बौद्धिक परिचय बनाएका मुख्यमन्त्री रावल लेखक तथा साहित्यकार पनि हुन् । तत्कालीन डोटी राज्यको मध्यकालीन इतिहास (१२३५–१७१२) का अध्येता एवं लेखक समेत रहेका रावलसँग ०५४ सालमा कञ्चनपुरको तत्कालीन जिविसको उपसभापति भएर कामकाज गरेको अनुभव छ । यसपटक समानुपातिकबाट सांसद हुँदै मुख्यमन्त्री समेत बन्ने अवसर पाए ।
धनगढी — एक सताअघिसम्म सुदूरपश्चिमका सत्ता साझेदार दल तथा सांसदहरूलाई एमाले नेतृत्वको सरकार गठन होला भन्ने भरोसा थिएन । किनकि निर्वाचनअघि देखि नै र अहिलेको गठबन्धन बनेपछि पनि माओवादी केन्द्र तथा सो दलका नेता खगराज भट्ट नेतृत्वमा सरकार गठन हुने धेरैको बुझाई थियो ।
तर आइतबार केन्द्र तहमा गठबन्धन दलहरु खासगरी एमाले र माओवादी केन्द्रबीच प्रदेशको सत्ता नेतृत्व बाँडफाँटका क्रममा सुदूरपश्चिममा आलोपालो नेतृत्वमा सरकार गठन गर्ने र पहिलो चरणमा एमालेले नेतृत्व गर्ने समझदारी भएपछि प्रदेशसभामा तेस्रो ठूलो दल एमालेलाई सरकारको नेतृत्व गर्ने ढोका खुलेको हो ।
सुदूरपश्चिम सरकारको नेतृत्व एमालेको भागमा परेसँगै उक्त पार्टीबाट संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री भएका हुन् । पार्टीको पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज समेत रहेका रावलको पदीय हैसियत अन्य सांसदभन्दा माथि भएकाले उनले दलको नेता चुनिन कुनै झन्झट ब्यहोर्नु परेन । उनी सहजै दलको नेता चुनिए ।
०२१ साल जेठमा बैतडी जिल्लाको हालको दशरथचन्द नगरपालिका-५ मार्कण्ड गाउँमा जन्मिएका मुख्यमन्त्री रावलको प्रारम्भिक शिक्षा भारतका विभिन्न विद्यालयमा भयो । उनका बुवा दानसिंह रावल भारतीय सेनाका जागिरे थिए । त्यस क्रममा उनले कक्षा सातसम्म भारतको मेघालय, शिलांगमा अध्ययन गर्ने मौका पाए । त्यसपछिको अध्ययनका लागि बैतडी फर्किएका थिए ।
कक्षा ८ देखि १० सम्मको अध्ययन बैतडीकै शाहीलेखस्थित बिरेन्द्र माध्यमिक विद्यालयबाट पुरा गरेका रावलले भारतको दमनबाट इन्टरमिडिएट पुरा गरेका छन् । केही समय उनले कञ्चनपुर महेन्द्रनगरस्थित सिद्धनाथ बहुमूखी क्याम्पसमा स्नातक तहको अध्ययनसमेत गरेका थिए ।
रावलको परिवार ०४१ सालतिर पुर्ख्यौली घर बैतडीबाट कञ्चनपुरको महेन्द्रनगर बसाइँ सरेको थियो । ०४४ सालदेखि महेन्द्रनगरमा स्थायी बसोवास सुरु गरेका रावल तीन दाजुभाइमध्ये माइला हुन् । उनका तीन दिदीबहिनी छन् ।
बौद्धिक परिचय बनाएका मुख्यमन्त्री रावल लेखक तथा साहित्यकारका रुपमा पनि क्रियाशील छन् । तत्कालीन डोटी राज्यको मध्यकालीन इतिहास (१२३५–१७१२) का अध्येता एवं लेखक रावलका कबिता संग्रह पनि प्रकाशित छन् । त्यसबाहेक उनका विभिन्न विषयक कार्यपत्र, लेख रचना पनि प्रकाशित छन् ।
मुख्यमन्त्री रावल आफ्ना दाजु रामसिंह रावलको प्रेरणाबाट राजनीतिमा आकर्षित भएको बताउँछन् । तत्कालीन समयमा दाजु रामसिंह पुष्पलाल समूहको केन्द्रीय सदस्य थिए । ०३६ सालमा आफू एसएलसी दिने तयारीमा रहँदा दाजु जेलमा परेपछि राजनीतिक क्रियाकलापमा सक्रियता बढेको थियो ।
औपचारिक रुपमा राजनीतिमा प्रवेश गराउने श्रेय भने उनी कञ्चनपुरका कम्युनिस्ट नेता उर्वादत्त पन्तलाई दिन्छन् । पन्तले ०३९ सालमा अनेरास्ववियुमा संगठित गराएको उनी सम्झिन्छन् । ०४१ मा केही समय उनले आफू अध्ययन गरेकै बैतडीको बिरेन्द्र माविमा अध्यापन पनि गराए । यता राजनीतिमा होमिइसकेकाले उनी पार्टीको शिक्षक संगठनले सञ्चालन गरेका आन्दोलनहरुमा पनि अग्रपंक्तिमै रहन थाले ।
