मधेस आन्दोलनका अगुवा निराश- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेस आन्दोलनका अगुवा निराश

श्यामसुन्दर शशि

जनकपुर — बलिदानी दिवसमा सहभागी हुन जनक चोकको डबली पुगेर फर्किएका इन्द्रकुमार झा बिहीबार अपराह्न जनकपुरको रामचोकमा निराश मुद्रामा भेटिए । यो वर्ष सहिदलाई सम्झेर कार्यक्रम नगरिएकामा मधेस आन्दोलनका अगुवा झा आक्रोशित देखिन्थे । उनले भने, ‘कति छिटो सहिदलाई बिर्सेका ।’ मधेस आन्दोलनका क्रममा मारिएका सहिदको सम्झनामा माघ ५ मा बलिदानी दिवस मनाइन्छ । तर अघिल्लामा वर्षमा झैं यस वर्ष सहिदलाई नसम्झिएको उनको भनाइ छ ।


‘सहिद दिवसका अवसरमा एउटा कार्यक्रमसम्म गर्न नसक्ने मधेस सरकार तथा मधेसवादी दलसँग के नै अपेक्षा गर्न सकिन्छ,’ उनले भने । इन्द्रजस्तै मधेस आन्दोलनमा होमिएका शम्भु निर्दोषी पनि सहिदलाई बिर्सिएको गुनासो गर्छन् । उनले भने, ‘आँखा अगाडि नै गोली लागेर सहिद भएका साथीहरूलाई सम्झिन्छु । पीडित परिवारलाई सम्झिन्छु अनि आन्दोलनको सिँढी चढेर सत्ता र सेवासुविधामा रमाएका नेताहरूलाई पनि सम्झिँदा दिक्क लाग्छ ।’

२०६३ सालअघि मधेस आन्दोलनमा होमिएका झा र निर्दोषी मात्र होइनन्, सप्तरीका केशव झा, धनुषाका अजित कर्ण, सिरहाका सुरेश मण्डल र अशोक यादव पनि निराश छन् । उनीहरू जुन उद्देश्य र हौसलाका साथ आन्दोलन गरियो, त्यसको राजनीतिक प्रतिफल प्राप्त भए पनि मधेसकै नेताहरू सत्तामुखी हुँदा सहिद परिवार ओझेलमा परेको गुनासो सुनाउँछन् । ‘मधेस केन्द्रित दलका नेताहरूले आन्दोलनलाई सत्ताप्राप्तिको सिँढी मात्र बनाए,’ निर्दोषीले भने, ‘आन्दोलनकारी, घाइते तथा सहिद परिवारलाई ख्याल गर्न सकेनन् ।’

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लाल मधेस आन्दोलन देशकै आन्दोलन रहेको बताउँछन् । संघीयता, समावेशी लोकतान्त्रिक गणतन्त्र तथा समानताको अधिकार मधेस आन्दोलनबाटै संस्थागत भएको उनको भनाइ छ । लालले भने, ‘मधेस आन्दोलनले मुलुकलाई धेरै थोक दिएको छ । तर दुर्भाग्य अब यो आन्दोलन अवरोहतिर जाँदै छ ।’ २०६३ माघ ५ मा माओवादी कार्यकर्ताको गोली लागेर रमेश महतोको लहानमा मृत्यु भएपछि मधेसभरि आन्दोलन सुरु भएको थियो । तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा २०६३ सालमा अन्तरिम संविधानको प्रतिलिपि जलाइएको थियो । त्यसपछि मधेसका २२ वटै जिल्लामा आन्दोलन सुरु भएको थियो ।

प्रकाशित : माघ ८, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

मधेस प्रदेशमा आज सभामुख चुनिँदै

सत्तागठबन्धनका मण्डल र कांग्रेसका यादवबीच प्रतिस्पर्धा
श्यामसुन्दर शशि

जनकपुर — मधेस प्रदेशमा सभामुखको निर्वाचन आज १ बजे हुँदैछ । सत्तागठबन्धन दलबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल यादव सभामुखका उम्मेदवार छन् । हिजो शोक बिदाका कारण निर्वाचन हुन सकेको थिएन ।

१ सय ७ सदस्यीय मधेश प्रदेशसभामा सत्तागठबन्धन ५ दल तथा ३ स्वतन्त्रगरी ७२ प्रदेशसभा सदस्यको समर्थन छ । नेपाली कांग्रेससँग २२ प्रदेशसभा सदस्य छन् । कांग्रेस प्रदेशसभाको दोस्रो ठूलो दल हो । सत्ता गठबन्धनमा नेकपा एमालेका २३, जनता समाजवादीका १६, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९ तथा लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन प्राप्त छ ।

सभामुखका उम्मेदवार रामचन्द्र मण्डलका अनुसार आजको बैठकमा सर्वसम्मतिमा सभामुख चयन गर्ने प्रयास पनि हुन्छ । ‘सर्वसम्मति गर्न हामीले कांग्रेससँग आग्रह गरेका छौं । हेरौं के हुन्छ,’ उनले भने ।

प्रकाशित : माघ ३, २०७९ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×