कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कार्यकर्ता भर्ती गर्ने संस्था खारेज हुनु पर्छ : साह

सन्तोष सिंह

धनुषा — मधेस प्रदेश माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले प्रदेशमा कार्यकर्ता भर्ना गर्न स्थापना गरिएका संस्था मर्ज गर्नुपर्ने बताएका छन् । मुख्मन्त्रीलाई विश्वासको मतका लागि बुधबार पेस भएको प्रस्तावमाथिको छलफलमा सहभागी भएका मधेस प्रदेशका निवर्तमान गृह तथा सञ्चारमन्त्री साहले प्रदेशको विकासका लागि साधारण खर्च कटौती गर्न सुझाव दिए ।

कार्यकर्ता भर्ती गर्ने संस्था खारेज हुनु पर्छ : साह

'मधेस प्रदेशको पहिलो सरकारले अनावश्यक कार्यालय स्थापना गरेर प्रदेशको साधारण खर्च बढाएको छ,' साहले भने, ‘एउटै काम गर्न दुई फरक-फरक कार्यालय खोलिएको छ । मन्त्रीले आफ्ना कार्यकर्ता भर्नाका लागि मात्रै कार्यालय स्थापना भएका छन् । मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरणको काम एउटै भए पनि कार्यकर्ता भर्ती गर्नमात्रै दुई संस्था स्थापना गरिएको हो ।’

प्रदेश सरकारले स्थापना गरेको जनलोकपाल आयोगको पनि कुनै काम नहरेकोले साधारण खर्च बढाउने संस्थाहरुलाई मर्ज गरेर सरकार अगाडि बढनु पर्नेमा साहको जोड थियो । प्रदेशसभाको पहिलो कार्यकालमा अधिकारका लागि संघर्ष गरे पनि सफलता प्राप्त नभएकोले दोस्रो कार्यकाल पनि संघर्षकै बाटोमा रहेको भन्दै उनले प्रदेश प्रहरी र निजामती ऐन कार्यान्वयन गर्न राजनीति दल एकमत भएर अगाडि बढ्नु पर्ने साहले बताए ।

प्रदेश सरकारको विकास योजना खुद्रे र टुक्रे भएको टिप्पणी गर्दै साहले प्रदेशमा विकास र परिवर्तन अनुभूति गर्न बृहत् योजनाको आवश्यकतामा जोड दिए । 'प्रदेश सरकारले १/२ सय किलो मिटर सडक ढलान र देवी देवताको मठ मन्दिर निर्माणमा १/२ लाख खर्च गर्ने योजनाले प्रदेश विकास सम्भव छैन,' साहले भने,‘प्रदेश सरकारले बजेट रकमान्तर गरेर भए पनि सप्तरीदेखि पर्सासम्म ८ वटै जिल्लाको मध्यबाट ६ लेनको सडक बनाउन सक्नुपर्छ ।’

'पूर्व-पश्चिम महेन्द्र राजमार्ग, पूर्व-पश्चिम रेलमार्गले मधेसका नागरिकको जीवनस्तरमा कुनै परिवर्तन नभएको र हुलाकी राजमार्गबाट लामो दुरी तय गर्न नसक्ने भएकोले प्रदेश सरकारले सप्तरीबाट पर्सासम्म जिल्लाको मध्यक्षेत्रबाट ६ लेनको सहिद राजमार्ग बनाए तत्काल विकासको अनुभूति गर्न सकिन्छ,' उनले भने । ६ लेनको सडकले किसानको आवश्यकता पूर्ति गर्न र उद्योग सञ्चालन भएर प्रदेशको विकासमा मद्दत पुग्ने साहले बताए । प्रदेशका स्वास्थ्य सेवा सुधार गर्न प्रादेशिक अस्पतालको सेवामा सुधार गर्नु पर्ने पनि उनको भनाइ थियो ।

मधेस प्रदेशले संघीयता सफल बनाएमात्र मुलुकमा संघीयताको सफल कार्यान्वयन हुने साहले दाबी गरे । 'मधेस प्रदेशले मात्रै पहिचान सहितको संघीयता कार्यान्वयन गर्न सफल भइरहेको छ,' साहले भने,‘मधेस प्रदेशबाहेक कुनै पनि प्रदेशको नाम पहिचानको अधारमा हुन सकेन ।’

संघीयता कार्यन्वयनका लागि आवश्यक अधिकारहरु सबै मिलेर मात्रै पूरा गर्न सक्ने भएकोले अग्निपरीक्षा मधेस प्रदेशका दलहरुले दिन बाँकी रहेको साहले बताए ।

प्रकाशित : माघ ४, २०७९ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?