जसपा मधेस संसदीय दलको नेतामा सरोज यादव चयन- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसपा मधेस संसदीय दलको नेतामा सरोज यादव चयन

अजित तिवारी

जनकपुर — जनता समाजवादी पार्टी मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत भएका छन् । मधेस प्रदेशका  पूर्वसभामुखसमेत रहेका यादव संसदीय दलको नेता चयन भएपछि पहिलो कार्यकाल मुख्यमन्त्री बन्ने भएका छन् ।

बारा १(२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित यादवले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिस्थापन गर्नेछन्। सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार मधेसमा जसपा र जनमत पार्टीले मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।

मधेस प्रदेशमा जसपाका १६ जना सांसद छन् । करिब एक सातादेखि जसपाको संसदीय दलको नेता छान्न प्रक्रिया थालिएको थियो । सोमबार साँझ संसदीय दलको नेता छान्न चुनाव नै गराउने तयारी भए पनि यादवलाई अचानक सर्वसम्मत चयन गरिएको छ ।

जसपाका नेता एवं मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले सर्वसम्मतबाट संसदीय दलको नेतामा यादवलाई चयन गरिएको बताए । उनले दलको नेता छानिएपछि सरकार गठनबारे गठबन्धनका दलसित छलफल हुने बताए । जसपाको संसदीय दलका नेताका लागि हालका मुख्यमन्त्री लालबाबु राउत, रामाशिष यादव र सरोज यादव प्रतिस्पर्धामा थिए । रामाशिषले सोमबार बिहान सरोजलाई समर्थन गरेपछि मुख्यमन्त्री राउत पनि पछाडि हटे ।

मधेस प्रदेशमा सरकार बनाउन पुस २८ गतेभित्र दाबी प्रस्तुत गर्न राजनीतिक दललाई आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार सरकार गठनका लागि आह्वान गरेका हुन् ।

मधेस प्रदेशसभामा एक सय ७ सदस्य छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एकजना सांसद छन् ।

प्रकाशित : पुस २५, २०७९ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्

किर्ते आरोपमा मटिहानी मन्दिरका महामहन्त दास पक्राउ

अजित तिवारी

जनकपुर — महोत्तरी, मटिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई महोत्तरी प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोपमा दासलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृृष्ण पंगेनीका अनुसार रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर रोक्का रहेको बैंक खाता फुकुवा गरेर ७० लाख १८ हजार ५ सय १० रुपैयाँ ३५ पैसा भिकेका महामहन्त दासलाई पक्राउ गरेर रुपन्देही पठाइएको एसपी पंगेनीले जानकारी दिए ।

महामहन्त दासले आफ्नै नाममा रहेको सिद्धार्थनगर शाखाको मेघा बैंकको खाताबाट जनकपुरका श्रवण यादवलाई ७ नोभेम्बरमा त्यो पैसा टान्सफर गरेका थिए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोक्का राखेको उनको नामको खाता फुकुवा गराउन महामहन्त दासले त्यहाका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको पत्रअनुसार महोत्तरी प्रहरीले महामहन्त दासलाई पक्राउ गरेर सिद्धार्थनगर पठाएका छन् ।


प्रकाशित : पुस ३, २०७९ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×