सर्लाहीमा दुई डोजरसहित नौ टिपर प्रहरीको नियन्त्रणमा- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीमा दुई डोजरसहित नौ टिपर प्रहरीको नियन्त्रणमा

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको नवलपुरस्थित लखन्देही खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई डोजरसहित ९ वटा टिपर नियन्त्रणमा लिएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने लखन्देखी पुलदेखि झण्डै १ किलोमिटर उत्तरमा मापदण्डविपरीत अवैध उत्खनन गरिरहेका जेसीबी र टिपरलाई प्रहरीले शुक्रबार दिउँसो चालकसहित नियन्त्रणमा लिएको हो । जेसीबी र टिपर इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।

प्रहरीले नियन्त्रण लिएका ना ७ ख २६६५, ना ७ ख ८९२१, ना ७ ख ५९९५, ना ७ ख ५४५६, ना ७ ख ६४३९, ना ७ ख २९८५, ना ७ ख ६७८९, प्रदेश २–०३–००१ ख ४२४३ र प्रदेश २–०३–००१ ख ०२०१ नम्बरको टिपर र दुई वटा जेसीबी रहेका छन् । ठेक्का लागे पनि त्यहाँ निकै गहिरो खाल्डो बनाएर जोखिम निम्तने गरी उत्खनन भइरहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जेसीबी र टिपरलाई चालकसहित नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको बताए । यसअघि स्थानीय तह, प्रहरी, प्रशासनको साँठगाँठमा अवैध उत्खनन हुँदै आएको स्थानीयको भनाइ छ ।

प्रकाशित : पुस २९, २०७९ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्

तस्करीका सामान दिनहुँ बरामद

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीमा दिनहुँ भन्सार छलीका सामानसहित तस्कर पक्राउ पर्न थालेका छन् । प्रहरीले केही दिनयता झन्डै ४ लाख बराबरको सामानसहित ७ भारतीय तथा ५ नेपाली गरी १२ जनालाई नियन्त्रणमा लिएको छ । 

सर्लाहीको बलरा, सिमरा फेन्हारा, बाराउधोरण, त्रिभुवननगर, संग्राम्पुरलगायत नाकाबाट निर्वाध रूपमा तस्करी हुँदै आएको थियो । पछिल्लो समय यस क्षेत्रमा प्रहरीले कडाइ गरेको छ । किरानाका सामान, भारतीय कमसल मललगायत वस्तु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले गत बुधबार सदरमुकाम मलंगवाबाट दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा भन्सार छलेर ल्याउँदै गरेको दुई बोरा सुर्तीसहित मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ । सोही दिन मलंगवा नगरपालिका–९ बाट प्रहरीले अवैध रूपमा भारतबाट ल्याइएको किरानाका सामान पनि नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ ।

ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरबाट बा९३प ८३९८ नम्बरको मोटरसाइकलमा अवैध रूपमा भारत लैजान लागिएको २ बोरा सोफी रक्सी बरामद गरेर भन्सारमा बुझाइएको छ । बुधबार मात्रै प्रहरीले मोटरसाइकलबाहेक ३ लाख रुपैयाँको सामान बरामद गरी भन्सारमा बुझाएको हो ।

यस्तै, बिहीबार प्रहरीले पर्सा गाउँपालिका–२ बाट भन्सार छली गरी ल्याउँदै गरेको १९ हजार मूल्य बराबरको किरानाका सामान बरामद गरी भन्सारमा बुझाएको छ । जिल्लाका प्रहरी प्रवक्ता विजय यादवले सोही दिन मलंगवाबाट अवैध रूपमा ल्याइएको ३४ हजार रुपैयाँ बराबरको लत्ताकपडा पनि बरामद गरी भन्सारमा बुझाइएको जानकारी दिए ।

शुक्रबार भने विष्णु गाउँपालिका–६ मिर्जापुरको जंगलको बाटोबाट प्रहरीले १४ वटा साइकलमा २८ बोरा भारतीय कमसल युरिया मल बरामद गरेको थियो । यस्तै, बलरा नगरपालिका–२ हनुमान चोकबाट पनि प्रहरीले दुईवटा मोटरसाइकलमा १० बोरा युरिया मल बरामद गरेको छ । दुई जना मोटरसाइकल चालकलाई नियन्त्रण लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

‘मलसहित केही भारतीय पनि पक्राउ परेकाले किसानको नाममा भारतबाट मल तस्करी भइरहेको देखिन्छ, त्यही भएर प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालेको छ,’ प्रहरी प्रवक्ता यादवले भने, ‘अन्य किरानाका सामान जिल्ला भन्सारमा बुझाइरहेका छौं ।’

शुक्रबार दिउँसो भने त्रिभुवन– नगरबाट किरानका सामानसहित बीआर ३० एम ०५१४ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । यस्तै बरहथवाबाट समेत भारतबाट भन्सार छली ल्याइएका मोटरसाइकलका सामान पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्लाका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

‘खुला सीमाले भन्सार छलीका घटना व्याप्त छ, चुरेमा भने गाँजा खेती मौलाएको छ,’ सुवेदीले भने, ‘यी दुवै गैरकानुनी भएकाले नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ ।’ सुवेदीका अनुसार चुरेमा अहिले ३२ बिघाको गाँजा फँडानी गरिएको छ ।

प्रकाशित : पुस २८, २०७९ ०९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×