दुई भारतीय कामदारको निसास्सिएर मृत्यु- मधेस - कान्तिपुर समाचार

दुई भारतीय कामदारको निसास्सिएर मृत्यु

भूषण यादव

वीरगन्ज — पर्सामा निसास्सिएर दुई जना भारतीय कामदारको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– २२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृत्यु हुनेमा भारत विहारको मोतीहारी जिल्ला रक्सौल थाना कौवाठेगर– ७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव रहेका छन् ।

प्रहरी नायव उपरीक्षक दिपक गिरीका अनुसार तगारीमा पत्थर कोइला बोलेर झ्यालढोका बन्द गरी कोठामा सुतेका दुबै जनाको अक्सिजनको कमी हुँदा निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

उनका अनुसार कोइला डिपोको रेखदेख गर्ने दुबै जना सोही डिपोको एकतले पक्की भवनको अल्मुनियमको झ्यालढोका भएको कोठाभित्र झ्यालढोका बन्द गरी मंगलबार राति सुतेका थिए ।

बुधबार बिहान १० बजेसम्म ढोका खोली कोही पनि बाहिर ननिस्किएपछि डिपोका अन्य कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोडेर भित्र प्रवेश गर्दा दुबै जनाको मृत्यु भइसकेको थियो । प्रहरीले नारायणी अस्पतालबाट चिकित्सक लिई घटनास्थलमा अनुसन्धान अधिकृतको टोली पुगी शव जाँच प्रकृति मुचुल्का उठाएको थियो ।

प्रकाशित : पुस २७, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्

पर्सामा मृत जरायो र हतियारसहित ५ जना सिकारी पक्राउ

भूषण यादव

वीरगन्ज — पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जना सिकारी मृत जरायो र हातहतियारसहित पक्राउ परेका छन् । उनीहरुबाट मृत अवस्थामा पोथी जरायो, भाले जरायोको टाउको, नाइट भिजन दुरबिन, हातहतियार बरामद भएको निकुञ्जले जनाएको छ ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अकवनियास्थित राष्ट्रिय वनमा सिकार खेल्न गएका ५ जनालाई राष्ट्रिय निकुञ्ज प्रशासन र नेपाली सेनाको संयुक्त गस्ती टोलीले सोमबार राति साढे ११ बजेको समयमा नियन्त्रणमा लिएको हो ।

निकुञ्जका अनुसार पक्राउ पर्नेमा अकवनियाका झापस दास थारु, नवराज बस्नेत, काभ्रे घर भइ अनवनिया बस्ने दामोदार अधिकारी, खजुरिया निवासी मालदोङ तामाङ र विकास सहनी पक्राउ परेका हुन् ।

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खड्काका अनुसार ‘महा–हन्ट’ अभियान अन्तर्गत निकुञ्ज प्रशासन र सेनाको संयुक्त गस्ती टोलीले सोमबार राति ५ जना सिकारीलाई पक्राउ गरेको हो । राष्ट्रिय निकुञ्ज तथा संरक्षण ऐन २०२९ बमोजिम उनीहरुमाथि अनुसन्धान अगाडि बढाउने उनले जनाए । ‘विशेषगरी जाडोमा महा हन्ट अभियान सञ्चालन हुने गर्छ,’ उनले भने, ‘महा हन्ट अभियान अन्तर्गत नै ५ जना सिकारी नियन्त्रणमा आएका हुन् ।’

सूचना अधिकारी खड्काका अनुसार सिकारीहरु ल्यान्ड क्रुजर र बोलेरो गाडीमा जंगल छिरेका थिए । उनीहरुबाट टाउकोमा गोली लागेको एउटा मृत पोथी जरायो, एउटा भाले जरायोको टाउको, १२ बोरको बन्दुक एक थान, ९ थान गोली, आधुनिक हातियार राख्ने एउटा झोला, रातको समयमा हेर्ने दुरबिन, आइफोन १४ म्याक्स मोबाइल, २ लाख ९० हजार नगद, एक हजार दुई सय भारतीय रुपैयाँ बरामद भएको खड्काले बताए । ‘उनीहरु पेसेवर सिकारी नै हुन्,’ खड्काले भने, ‘नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ, जंगल क्षेत्रमा गस्ती समेत बढाइएको छ ।’

प्रकाशित : पुस ५, २०७९ १२:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×