जथाभावी खोला उत्खनन

मापदण्डविपरीतका क्रसरलाई कारबाही गर्न पालिकाले सहयोग नगरेको जिससको आरोप
सुनिता बराल

महोत्तरी — महोत्तरीमा विभिन्न नदीखोलामा निर्बाध उत्खनन हुँदै आए पनि कारबाही हुन सकेको छैन । प्रहरीले बेलाबेलामा उत्खननमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिए पनि उत्खनन नरोकिएको हो । 


गौशालास्थित मराहा खोलाबाट गत पुस १३ मा उत्खननमा संलग्न सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको थियो । गौशाला नगरपालिकाको जेसीबी र अन्य ४ वटा ट्र्याक्टर नियन्त्रणमा लिई प्रहरीले कारबाहीको सिफारिस पनि गरेको थियो । पालिकाले भने आफ्नो प्रयोजनका लागि भनेर बिनाठेक्का नै उत्खनन गरेको जनाएको छ ।

उखु क्रसिङ गर्ने समय भएकाले गाउँघरका सडक मर्मत गर्न नदीजन्य पदार्थ निकालेको गौशालाका नगर प्रमुख दीपेन्द्र महतोले बताए । पालिकाले खोला ठेक्का लाउन बाँकी र अन्य निकायलाई जानकारीबिना नगर प्रमुखको ठाडो आदेशमा खोला खनेको पाएपछि सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला समन्वय समितिका सभापति सुमनलाल कर्ण बताउँछन् ।

जिससले जिल्लाका पालिकासँग आ–आफ्नो क्षेत्रमा सञ्चालित क्रसर उद्योगको विवरण मागे पनि हालसम्म बुझाएका छैनन् । उल्टै पालिका प्रमुखकै ठाडो आदेशमा उत्खनन हुँदै आएको छ । उत्खनन नरोकिएपछि जिसस सभापति संयोजक रहने गरी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, वन कार्यालय प्रमुख र पालिकाका प्रमुख सदस्य भएको अनुगमन समिति गठन गरिएको हो । तर, पालिकाले तथ्यांक नदिँदा समिति जिल्लामा सञ्चालित क्रसर उद्योग र तिनीहरूको वैधताबारे अनभिज्ञ छ ।

घरेलु तथा साना उद्योग कार्यालय महोत्तरीको तथ्यांकअनुसार जिल्लामा १ सय ५ वटा ढुंगा, गिट्टी क्रसर तथा प्रशोधन उद्योग छन् । तर, जिससमा जम्मा ४७ वटा सूचीकृत छन् । उदाहरणका लागि भंगाहा नगरपालिकाले आफ्नो क्षेत्रमा जम्मा ४ वटा उद्योग दर्ता भएर सञ्चालनमा रहेको जानकारी दिएको छ । तर, अनुगमन गर्दा १३ वटा उद्योग भेटिएको जिसस सभापति कर्णले जानकारी दिए ।

यता, घरेलु कार्यालयको तथ्यांकमा भने भंगाहामा ११ वटा क्रसर उद्योग दर्ता छन् । कुनै पनि पालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन तथा बिक्रीवितरण रोक्न तथा राजस्व छली गरी राज्यको सम्पदा दोहन गर्न नदिन उद्योगको वैधता, स्टक परिमाण राख्नुपर्ने र बेलाबेला अनुगमन गरिराख्नुपर्ने भए पनि यस्तो नगरेको कर्णले बताए ।

अनुगमनका क्रममा उद्योगसँग नदीजन्य पदार्थ निकाल्न लिएको अनुमति र तिर्नुपर्ने राजस्वको बिल नपाएपछि पालिकाले राजस्व छुट दिएर क्रसर उद्योगलाई संरक्षण गरेको कर्णको आरोप छ । पुस १३ पछि सम्पूर्ण विवरण नपठाएसम्म क्रसर बन्द गर्न अनुगमन समितिले आदेश गरेको थियो । पुस २० सम्म दिएको म्याद नाघिसके पनि पालिका र उद्योगले विवरण बुझाएका छैनन् । तर, खोलामा नदीजन्य पदार्थको उत्खनन जारी छ । सरकारी मापदण्डअनुरूप ३ फिटसम्म गहिरो बनाएर खन्न पाउने व्यवस्था भए पनि क्रसर उद्योगले खोलामा ५ फिटभन्दा गहिरो खाल्डा खनेका छन् ।

