२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मेयरको आदेशमा अवैध उत्खनन्, नगरपालिकाका सवारी प्रहरी नियन्त्रणमा

सुनिता बराल

महोत्तरी — महोत्तरीको गौशालास्थित मराहा खोलाबाट अवैध उत्खनन् गर्ने ६ वटा सवारी कारबाहीमा परेका छन् । अनुगमनका क्रममा नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको फेला पारेपछि गौशाला नगरपालिकाको प्रदेश २–०४–००१ ग ०००१ नम्बरको जेसीबी, प्रदेश २–०२–००१ द ००१३ नम्बरको ट्याक्टर र अन्य ४ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको लागि सिफारिस गरेको हो । 

मेयरको आदेशमा अवैध उत्खनन्, नगरपालिकाका सवारी प्रहरी नियन्त्रणमा

जिल्ला समन्वय समितिसहित सम्बन्धित पक्षको अनुगमनमा नगरपालिकाको सरकारी जेसीबी र ट्याक्टर नै अवैध उत्खननमा प्रयोग गरेको पाइएको जिल्ला समन्वय समितिका सभापति सुमन लाल कर्णले जानकारी दिए ।

नगरपालिकाले खोला ठेक्का लगाइनसकेको र अन्य निकायलाई जानकारी बिना मेयरको ठाडो आदेशमा खोला खनेको पाएपछि सवारी नियन्त्रणमा लिएको उनले बताए । नियमन गर्ने निकाय नै अवैध उत्खननमा सहभागी हुनु गम्भीर चुनौती र चिन्ताको विषय भएको कर्णले बताए ।

नगरपालिकाको सवारीसँगै अन्य सवारीमा ना ७ ख ४१३२ नम्बरको ट्रिपर, ना ६ त १६९१, ज १ त ६५२३ र ज १ त ३७३ नम्बरको ट्याक्टर अवैध उत्खनन गरिरहेको समयमा नियन्त्रणमा लिइएकोे इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको उपकरण नगरपालिकाले जरिवाना लिएर छोड्ने गरेको छ । तर नगरपालिकाको सवारी नै अवैध उत्खननमा प्रहरीले नियन्त्रणमा लिएको छ । गौशाला नगरपालिकाका मेयर दिपेन्द्र महतोले भने उखु क्रसिङ गर्ने समय भएकाले गाउँघरका बाटो मर्मत गर्न आवश्यक नदीजन्य पदार्थ नगरपालिकाले निकालेको बताए ।

नगरपालिकाको सवारीले अवैध उत्खनन् गरेको नभई खाल्डाखुल्डी बाटोबाट किसानले सास्ती पाइराखेकाले गौशाला ९ मा बाटो मर्मत गर्न आवश्यक नदीजन्य पदार्थ निकालिएको मेयर महतोले दाबी गरे । साथै नदीजन्य पदार्थको अवैध उत्खनन् नेपालमै गौशालाले मात्रै रोकेको मेयर महतोले दाबी गरे । तर नगरपालिकाको आदेशमा नगर विकासको काममा खटिएको सवारी नगरपालिकालाई नसोधी प्रहरीले नियन्त्रणमा लिनु उचित नभएको मेयर महतोले बताए ।

जिल्ला समन्वय समितिले अहिले जिल्लाका सबै पालिका र क्रसर उद्योगलाई स्टक परिणामको विवरण र अद्योगको वैधताबारे कागजात पठाउन पत्रचार गरेको छ । तत्काललाई जिल्लामा कहीँकतै उत्खनन् नगर्न र वैधतासहित स्टक परिणाम पठाउन पुस २० गतेको अन्तिम म्याद दिएर पत्रचार गरिएको जिल्ला समन्वय सभापति कर्णले जानकारी दिए । जिल्लाको गौशाला, भंगाहा र बर्दिवासमा अनुगमन गर्दा उत्खननलाई नियमसंगत र मापदण्डमा ल्याउन निकै चुनौती देखिएको कर्णले बताए । नियमन गर्ने निकायकै उत्खननमा संलग्नता र संरक्षणको आभाष पाइएकोले यसलाई नियन्त्रण गर्न समन्वय समिति लाग्ने उनले बताए ।

गौशाला नगरपालिकाले भने समुदायको काम गर्ने क्रममा खटेको सवारी किन र कति कारणले नियन्त्रणमा लिएको भनी प्रहरीलाई स्पष्टीकरण सोधेको मेयर महतोले बताएका छन् । बिनासर्त नगरका सवारी प्रहरीले छोड्नुपर्ने उनको भनाइ छ । समन्वय समितिले ती सवारी पुस १३ गते पक्राउ गरेको हो । अहिलेसम्म नगरपालिकाले आफ्नो तर्फबाट उत्खनन् गर्नुअघि भएको कमीकमजोरी स्वीकार गर्ने र सवारी लिने विषयमा समन्वय समितिसँग समन्वय गर्नुपर्ने सभापति कर्णले बताएका छन् ।

प्रकाशित : पुस १९, २०७९ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?