२ किलाे चरेससहित भारतीय नागरिक पक्राउ- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ किलाे चरेससहित भारतीय नागरिक पक्राउ

लक्ष्मी साह

बारा — सीमा सुरक्षा सशस्त्र प्रहरी बलले नेपालबाट भारत लैजाँदै गरेकाे २ किलाे चरेससहित एक भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेकाे छ ।

सुवर्ण गाउँपालिका ३ काे कवहीगाेठ सतगन्ज नाकाबाट भारततर्फ जाँदै गरेका भारत बेला गाउँका ३० वर्षीय राजकुमारलाई बीआर ०५ एभी ३०४२ नम्बरकाे बाइकसहित पक्राउ गरिएकाे सशस्त्र प्रहरी बल १२ नम्बर गणका सूचना अधिकारी अमरबहादुर खत्रीले बताए ।

खत्रीका अनुसार छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट प्राप्त विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएकाे हाे ।

उनकाे साथबाट साथबाट १ हजार १ सय २० भारतीय रूपैयाँ नगद बरामद गरी थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएकाे प्रहरी नायब उपरीक्षक खत्रीले बताए । जाँच गर्दा ४ वटा प्याकेटमा प्याक गरिएकाे चरेस भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित : पुस १९, २०७९ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्

निजगढ र दसगजामा वन्यजन्तुको आतंक

दुई महिनाअघि निजगढ–काठमाडौं द्रूतमार्ग निर्माणमा खटिएका नेपाली सेनाको ब्यारेकमा समेत बाघ पसेको थियो । बाघसहितका वन्यजन्तु मानव बस्तीमा छिरेर सताउन थालेपछि स्थानीयहरू आतंकित छन् ।
लक्ष्मी साह

बारा — निजगढको जंगल नजिकका गाउँमा बाघ पसेर पशुचौपाया खाने, जंगली हात्ती, बँदेल, नीलगाईले बालीनालीमा क्षति पुर्‍याएपछि स्थानीय‍ आतंकित बनेका छन् । पर्सा राष्ट्रिय निकुञ्जसित जोडिएको निजगढ नगरपालिकाको वडा १ र २ सिंगौल गाउँ, वडा नं ११, १२ तथा १३ को रतनपुरी, लाल, कुलिया, डम्बरपुरलगायतका बस्तीमा ५ महिनादेखि बाघसहितका वन्यजन्तुले चौपायाहरु खाइदिँदा स्थानीयमा त्रास फैलिएको हो । 

दुई महिनाअघि निजगढ–काठमाडौं द्रूतमार्ग निर्माणमा खटिएका नेपाली सेनाको ब्यारेकमा समेत बाघ पसेको थियो । निकुञ्जसित जोडिएको उक्त क्षेत्रमा जनज्योति, तपोभूमि र पशुपति सामुदायिक वन छन् । तीनै सामुदायिक वनमा बस्ने जंगली जनावरहरुले आसपासका गाउँ पसेर आतंक मच्चाएको वडा १३ का वडाध्यक्ष सूर्यबहादुर घलानले बताए ।

‘निकुञ्जले बफर प्रतिरोधक छेकबार पनि लगाएको छैन‍ । त्यही भएर बाघ मात्र होइन, हात्ती र अन्य वन्यजन्तुले बालीनाली, केरा खेती नष्ट गर्नेदेखि बाघले यस अवधिमा कम्तीमा २० वटा बाख्रा र एउटा पाडोलाई खाइदिएको हो,’ उनले भने ।

हात्तीले पहिला-पहिला कोल्हवी र रौतहटको जंगल आसपास आतंक मच्चाए पनि अहिले यी क्षेत्रमा सताउने गरेको वडाध्यक्ष घलानले बताए । उनले भने, ‘मानिसलाई समेत कुन बेला के हुन्छ भनेर डर फैलिएको छ,’ त्यसैले वन्यजन्तुलाई रोकथाम गर्न नगरपालिकाका प्रमुख, अन्य जनप्रतिनिधिसहित निकुञ्जका अधिकारीहरुसित स्थानीयहरुबीच निजगढ नगरपालिकामा सोमबार छलफल गरिएको छ ।’ उनले क्षतिपूर्तिका लागि निकुञ्जले पहल गर्नुपर्ने माग गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले वन्यजन्तुलाई निकुञ्ज क्षेत्रभित्रै राख्न सकिने अवस्था नभए पनि सरकारीस्तरबाट सुरक्षाका उपायबारे योजना बनाउन जरुरी भएको बताए । उनका अनुसार छिमेकी जिल्ला रौतहटमा बाघले मान्छे मारेको र बाराको अमलेखगन्ज तथा कोल्हवी क्षेत्रमा कैयौंपटक मान्छेहरुमाथि आक्रमण भइसकेको छ ।

यस्तै चुरे दोहन तथा वन विनाशले त्यस क्षेत्रमा पानीको स्रोत सुक्दै गएपछि वन्यजन्तुहरु आहार र बासको लागि दसगजा (जंगलको दक्षिणी भाग) तिर गएर मानवसँगै बालीनाली नष्ट गर्न थालेको स्थानीय बताउँछन् । जंगली हात्ती, बँदेल र नीलगाईले हुलसहित पसेर क्षति पुर्‍याउन थालेको उनीहरूको भनाइ छ। ‍‘बिघाको बिघा बाली नष्ट गर्दा वन र निकुञ्जले वास्ता गरेको छैन,’ सिम्रौनगढ नगरपालिका-८ कचोर्वाका कमलेश यादवले भने ।

चुरे र जंगलमा पानीको स्रोत कम भइरहेकोले वन्यजन्तुहरु दसगजा‍तर्फ गइरहेको पर्सा राष्ट्रिय निकुञ्जका अधिकारीहरु बताउँछन् ।

प्रकाशित : पुस १९, २०७९ १८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×