बर्दिबास–७ का राजु सिंहले अवैध उत्खनन बन्द गर्न थालेको अभियानबाट गलिसकेको बताए । ‘उद्योगी र अवैध धन्दामा लागेकालाई नै जताततैबाट संरक्षण छ,’ उनले भने, ‘हामी जोखिम मोलेर विरोधमा लाग्नु व्यर्थ हो ।’ धनुषा र महोत्तरीलाई जोड्ने पूर्वपश्चिम राजमार्गअन्तर्गतको रातु पुलदेखि खोलाको दक्षिणी क्षेत्र, भंगाहा नगरक्षेत्र र गौशालामा क्रसर उद्योगले बनाएका खाल्डा र मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खननले जिल्लाको बर्दिबास, औरही, भंगाहा, गौशाला र जलेश्वरसहित १० पालिकाका ४० भन्दा बढी बस्ती वर्षायाममा डुबानमा पर्छन् ।

यस्तै, महोत्तरीमा एउटै क्रसर उद्योग मापदण्डमा नरहेको जिल्ला अनुगमन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । ७ वटा सुझाव दिँदै त्यस्ता क्रसर उद्योगलाई मापदण्डभित्र आउन प्रतिवेदनमार्फत अनुरोध गरिएको छ । प्रत्येक पालिकाले आफ्ना क्षेत्रका क्रसर खानीको प्रोफाइल तयार गर्न, ढुंगागिट्टी–बालुवा उत्खनन, अनुगमन समिति गठन गरी नियमित अनुगमन गर्न र त्यसको प्रतिवेदन प्रत्येक महिना जिल्ला अनुगमन समितिलाई उपलब्ध गराउन पनि समितिले सुझाव दिएको छ ।

सर्लाहीका आठ क्रसर बन्द

सर्लाहीमा मापदण्ड पूरा नगरी सञ्चालित ८ क्रसर उद्योगलाई प्रशासनले बन्द गराएको छ । २० उद्योग रहेको जिल्लाका अन्य १२ क्रसरको अनुगमन हुन बाँकी छ । गृह मन्त्रालयको परिपत्रपछि प्रशासनले अनुगमन गरेको हो । जिल्लामा लामो समयपछि यस्तो अनुगमन भएको हो । मापदण्डविपरीत क्रसर बन्द गरिएको जिल्लाका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । ‘अन्य क्रसर उद्योगको अनुगमन भइरहेको छ,’ उनले भने ।

प्रकाशित : पुस २७, २०७९ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्

‘पृथ्वीनारायण’ लाई पारिश्रमिक

जोसँग तस्बिर खिच्न पर्यटकको भीड लाग्छ
हरिराम उप्रेती

गोरखा — हातमा तरबार, टाउकामा श्रीपेच, कालो दौरा–सुरुवाल, कम्मरमा खुकुरी र ढाल । गोरखा संग्रहालय अघि उभिएका अग्लो कदका ‘पृथ्वीनारायण शाह’ सँग तस्बिर खिचाउनेको ताँती सधैं देखिन्छ । पृथ्वीनारायणको भेषमा उभिने उनी हुन्, गोरखा नगरपालिका–६ का ६४ वर्षीय ओमबहादुर श्रेष्ठ ।

१६ वर्ष नेपाली सेनामा जागिरपछि सेवानिवृत्त उनी पृथ्वीनारायण बन्न के मात्रै गर्दैनन् ∕ जुँगा घुमाउन दैनिक जेल लगाउँछन्, अनुहारमा राजाजस्तो उस्तै भावभंगिमा ल्याउन कोसिस गर्छन् । अनि पोज पनि उस्तै, जस्तो पृथ्वीनारायण शाहका सालिकहरूको देखिन्छ, दाहिने हात उठाएको ।

