१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मान्छे र पशुको उपचार एकै ठाउँमा

शिव पुरी

रौतहट — टाउको दुखेको ओखती लिन चन्द्रपुर–१० हरैयाकी कौशिल्यादेवी दास आधारभूत स्वास्थ्य केन्द्र पुगिन् । केन्द्र परिसरमा गोरु बाँधिएको देखेपछि उनी अकमकिन् र उपचार नै नगरी फर्किइन् । गोरु पनि बिरामी परेर उपचारका लागि ल्याइएको थियो । कारण स्वास्थ्य केन्द्र र पशु सेवा केन्द्र एउटै भवनमा छन् ।

दुवै कार्यालय एउटै भवनमा हुँदा उपचारका लागि आउने बिरामी झुक्किन्छन् । भवनको बायाँतर्फको कोठामा मानिसको उपचार हुन्छ । यहाँ आकस्मिक कक्ष छैन । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सामान्य खालका समस्याको मात्रै उपचार सेवा दिने गरिएको छ । भवनको दायाँ कोठामा पशु सेवा केन्द्र छ । उपचारका लागि ल्याइएका गाईबस्तु भवनअगाडि बाँधिन्छ । ‘पछिल्लो समय स्वास्थ्य केन्द्रमा औषधि पर्याप्त छैन । औषधि नै नपाउने भएपछि निकै कम मात्रै बिरामी आउने गरेका छन्,’ स्वास्थ्य केन्द्रका अहेव गोपालप्रसाद रामले भने, ‘अर्कोतर्फ मान्छे र पशुको एउटै भवनबाट उपचार हुने भएकाले पनि समस्या भइरहेको छ ।’

पशु सेवा केन्द्र प्रमुख पिंकी प्रमुख चौधरी भने पशु र स्वास्थ्य केन्द्र एउटै भवनमा भए पनि उपचारमा फरक नपरेको दाबी गर्छिन् । ‘एउटै भवनमा हुँदा मान्छे झुक्किनु स्वाभाविकै हो,’ उनले भनिन्, ‘तर एकातर्फ मान्छे र अर्कोतर्फ पशुको उपचार हुन्छ । यसले कुनै अप्ठेरो पारेको छैन ।’

२०७८ चैत ४ मा आधारभूत स्वास्थ्य केन्द्र र पशु सेवा केन्द्रको एकैपटक उद्घाटन गरिएको थियो । ग्रामीण भेगका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै केन्द्र खोलिए पनि बिरामी नै आउन छोडेका छन् । पशुचौपायाबाट संक्रमणदेखि विभिन्न रोग फैलने जोखिम रहने भएकाले छुट्टाछुट्टै स्थानबाट सेवा दिन स्थानीयको माग छ । त्यसमाथि खोजेको औषधि नपाइने समस्याले पनि बिरामी निजी क्लिनिक र फार्मेसीमा जान बाध्य छन् । सरकारले ९१ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आए पनि यहाँ त्यसको कार्यान्वयन हुन सकेको छैन । चन्द्रपुरको स्वास्थ्य शाखाका मातृका चालिसेले नगरका सबै स्वास्थ्य केन्द्रमा औषधि अभाव रहेको स्विकारे । उनले सकिएका औषधि छिट्टै नै पठाउन लागिएको जानकारी दिए । चन्द्रपुर स्वास्थ्य केन्द्रमा सिटामोल, आइरन चक्कीबाहेक अरू औषधि नरहेको अहेव रामले बताए ।

प्रकाशित : पुस २४, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?