०४६ सालमा मार्क्सवादी अध्ययन दलमा आबद्ध भएका रावल त्यसबेलाको जनआन्दोलनमा पनि सक्रिय थिए । ०४७ सालमा तत्कालीन मालेका बेला मदन भण्डारी कञ्चनपुरमा पार्टी स्थापना गर्न आएका बेला प्रेमसिंह धामी संयोजक रहेको जिल्ला कमिटीमा उनी सदस्य थिए ।
रावल ०५१ मा उनी कञ्चनपुरमा पार्टी कमिटीको संगठन विभागको संयोजक पदमा पुगे । त्यसपछि पार्टीको जिल्ला कमिटी उपसचिव भएका उनी ०५६ देखि लगातार दुई कार्यकाल कञ्चनपुरको सचिवको जिम्मेवारीमा रहेर काम गरेको अनुभव सुनाउँछन् । सचिव नै प्रमुख हुने तत्कालीन व्यवस्थामा उक्त पदमा पुगेका भएपनि पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि उनले अध्यक्ष पदमा प्रतिस्पर्धा गरे । अध्यक्षमा पराजित भएपछि तेस्रो पटक जिल्ला पार्टीको नेतृत्व गर्ने उनको चाहना भने पुरा हुन सकेन ।
तत्कालीन पार्टी कमिटीको अञ्चल सदस्य हुँदै, केन्द्रीय सदस्य, स्कूल विभाग प्रमुख, नेकपाकालमा प्रदेश कमिटी सचिव भएका रावल हाल पार्टीको पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटीमा सहइन्चार्ज छन् ।
मुख्यमन्त्री रावलसँग यसअघि निर्वाचित जनप्रतिनिधिका रुपमा ०५४ सालमा पाँच वर्ष अवधि कञ्चनपुरमा तत्कालीन जिल्ला विकास समितिको उपसभापति भएर कामकाज गरेको अनुभव छ । तत्कालीन जिविस उपसभापति भएर कार्यानुभव गर्ने मौका बाहेक अन्य पद प्राप्तिको अवसर भने उनले पाएनन् ।
०७४ को कञ्चनपुरबाटै उनले प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहेका थिए । तर जिल्ला तहका कमिटीबाटै सिफारिसमा परेनन् । हालै मंसिर ४ को निर्वाचनमा भने उनले प्रतिनिधि सभाका लागि चुनावी प्रतिस्पर्धा गर्न चाहेका थिए । तर यसबेला पनि उनी टिकटका लागि सिफारिसमा पर्न सकेनन् । किनकी उनको क्षेत्रबाट उनी भन्दा प्रभावशाली देखिएकी निरुदेवी पालले टिकट पाउने निश्चितजस्तै देखेकाले रावलले उनै पाललाई समर्थन गरेका थिए । रावल निकटहरुका अनुसार प्रदेश सभाका लागि भने उनले भित्रैदेखि चुनावी प्रतिस्पर्धामा जान चाहेका थिएनन् । त्यसैमा उनको निर्वाचन क्षेत्र एमालेले राप्रपाका उम्मेदवारलाई समर्थन गरेर साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरेकाले उनले चाहेर पनि उम्मेदवार बन्न सक्ने अवस्था थिएन ।
तर पनि रावलको नाम एमालेले सुदूरपश्चिम प्रदेश समानुपातिकतर्फ खसआर्य कलष्टर अन्तर्गत पुरुषहरुमा पहिलो नम्बरमा सिफारिस गर्यो । अन्ततः प्रत्यक्षतर्फ ३ सीट मात्र जितेपनि समानुपातिक तर्फ भने ७ सिट एमालेले पायो । ७ मध्ये दुई जना पुरुषले अवसर प्राप्त गर्ने अवस्था आउँदा पहिलो नम्बरमा परेका रावलले स्वतः सांसद निर्वाचित हुने मौका पाए ।
नेपाल–भारतको सम्बन्ध तथा विशेषतः महाकाली सम्बद्ध सवालहरुमा अध्ययन र चासो राख्दै आएका नवनियुक्त मुख्यमन्त्री रावल कतिपयको बुझाईमा बौद्धिक तर आक्रामक र जिद्दी स्वभावका छन् । मुख्यमन्त्री भएपछि उनले विकासका सवालमा ठूलाठूला कुरा गर्ने भन्दा पनि ससाना र जनआवश्यकता पुरा गर्ने विन्दुबाट प्रदेश सरकारलाई अघि बढाउने बताए । उनले शिक्षा, स्वास्थ्य, आयआर्जन, जलस्रोत र युवा जनशक्तिको परिचालनमा जोड दिइने बताए । ‘पढाई, कमाई, दवाई, पानी र जवानी’ को अधिकतम उपयोगलाई प्राथमिकतामा राखेर काम गर्छौं,’ उनले भने ।
प्रकाशित : पुस २७, २०७९ १८:०१