सप्तरीमा किर्ते मुद्दा लागेपछि फरार वडाध्यक्ष पक्राउ

अवधेशकुमार झा

राजविराज — सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडाध्यक्ष रहमान मियाँ पक्राउ परेका छन् । मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता अपचलन गरेको आरोपमा उनीमाथि मुद्दा चलिरहेको थियो । 

सप्तरीमा किर्ते मुद्दा लागेपछि फरार वडाध्यक्ष पक्राउ

मुद्दा विचाराधिन रहेकै अवस्थामा उनी दोस्रोपटक गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी निर्बाधरुपमा चुनाव प्रचारप्रसारमा सहभागी भएका थिए । प्रहरीकै उपस्थितिमा मियाँले निर्वाचित भएको प्रमाणपत्र लिँएर दोस्रो कार्यकाल सुरु गरेका थिए ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ मा आर्थिक वर्ष ०७४/७५ देखि ०७७/७८ सम्म ७८ जनाको नाममा किर्ते कागजात पेस गरी सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको आरोपमा वडाध्यक्ष रहमानसहित २१ जनामाथि मुद्दा चलिरहेको छ । यो प्रकरणमा एक करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना भएको जनाइएको छ । उक्त घटनामा वडाध्यक्ष रहमानसहित २१ जनालाई प्रतिवादी बनाएर २०७७ असोज २२ गते मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दामा तत्कालीन समयमै पक्राउ गरिएका तत्कालीन वडासचिव विनोदकुमार ठाकुर अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा छन् ।

बिहीबार पक्राउ गरिएका वडाध्यक्ष रहमानलाई अदालत पेस गरिएको र शुक्रबारदेखि थुनछेक बहस हुने जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित : पुस २१, २०७९ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?