कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टर्बाइन पड्किँदा रोकियो उखु क्रसिङ

२ सय ट्य्राक्टर उखु अलपत्र, नयाँ जडान गर्ने तयारीमा मिल
शिव पुरी

रौतहट — टर्बाइन पड्किएर चिनी मिल बन्द हुँदा उखु क्रसिङ रोकिएको छ । गरुडा नगरपालिका–९ डुमरियास्थित बाबा बैजुनाथ सुगर मिलको टर्बाइन पड्किएको हो । मिल बन्द हुँदा किसानको करिब २ सय ट्र्याक्टर उखु अलपत्र परेको छ । मिल सञ्चालनमा आउने आसमा कठ्यांगि्रँदो चिसोमा किसान उखु कुरेर बसेका छन् । 

टर्बाइन पड्किँदा रोकियो उखु क्रसिङ

उखु क्रसिङ गरिरहँदा गत मंगलबार टर्बाइन पड्किएको थियो । मिलका सञ्चालक बैजु बाबराले पुरानो टर्बाइन मर्मत गर्ने हालतमा नरहेकाले नयाँ नै जडान गर्ने र त्यसका लागि भारतबाट टोली बोलाइएको बताए । ‘पुरानो पड्किएको टर्बाइन मर्मत गरेर चलाउने अवस्था छैन । नयाँ खरिदका लागि प्रक्रिया सुरु गरिसकेका छौं,’ उनले भने, ‘मिलमा आइसकेको उखु क्रसिङको तयारीमा छौं ।’ उनका अनुसार ३ मेगावाटको टर्बाइन पड्किँदा उद्योगलाई ९ करोड रुपैयाँको क्षति भएको छ । मिलले पुस १० देखि क्रसिङ थालेको थियो । टर्बाइन पड्किएपछि ट्र्याक्टरमा उखु कुरेर बसेको बगहीका किसान सोमलाल साहले बताए । ‘मिल बन्द भएको भन्ने सूचना पाएका छौं,’ उनले भने, ‘फेरि चल्ने आसमा बसेका छौं ।’ उनले १० कट्ठामा उखु खेती गरेका छन् ।

रौतहटको गरुडा नगरपालिकामा रहेको श्रीराम सुगर मिल दुई वर्षदेखि बन्द छ । त्यस क्षेत्रको उखु पनि बाबा बैजुनाथले खरिद गर्दै आएको छ । दैनिक २० हजार क्विन्टल क्रसिङ गर्ने क्षमताको यो मिल गत वर्ष उखु अभावले थोरै समय चलेर बन्द भएको थियो । गत वर्ष पुस १५ देखि मिलले क्रसिङ थालेको थियो । चैतको अन्तिमसम्म सञ्चालन हुनुपर्ने मिल उखु नभएपछि दुई साताअगावै बन्द भएको थियो । एक सिजनमा २० देखि २५ लाख क्विन्टलसम्म क्रसिङ गर्ने लक्ष्य राखेको मिलले गत वर्ष करिब १० लाख क्विन्टल क्रसिङ गरेको सञ्चालक बाबराले बताए ।

‘जिल्लामा उखु नै छैन । यस पटक पनि निकै कम खेती भयो, जसले मिल सञ्चालनमा कठिनाइ हुन थाल्यो,’ उनले भने, ‘उखुकै कारण मिल घाटामा चलेको छ ।’ गतवर्ष मिलले भारतबाट उखु ल्याउने प्रयास गरेको थियो । तर, विरोधपछि ल्याउन सकेन । सरकारले अहिलेसम्म उखुको मूल्य तोकेको छैन । तर खेतमै सुक्ने भन्दै किसानले धमाधम मिललाई उधारोमै उखु बेच्न थालेका छन् । मंसिर अन्तिम सातायता सबै मिलले क्रसिङ सुरु गरिसकेका छन् । ‘उखु बिक्री नगर्दा बारीमै सुक्ने चिन्ता भयो,’ गरुडाका किसान सुखल कुशवाहाले भने, ‘बल्ल उखु काटेर मिलमा लगियो । तर, टर्बाइन पड्किएर बन्द भएपछि समस्यामा परेका छौं ।’

उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक जैसवालले जिल्लामा उखु किसानको संख्या बर्सेनि घटेको सुनाए । ‘विगतमा श्रीराम सुगर मिलले भुक्तानीमा निकै झमेला गरेपछि किसानले उखु लगाउन छाडेका हुन्,’ उनले भने, ‘भुक्तानीलगायत सुविधा दिन थाल्यो भने बाध्य भएर खेती गर्छन् ।’ बाबा बैजनाथले उखु बिक्री गरेको साता र १५ दिनमा भुक्तानी दिने, चलानमा सहजता र उखु लगाउन किसानलाई सुविधा दिने जनाएको छ । मिलले किसानको खेतमै पुगेर बीउबिजन, मलखाद र भुक्तानीमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उखु काट्ने, ढुवानीदेखि भुक्तानीसम्मको सुविधा दिन थालेको सञ्चालक बाबराले बताए ।

प्रकाशित : पुस १८, २०७९ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?