध्ये करिब ४ दर्जन मुद्दा विचाराधीन वा फैसला भइसकेको अवस्थामा त्यस्ता मुद्दामा सुधार गृह पठाइएकाहरू १८ वर्षभन्दा माथि उमेर पुगिसकेका पनि छन् ।

करिब डेढ कठ्ठा क्षेत्रफलमा फैलिएको बालगृहमा बालबालिका उकुसमुकुसपूर्ण दैनिकी बिताउन बाध्य छन् । २०७५ भदौदेखि सञ्चालित बालगृहमा हाल आश्रितमध्ये ४१ जबरजस्ती करणीका, २० जना लागूऔषध मुद्दाका, १० सवारीज्यान मुद्दाका र ७ अपहरण शरीरबन्धक मुद्दाका छन् । अन्य भने चोरी, कर्तव्य ज्यानलगायतका मुद्दाका छन् । केही बालबालिका भने मानव बेचविखन तथा ओसारपसार, खोटा चलन, नेपाली नागरिकता उद्योग र बालविवाह मुद्दाका पनि छन् ।

उनीहरू आधारभूत शिक्षाबाट पनि वञ्चित छन् । बालबालिकासम्बन्धी ऐन २०७५ मा व्यवस्था भएअनुरूप गृहमा विद्यालय छैन । एक स्टाफ नर्सको दरबन्दी छ । घनाबस्तीको बीचमा रहेको गृहका लागि भवन संरचना अपुगसमेत छ । विगतमा यहाँ अनाथालयको रूपमा सञ्चालित छ । बालगृह प्रमुख टीकाकृष्ण काफ्ले क्षमताभन्दा दोब्बर बढी बालक तथा किशोर राखिँदा गृहको व्यवस्थापनमै समस्या भइरहेको बताउँछन् । ‘गर्मी मौसममा ससाना कोठामा धेरै जना कोचिएर बस्दा श्वासप्रश्वासमा समस्या, ज्वरो, हातखुट्टा सुन्निनेजस्ता समस्या देखिने गरेको छ,’ उनले भने, ‘गृहमा आश्रित बालक तथा किशोर बिरामी परे यहाँबाट रेफर गरेर सुविधासम्पन्न अस्पतालमा लग्ने व्यवस्था हालसम्म महिला तथा बालबालिका मन्त्रालयले नमिलाउँदा समस्या भइरहेको छ ।’

बालबालिकाको मुद्दा अधिकतम १ सय २० दिनमा फैसला गरिनुपर्ने व्यवस्था ऐनमा रहे पनि लामो समयसम्म फैसला नहुँदा सुधार गृहमा क्षमताभन्दा बढी बालक तथा किशोर रहेको काफ्लेले बताए । उनका अनुसार गृहमा कुल आश्रितमध्ये डेढ दर्जनको मात्रै मुद्दा फैसला भएको र बाँकी पुर्पक्षमै छ । ‘काठमाडौं, पोखरामा रहेका बाल सुधारगृहमा विद्यालय, अस्पतालको पनि सुविधा छ । यो गृहमा त्यस्तो सुविधा नभएकाले समस्या भइरहेको छ,’ उनले भने, ‘परीक्षा बोर्डले लिने एसईई तथा कक्षा ११ र १२ को परीक्षा गृहबाटै दिने व्यवस्था भने मिलाइएको छ ।’ गृहको रासन वीरगन्ज कारागारमार्फत पाउँछन् भने रेखदेख जिल्ला प्रशासन कार्यालयले गर्ने गरेको छ । गृहमा बालिका पनि राखिनुपर्नेमा कोठा अभावकै कारण यहाँ ल्याइने गरिएका बालिकालाई अन्यत्र रेफर गर्ने गरिएको काफ्ले बताउँछन् । ‘सिरहा र बाराबाट २ किशोरीलाई यहाँ पठाइएको थियो,’ उनले भने, ‘हामीले उनीहरूको व्यवस्थापनमै समस्या हुने भएपछि भक्तपुर गृहमा रेफर गरेका थियौं ।’

प्रकाशित : माघ ८, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?