मधेस आन्दोलनका अगुवा निराश

श्यामसुन्दर शशि

जनकपुर — बलिदानी दिवसमा सहभागी हुन जनक चोकको डबली पुगेर फर्किएका इन्द्रकुमार झा बिहीबार अपराह्न जनकपुरको रामचोकमा निराश मुद्रामा भेटिए । यो वर्ष सहिदलाई सम्झेर कार्यक्रम नगरिएकामा मधेस आन्दोलनका अगुवा झा आक्रोशित देखिन्थे । उनले भने, ‘कति छिटो सहिदलाई बिर्सेका ।’ मधेस आन्दोलनका क्रममा मारिएका सहिदको सम्झनामा माघ ५ मा बलिदानी दिवस मनाइन्छ । तर अघिल्लामा वर्षमा झैं यस वर्ष सहिदलाई नसम्झिएको उनको भनाइ छ ।


‘सहिद दिवसका अवसरमा एउटा कार्यक्रमसम्म गर्न नसक्ने मधेस सरकार तथा मधेसवादी दलसँग के नै अपेक्षा गर्न सकिन्छ,’ उनले भने । इन्द्रजस्तै मधेस आन्दोलनमा होमिएका शम्भु निर्दोषी पनि सहिदलाई बिर्सिएको गुनासो गर्छन् । उनले भने, ‘आँखा अगाडि नै गोली लागेर सहिद भएका साथीहरूलाई सम्झिन्छु । पीडित परिवारलाई सम्झिन्छु अनि आन्दोलनको सिँढी चढेर सत्ता र सेवासुविधामा रमाएका नेताहरूलाई पनि सम्झिँदा दिक्क लाग्छ ।’

२०६३ सालअघि मधेस आन्दोलनमा होमिएका झा र निर्दोषी मात्र होइनन्, सप्तरीका केशव झा, धनुषाका अजित कर्ण, सिरहाका सुरेश मण्डल र अशोक यादव पनि निराश छन् । उनीहरू जुन उद्देश्य र हौसलाका साथ आन्दोलन गरियो, त्यसको राजनीतिक प्रतिफल प्राप्त भए पनि मधेसकै नेताहरू सत्तामुखी हुँदा सहिद परिवार ओझेलमा परेको गुनासो सुनाउँछन् । ‘मधेस केन्द्रित दलका नेताहरूले आन्दोलनलाई सत्ताप्राप्तिको सिँढी मात्र बनाए,’ निर्दोषीले भने, ‘आन्दोलनकारी, घाइते तथा सहिद परिवारलाई ख्याल गर्न सकेनन् ।’

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लाल मधेस आन्दोलन देशकै आन्दोलन रहेको बताउँछन् । संघीयता, समावेशी लोकतान्त्रिक गणतन्त्र तथा समानताको अधिकार मधेस आन्दोलनबाटै संस्थागत भएको उनको भनाइ छ । लालले भने, ‘मधेस आन्दोलनले मुलुकलाई धेरै थोक दिएको छ । तर दुर्भाग्य अब यो आन्दोलन अवरोहतिर जाँदै छ ।’ २०६३ माघ ५ मा माओवादी कार्यकर्ताको गोली लागेर रमेश महतोको लहानमा मृत्यु भएपछि मधेसभरि आन्दोलन सुरु भएको थियो । तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा २०६३ सालमा अन्तरिम संविधानको प्रतिलिपि जलाइएको थियो । त्यसपछि मधेसका २२ वटै जिल्लामा आन्दोलन सुरु भएको थियो ।

प्रकाशित : माघ ८, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

शिलालेख संरक्षण गरिँदै

कान्तिपुर संवाददाता

इलाम — धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वको ढुंगामा कुँदिएका अक्षरहरूको संरक्षण इलामको माइजोगमाईमा सुरु भएको छ । बौद्ध शिक्षाका मन्त्रहरू संरक्षणको अभावमा मेटिएर जान थालेपछि सरोकारवालाहरू जागेका हुन् ।


गुरु कुमणि शिलालेख संरक्षण समितिले इलामका उत्तरी क्षेत्रका ती ढुंगाको सफाइ गर्दै अक्षरहरूलाई प्रस्ट देख्न सकिने बनाएका छन् । यो अभियानमा देश विदेशका धर्मानुरागीहरूले सहयोग गरेका छन् । स्थायी रूपले संरक्षणका लागि तीन तहकै सरकारले ध्यान पुर्‍याउनुपर्ने यस अभियानमा सहभागीको माग छ । अहिलेसम्म दाताको १० लाख रुपैयाँभन्दा धेरै खर्च भइसकेको समितिले जनाएको छ ।

ती ठूला ढुंगामा दुई शताब्दीअघि नै यस्ता मन्त्रहरू कुँदिएको पाकाहरू बताउँछन् । समितिले इलामको माइजोगमाई गाउँपालिका–६ स्थित प्याङबाट संरक्षणको काम थालेको थियो । अभियानका संयोजक दोर्जी शेर्पाले भने, ‘यस्ता अक्षरहरूको विशेष महत्त्व भएकाले यसको संरक्षण गर्नुपर्छ भन्ने लागेर अघि बढेका हौं ।’ ती ढुंगाहरूमा बुद्धको आकृति, शंख तथा अन्य विभिन्न बौद्ध धर्म सम्बन्धित आकृतिहरू पनि कुँदिएका भेटिन्छन् । प्राचीनकालमा धर्म प्रचारको कुनै माध्यम नभएकाले बौद्ध भिक्षुहरूले ढुंगाको मद्दत लिएको प्रारम्भिक अध्ययनमा पाइएको अध्ययनकर्ताहरू बताउँछन् ।

ढुंगामा कुँदिएको बौद्ध मन्त्र सम्बोडा र रञ्जना लिपिमा छ । उक्त समितिले माइजोगमाईभित्र र सन्दकपुर–५ जमुनालगायत विभिन्न स्थानका ७० बढी ढुंगाका शिलालेख सफाइ गर्ने भएको छ । कतिपय अक्षरहरू मेटिँदै जाने अवस्थामा पुगेको तथा माटो र झारजंगलले छोपिएका थिए । समितिले स्थानीयको सूचनाका आधारमा कतिपय शिलालेखहरू पत्ता लगाएर सफाइ गरेको छ ।

प्रकाशित : माघ ८, २०७९ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×