स्कुलको लापरबाहीले छात्राको मृत्यु भएपछि प्रदर्शन, ३ राउण्ड हवाइफायर- मधेस - कान्तिपुर समाचार

स्कुलको लापरबाहीले छात्राको मृत्यु भएपछि प्रदर्शन, ३ राउण्ड हवाइफायर

भरत जर्घामगर

सिरहा — सिरहामा विद्यालयको लापरबाहीका कारण शनिबार एक छात्राको मृत्यु भएपछि विद्यार्थी र स्थानीय अभिभावकहरूले प्रदर्शन गरेका छन् । आक्रोशित विद्यार्थीहरुले आइतबार बिहान १० बजेबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन गर्दै मिर्चैयास्थित इलाका प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए ।

सिरहाको मिर्चैयास्थित सगरमाथा हाइयर सेकेन्डरी स्कुलमा अध्ययनरत सिरहा नगरपालिका–११ पदमपुरकी १६ वर्षीया सिर्जना कुमारी महराको औषधि खाने क्रममा पानीको बोतलमा रहेको स्प्रिट पिउँदा मृत्यु भएको हो ।

स्प्रिट पिएर शुक्रबार बिरामी परेकी महराको सिरहाको कर्जन्हास्थित फूल कुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा शनिबार राति १२ बजेतिर मृत्यु भएको थियो । विद्यालयको चरम लापरबाहीले सिर्जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेपछि खुलाउन प्रहरीले तीन राउण्ड हवाइफायर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरी बहादुर वलीले जानकारी दिए ।

उनका अनुसार राजमार्ग अवरोध खुलाउने क्रममा ढुंगामुढाबाट पाँच प्रहरी घाइते भएका छन् । महिनावारीका कारण पेट दुखेपछि सिर्जनालाई शुक्रबार विद्यालयकै एक शिक्षिकाले दिएको औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट पिउँदा बिरामी भएको अभिभावक र विद्यार्थीको आरोप छ । विद्यालयले ह्वाइट बोर्ड सफा गर्न स्प्रिटको प्रयोग गर्थ्यो । विद्यालयका संस्थापक प्रिन्सिपल प्रदिप तिवारीले आफैंले विद्यार्थीको उपचार नगराएर केही भएको छैन भन्दै घर ल्याइदिएको सिर्जनाका वुवा धर्मेन्द्र महराले गुनासो गरेका छन् ।

‘प्रिन्सिपल तिवारीले सिर्जनाले थोरै स्प्रिट खाएकाले नशा लागेको छ, केही बेर सुताएपछि ठीक भइहाल्छ भनेर घरमा छाडेर गए,’ धर्मेन्द्रले भने, ‘सरले थोरै स्प्रिट खाएको भनेपछि हामीले विश्वास गर्‍यौं, तर पछि अस्पताल लैजाने बेलासम्म अवस्था खराब भइसकेको थियो ।’ शिक्षकको विश्वास गरेर अस्पताल लैजान हतार नगर्दा छोरी गुमाउनु परेको भन्दै धर्मेन्द्रले विद्यालयको लापरबाहीले छोरीको ज्यान गएको आरोप लगाएका छन् । साथै उनले विद्यालयलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेर दिएका छन् ।

कर्जन्हास्थित फूल कुमारी मेमोरियल अस्पतालका डा. श्याम कुमार साहले सिर्जनाको फोक्सो पूरै सेतो भइसकेको र अक्सिजनको कमीका कारण मृत्यु भएको जानकारी दिए । एक्सरेमा फोक्सो कालो देखिनुपर्नेमा सबै सेतो देखिएको र फोक्सो सेतो हुनको कारण फोरेन्सिक जाँचबाट मात्र खुल्ने उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरि बहादुर वलीले सिर्जनाको हातमा पानीको सट्टा कसरी स्प्रिट पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । विद्यालयले घटना स्वीकार गरेको र औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिन्सिपल प्रदिप तिवारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित : पुस २४, २०७९ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्

सिरहामा महिला हत्याका दुई आरोपी पक्राउ

भरत जर्घामगर

सिरहा — घाँस काट्न जंगल गएकी सिरहा मिर्चैया नगरपालिका–२ पीडारी टोलकी २६ वर्षीया लक्ष्मीनिया देवी कापरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–२ मल्हनियाका २० वर्षीय राजकुमार महतो कोइरी र मिर्चैया नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक छन् ।

उनीहरुलाई सिरहा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मिर्चैया नजिकै अरहिया सामुदायिक वनमा मंगलबार अपराह्न लक्ष्मीनियाको घाँटी र पेटमा खुकुरीले प्रहार गरी हत्या गरिएको थियो । हत्यापछि युवक फरार थिए । घटनाको १२ घण्टाभित्र प्रहरीले फरार दुवै युवकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले घाँस काट्न मृतक लक्ष्मीनियासँगै गएकी अर्की महिलाले लक्ष्मीनियालाई युवाहरुले लछारपछार गर्न थालेपछि जंगलमा लुकेर गाउँमा हत्याको खबर गरेकी थिइन् । गाउँलेले प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरेको खुकुरी बरामद गरेको छ ।

प्रकाशित : मंसिर २८, २०७९ १९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×