मधेसको सभामुखमा एमालेका मण्डल निर्वाचित- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेसको सभामुखमा एमालेका मण्डल निर्वाचित

अजित तिवारी

जनकपुर — मधेस प्रदेशको सभामुखमा एमालेका सांसद रामचन्द्र मण्डल निर्वाचित भएका छन् । मण्डललाई सत्ता गठबन्धनका ८ दलको समर्थन छ। उनलाई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सांसदले पनि उनलाई मत हालेका थिए ।

धनुषा क्षेत्र नं. १ को २ बाट प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचित मण्डल ७४ मत पाएर सभामुखमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका जंगीलाल रायले २९ मत पाए । रायलाई कांग्रेस र नेकपा (एस) का सांसदहरुले मत दिए।

१ सय ७ जना सांसद रहेको मधेस प्रदेशसभाको मंगलबारको बैठकमा १ सय ३ जना सांसदको उपस्थिति थियो । सभामुखमा एमालेका मण्डललाई निर्वाचित गर्न माओवादी(केन्द्र)का संसदीय दलका नेता भरतप्रसाद साहले प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा एमालेका संसदिय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव र जसपाका सांसद रामआशिष यादवले समर्थन जनाएका थिए ।

यस्तै, कांग्रेसका सांसद जंगीलाल रायलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव कांग्रेसका सांसद कुमरकान्त झाले प्रदेशसभाको बैठकमा पेस गरेका थिए भने कांग्रेस सांसद जिवछीकुमारी यादवले समर्थन जनाएकी थिइन् ।

को हुन् मण्डल ?

मधेस प्रदेशको सभामुखमा निर्वाचित भएका मण्डल प्रदेशसभाको पहिलो कार्यकालमा माओवादी(केन्द्र)बाट निर्वाचित भएका थिए ।

धनुषाको निर्वाचन क्षेत्र नं. १(२)बाट दोस्रोपटक प्रदेशसभामा जितेका मण्डल प्रदेशसभाको पहिलो कार्यकालमा प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापतिसमेत रहे ।

अध्यापन पेशामा रहेका मण्डल माओवादीको जनयुद्धकालमा भूमिगत भएका थिए । माओवादीको धनुषा जिल्ला नेतृत्वसमेत सम्हालिसकेका मण्डल नेकपा विभाजन हुँदा एमालेमै बसिरहे । त्यसपछि उनलाई माओवादी(केन्द्र)ले प्रदेशसभा सांसद पदबाट निलम्बनसमेत गरेको थियो । प्रदेशसभाको दोस्रो कार्यकालमा मण्डल एमालेबाट उम्मेदवार भएर चुनाव जितेका हुन् ।

प्रकाशित : माघ ३, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

अजित तिवारी

जनकपुर — मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

बुधबार नै नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३ माओवादीका ८ र ३ जना स्वतन्त्र सांसदको समर्थन छ ।

बारा १(२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित यादव प्रदेशका पूर्वसभामुखसमेत हुन् ।

त्यस्तै प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एकजना सांसद छन् ।

मधेसमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको छ ।

यादव मधेस प्रदेशका दोस्रो मुख्यमन्त्री भएका हुन् । यसअघि उनकै दल जसपाबाट लालबाबु राउत मधेस प्रदेशका मुख्यमन्त्री थिए ।

प्रकाशित : पुस २७, २०७९ १२:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×