उनीसँगै उभिएर फोटो खिचाउने कतिपयले त उनलाई देखेर अनौठो मान्छन्, लाग्छ सक्कली पृथ्वीनारायण शाह नै हुन् । कतिपयले भने उनको जुँगा नक्कली हो कि भनेर तान्न खोज्छन् । ओमबहादुर पृथ्वीनारायणको भेषमा उभिन थालेको सात वर्ष भएको छ । त्यसअघि उनी गाईजात्रामा लाखे जिस्काउने भूमिका गर्थे । एक पटक उनले कालु पाण्डेको पोसाकमा सजिएर जात्रामा फरकपन देखाए । ‘जनैपूर्णिमा र गाईजात्रामा नाच्दा–नाच्दा पृथ्वीनारायण शाह बन्ने सोच पालायो,’ उनले भने, ‘पृथ्वीनारायण शाहको तस्बिर र सालिक हेरेर दुई दिन नक्कल गरें, लुगा र आवश्यक सामग्री जुटाएर दुरुस्त देखिने प्रयास सुरु गरेको हुँ ।’

सुरुवाती चरणमा पृथ्वीनारायण शाहको नक्कल गर्न उनले निकै मिहिनेत गरे । घरायसी सामग्री जुटाएर श्रीपेच तयार पारे । सालको काठमा साधारण कागज बेरेर नक्कली तरबार बनाए । उनले सुनाए, ‘धेरैजसो घरायसी सामग्रीबाटै काम चलाए ।’ मुकुट र काठको तरबार बनाउन भने उनलाई गोरखा–६ ठूलो आँगनका नेत्रप्रसाद श्रेष्ठले सघाए । बाँसको चोयाबाट बनेको नाङ्लोलाई रङरोगन गरेर ढाल बनाए । दुई जोर कालो दौरा–सुरुवाल भने उनी आफैंले किने । पृथ्वीनारायणको नक्कल गरेर जात्रा र महोत्सवका र्‍यालीमा देखिँदा उनलाई धेरैले रुचाए । यसरी नै सार्वजनिक कार्यक्रममा देखिँदा उनीसँग तस्बिर लिनेको तँछाडमछाड भयो । यही मेसोमा उनले पृथ्वीनारायणको जन्मजयन्तीमा उनकै नक्कल गरेर गोरखा सदरमुकामको परिक्रमा गरे । जसलाई धेरैले हौस्याए । कोरोना महामारीअघि उनी नुवाकोट महोत्सवमा पुगे । त्यहाँ पनि पृथ्वीनारायणको नक्कल गरे । नक्कलमा उनले केही सुधार पनि गर्दै गएका छन् । ‘कालो दौरा–सुरुवाल राजाको लडाकु भेष रहेछ, राजगद्दीमा बस्दाचाहिँ सेतो दौरा–सुरुवाल लगाउने कुरा थाहा पाएँ,’ उनले भने, ‘यसपल्टको पृथ्वी जयन्तीको दिन म पनि सेतो पोसाकमा देखिनेछु ।’

बढ्दो ख्याति देखेर गत भदौदेखि गोरखा संग्रहालयले उनलाई मासिक १८ हजार तलब नै दिएर पर्यटकलाई मनोरञ्जन दिन परिसरमा तैनाथ रहने ड्युटी दिएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले उनलाई संग्रहालयमा बस्न प्रबन्ध मिलाएको छ । अनि उनीसँग तस्बिर खिच्नका लागि निश्चित शुल्क पनि समितिले तोकिदिएको छ, विद्यार्थी र स्थानीयलाई २०/२० रुपैयाँ, पर्यटकको ५०, सामूहिक तस्बिर लिएको १०० रुपैयाँ ।

गत मंगलबार सिरहाका रामप्रकाश महत शैक्षिक भ्रमणका क्रममा स्कुले विद्यार्थीहरूसहित गोरखा संग्रहालय आइपुगेका थिए । उनलाई ठ्याक्कै पृथ्वीनारायण शाह भेटेजस्तो भयो । एकैछिनमा विद्यार्थीले सेल्फी खिच्न तँछाडमछाड गरे । अनि ओमले पनि दाहिने हात उठाएर औंला सोझो पारे । ‘इतिहासमा पृथ्वीनारायण शाहका बारेमा पढेका थियौँ, फोटो र सालिकमा राजालाई देखेको हो,’ उनले भने, ‘आज पृथ्वीनारायण शाहकै स्वरूप झल्कने गरी उहाँलाई देख्न पायौं, मुकुट, पहिरन र औंला ठड्याउँदा दुरुस्तै ।’

