सर्लाहीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु 

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको नयाँरोड–बरहथवा सडकखण्डमा रोकिरहेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ । 

शनिबार बिहान वाग्मती नगरपालिका–२ स्थित नयाँरोड–बरहथवा सडकखण्डमा बिग्रेर रोकिराखिएको ना ५ ख ७५६४ नम्बरको उखु लोड गरिएको ट्रकमा वाग्मती प्रदेश ०३–००४ प १५९३ नम्बरको मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक गोडैता नगरपालिका–४ का ३२ वर्षीय विश्वजित हजारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ भने ट्रकका चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस ३०, २०७९ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्

स्रोत नखुलेको रकमसहित सर्लाहीमा ५ जना पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाही सदरमुकाम मलंगवा र गोडैताबाट स्रोत नखुलेको रकमसहित शुक्रबार साँझ पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चार जना काठमाडौंका र एक जना भारतीय रहेको खुलेको छ ।

जिल्लाको ग्रामिण भेग हुँदै बरहथवातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२५ च नम्बरको कार शंका लागि गोडैतामा चेकजाँज गर्दा कारभित्र लुकाइ राखिएको १० लाख ४५ हजार रुपैयाँसहित कारमा सवार चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध रकमसहित पक्राउ पर्नेमा कार चालक काठमाडौं बागेश्वरी मनोहरा नगरपालिका–८ का ३२ वर्षीय प्रह्लाद चापागाईं रहेका छन् । कारमा सवार सोही स्थानका ३६ वर्षीय शिव चापागाईं, ४८ वर्षीय कृष्ण दाहाल र मनोहरा–२ का २७ वर्षीय सनम बस्नेतलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनएको छ ।

यस्तै, भारतको सोनवर्षाबाट साइकलमा नेपालतर्फ आउँदै गरेका भारत सितामढी जिल्ला ग्रामपञ्चायत मढियाका १९ वर्षीय राहुल महतोलाई पनि प्रहरीले सदरमुकाम मलंगवाबाट नियन्त्रणमा लिएको छ । महतोको साथबाट २ लाख नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनले पनि रकमको स्रोत देखाउन सकेका छैनन् । प्रहरी उपरीक्षक नरेशराज सुवेदीले स्रोत नखुलेको रकमसहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेकाहरु हुण्डीको कारोवारी हुनसक्ने प्रहरीको आशंका छ ।

प्रकाशित : पुस ३०, २०७९ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×