सरोज यादव : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरोज यादव : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

लक्ष्मी साह

बारा — पटक–पटक कार्यकारी पदमा रही अनुभव बटुलेका सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघि संघीय सरकारमा दुईपटक राज्यमन्त्री र मधेस प्रदेशका सभामुख भइसकेका उनी मुख्यमन्त्री बनेका हुन् । 

बारा निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट उनी एमाले र जसपाबीचको चुनावी तालमेलमा उनी प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७४ मा तत्कालीन राजपाबाट प्रदेश सभामा यही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी पहिलो पटक तत्कालीन राजपाबाट चुनावी प्रतिस्पर्धामा थिए भने यसपटक जसपामा प्रवेश गरी उम्मेदवारी दिएका थिए । दोस्रो पटकको चुनावमा उनको क्षेत्रमा गत मंसिरको चुनावमा वाम लोकतान्त्रिक गठबन्धन थिएन । कांग्रेस र नेकपा एसको छुट्टै उम्मेदवारसित प्रतिस्पर्धा गरी ४ हजारभन्दा बढी मतान्तरले नजिकका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नागेन्द्र साहलाई पछि पार्दै विजयी भएका थिए ।

२४ वर्षकै उमेरमा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दापढ्दै तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा पहिलो पटक निर्वाचित हुँदै उनी राजनीतिक यात्रा थालेका थिए । २०५९ सालसम्म उनी गाविस अध्यक्ष हुँदा लोकप्रियता कमाएका थिए ।

२०३० सालमा जन्मिएका उनी सिम्रौनगढ नगरपालिका–३ नयका टोला निवासी हुन् । भारतीय सीमावर्ती क्षेत्रका उनको भारत बिहारका नेतासित राम्रो सम्बन्ध छ । गाँउ आसपासमा धार्मिक, शिक्षा, सामाजिक र स्वास्थ्य क्षेत्रमा उनका परिवारले जग्गा र नगद दान गरेकाले यसक्षेत्रमा उनको परिवारको योगदान छ ।

धनाढ्य परिवार (जमिन्दार) का उनका स्वर्गीय पिता प्रमानन्दप्रसाद यादव पनि पञ्चायतकालमा गाउँ पञ्चायतका मुखिया हुँदै प्रजातन्त्रपछि सद्भावना पार्टीका नेता थिए ।सद्भावना पार्टीका उनी महासचिव थिए । जसपा, लोसपा, सद्भावनालगायतका मधेसकेन्द्रित दल एकीकरण भएर राजपा बन्दा उनी राजपाका राष्ट्रिय उपाध्यक्ष बनेका थिए । उनले प्रवीणता प्रमाणपत्र तह (आईएससी) सम्म अध्ययन गरेका हुन् । माध्यमिक शिक्षा गाउँनजिकै सिम्रौनगढस्थित कंकाली माविबाट लिएका हुन् ।

२०६४ सालको पहिलो संविधानसभा सदस्यमा बारा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सद्भावना पार्टीबाट निर्वाचित हुँदै संसदीय यात्रा सुरु गरेका थिए ।

तत्कालीन मधेसी जनाधिकार फोरमका उम्मेदवार रामबाबु यादवलाई पराजित गरी उनी विजयी भएका थिए । त्यसबेला नेकपा माओवादीको सरकार थियो । पुष्पकमल दाहाल र बाबुराम भट्टराई नेतृत्वको सरकारमा सद्भावना पार्टीबाट उनी पहिलो पटक संघीय स्वास्थ्य राज्यमन्त्री र दोस्रोपटक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बने ।

२०७० मा भने फेरि यसै क्षेत्रबाट दोस्रोपटक संविधानसभा सदस्यमा उम्मेदवार बन्दा कांग्रेसका उम्मेदवारसँग पराजित भए । २०७४ मा बारा निर्वाचन क्षेत्र १ को (२) बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट विजयी भई मधेस प्रदेशका सभामुख बनेका थिए ।

पाँच वर्षसम्म सभामुखको अनुभव बटुलेका उनले २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाको तर्फबाट उम्मेदवार भएर विजयी भई मुख्यमन्त्री भए ।

प्रकाशित : पुस २७, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्

२ किलाे चरेससहित भारतीय नागरिक पक्राउ

लक्ष्मी साह

बारा — सीमा सुरक्षा सशस्त्र प्रहरी बलले नेपालबाट भारत लैजाँदै गरेकाे २ किलाे चरेससहित एक भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेकाे छ ।

सुवर्ण गाउँपालिका ३ काे कवहीगाेठ सतगन्ज नाकाबाट भारततर्फ जाँदै गरेका भारत बेला गाउँका ३० वर्षीय राजकुमारलाई बीआर ०५ एभी ३०४२ नम्बरकाे बाइकसहित पक्राउ गरिएकाे सशस्त्र प्रहरी बल १२ नम्बर गणका सूचना अधिकारी अमरबहादुर खत्रीले बताए ।

खत्रीका अनुसार छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट प्राप्त विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएकाे हाे ।

उनकाे साथबाट साथबाट १ हजार १ सय २० भारतीय रूपैयाँ नगद बरामद गरी थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएकाे प्रहरी नायब उपरीक्षक खत्रीले बताए । जाँच गर्दा ४ वटा प्याकेटमा प्याक गरिएकाे चरेस भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित : पुस १९, २०७९ २०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×