पृथ्वी जयन्तीको अघिल्लो दिन मंगलबार संग्रहालय पुग्ने जोकोही पृथ्वीनारायण शाहको भेषमा सजिएका श्रेष्ठसँग सेल्फी र तस्बिर लिन झुम्मिएका देखिन्थे । मुटुरोगी श्रेष्ठलाई युरिक एसिड र उच्च रक्तचापको पनि समस्या छ । ‘परिवारले यो बुढेसकालमा यसरी नहिँड्नुस् भन्थे । घरमा बसेर पनि के काम, मर्नदेखि डराएर भएन,’ उनले भने, ‘यसरी हिँडे मानिससँग चिनाजान हुन्छ । गोरखा र नेपालको इतिहासका कुरा भन्न पाउँछु यो गौरवको कुरो पनि हो भनेर मनैदेखि यो भेषमा सजिएको हुँ ।’ हुन पनि दुरुस्त पृथ्वीनारायण शाह बनेर पर्यटक भुलाउन उनी साँझबिहान, दिन नभनी संग्रहालय पुग्छन् । उनले तर्क गरेझैं गरेर भने, ‘राजाको समय हुँदैन, प्रजाले चाहना गरेपछि जतिखेर पनि उपलब्ध हुनुपर्‍यो ।’

शैक्षिक भ्रमणको सिजनमा संग्रहालय पुगेका विद्यार्थी र शिक्षक ‘राजा खोइ’ भन्दै श्रेष्ठको खोजी गर्छन् । आफ्नाबारे सोधीखोजी गर्दा उनलाई हौसला बढेको छ । ‘मलाई भेटेपछि जिउँदै राजा भेटिएजस्तो अनुभव गर्छन्,’ उनले थपे । नेपाली मात्र नभई विदेशीले समेत श्रेष्ठको पृथ्वीनारायण पहिरन मन पराएका छन् । केही दिनअघि बेलायतबाट आएका जनप्रतिनिधिले संग्रहालय परिसरको पृथ्वीनारायणको सालिक र श्रेष्ठको तस्बिर छुट्टाछुट्टै खिचेर दाँजे । दुवै दुरुस्त देखिएपछि ‘सेम टु सेम’ भन्न भ्याए । इटलीबाट पुगेका विदेशी पाहुनाले पनि त्यसै भनेर उनको तारिफ गरे । कहिलेकाहीं आगन्तुक उनले भिरेको खुकुरी माग्छन्, तरबार माग्छन् । तर, उनी सिधै नकार्छन् । विदेशी आएर फोटो खिच्ने बेलामा उनलाई एउटा कुराले दकस लाग्छ, अंग्रेजी जान्दैनन् ।

२०५६ मा नेपाली सेनाबाट अवकाश लिएपछिका १४ वर्ष उनी नगरप्रहरी बने । त्यसयताका १४ वर्ष श्रेष्ठ नगरप्रहरी बने । नगरप्रहरीबाट अवकाश लिएपछि श्रेष्ठ २०७४ को निर्वाचनमा वडा सदस्यमा विजयी भएका थिए । ५ वर्ष जनप्रतिनिधिको भूमिकामा गोरखा–६ का टोलबस्ती पुगेका श्रेष्ठ पाँच महिनायता भने फरक भूमिका संग्रहालयमा देखिएका छन् । ‘मैले पनि पृथ्वीनारायण शाहबारे किताब पढेर थाहा पाएको हो,’ उनले भने, ‘बन्ने भए राजा महेन्द्र, वीरेन्द्र पनि बन्थें होला, तर पृथ्वीनारायण शाहले टुक्रे राज्यलाई एक बनाएकाले आज हामी गोरखाली हौं भनेर नाक ठड्याउँदै छाती फुलाउँदै देशविदेशसम्म परिचित छौं ।’ श्रेष्ठलाई अब एउटै धोको छ– संग्रहालय परिसरमा तत्कालीन राजा पृथ्वीनारायण शाहको झझल्को दिने गद्दी राख्ने ।


प्रकाशित : पुस २७, २०७९ ०९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×