स्रोत नखुलेको रकमसहित सर्लाहीमा ५ जना पक्राउ- मधेस - कान्तिपुर समाचार

स्रोत नखुलेको रकमसहित सर्लाहीमा ५ जना पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाही सदरमुकाम मलंगवा र गोडैताबाट स्रोत नखुलेको रकमसहित शुक्रबार साँझ पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चार जना काठमाडौंका र एक जना भारतीय रहेको खुलेको छ ।

जिल्लाको ग्रामिण भेग हुँदै बरहथवातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२५ च नम्बरको कार शंका लागि गोडैतामा चेकजाँज गर्दा कारभित्र लुकाइ राखिएको १० लाख ४५ हजार रुपैयाँसहित कारमा सवार चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध रकमसहित पक्राउ पर्नेमा कार चालक काठमाडौं बागेश्वरी मनोहरा नगरपालिका–८ का ३२ वर्षीय प्रह्लाद चापागाईं रहेका छन् । कारमा सवार सोही स्थानका ३६ वर्षीय शिव चापागाईं, ४८ वर्षीय कृष्ण दाहाल र मनोहरा–२ का २७ वर्षीय सनम बस्नेतलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनएको छ ।

यस्तै, भारतको सोनवर्षाबाट साइकलमा नेपालतर्फ आउँदै गरेका भारत सितामढी जिल्ला ग्रामपञ्चायत मढियाका १९ वर्षीय राहुल महतोलाई पनि प्रहरीले सदरमुकाम मलंगवाबाट नियन्त्रणमा लिएको छ । महतोको साथबाट २ लाख नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनले पनि रकमको स्रोत देखाउन सकेका छैनन् । प्रहरी उपरीक्षक नरेशराज सुवेदीले स्रोत नखुलेको रकमसहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेकाहरु हुण्डीको कारोवारी हुनसक्ने प्रहरीको आशंका छ ।

प्रकाशित : पुस ३०, २०७९ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

सर्लाहीमा दुई डोजरसहित नौ टिपर प्रहरीको नियन्त्रणमा

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको नवलपुरस्थित लखन्देही खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई डोजरसहित ९ वटा टिपर नियन्त्रणमा लिएको छ ।पूर्व–पश्चिम राजमार्गमा पर्ने लखन्देखी पुलदेखि झण्डै १ किलोमिटर उत्तरमा मापदण्डविपरीत अवैध उत्खनन गरिरहेका जेसीबी र टिपरलाई प्रहरीले शुक्रबार दिउँसो चालकसहित नियन्त्रणमा लिएको हो । जेसीबी र टिपर इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।

प्रहरीले नियन्त्रण लिएका ना ७ ख २६६५, ना ७ ख ८९२१, ना ७ ख ५९९५, ना ७ ख ५४५६, ना ७ ख ६४३९, ना ७ ख २९८५, ना ७ ख ६७८९, प्रदेश २–०३–००१ ख ४२४३ र प्रदेश २–०३–००१ ख ०२०१ नम्बरको टिपर र दुई वटा जेसीबी रहेका छन् । ठेक्का लागे पनि त्यहाँ निकै गहिरो खाल्डो बनाएर जोखिम निम्तने गरी उत्खनन भइरहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जेसीबी र टिपरलाई चालकसहित नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको बताए । यसअघि स्थानीय तह, प्रहरी, प्रशासनको साँठगाँठमा अवैध उत्खनन हुँदै आएको स्थानीयको भनाइ छ ।

प्रकाशित : पुस २९, २०७९ २२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×