तराईमा शीतलहर सुरु

सर्लाहीमा चिसोले ४ जनाको मृत्यु, महोत्तरीमा विद्यालय बन्द

महोत्तरी,सर्लाही — बुधबारदेखि बढेको कठ्यांग्रिँदो चिसोसँगै चलेको शीतलहरले मधेसको जनजीवन कष्टपूर्ण बनेको छ । घाम नलाग्दा दिनभर बाक्लो हुस्सुले अँध्यारो छ । सहरमा मानिसहरूको चहलपहल पातलिएको छ ।

तराईमा शीतलहर सुरु

चिसोबाट जोगाउन जनकपुरमा भने उपमहानगरको सहयोगमा चोकचोकमा आगो बालिएको छ । चिसोकै कारण सर्लाहीमा ४ जनाको मृत्यु भएको छ ।

चिसो स्याँठ र बाक्लो हुस्सुले कठ्यांग्रिएर उनीहरूको मृत्यु भएको हो । एक जनाको भने आगो ताप्ने क्रममा जलेर ज्यान गएको छ । उनीहरू सबै विपन्न परिवारका छन् । मंगलबार बसबरिया गाउँपालिका–५ धनगढामा चिसोले कठ्यांग्रिएर ७९ वर्षीया श्रीपतीदेवी पासवानको मृत्यु भएको परिवारजनले जनाएको छ । दाउरा लिन गाउँबाहिर निस्केकी उनी बेहोस भएर लडेकी थिइन् । तत्कालै उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको छोरा बच्चेलालले बताए । उनले भने, ‘चिसोले आमाको शरीर शिथिल भइसकेको थियो ।’ पासवानले आफूहरूको आर्थिक अवस्था कमजोर रहेको गुनासो पोखे ।

यसअघि चिसोले कठ्यांग्रिएर सर्लाहीकै हरिपुर नगरपालिका–५ लक्ष्मीपुर र हरिपुर–९ पिडारीमा दुई जनाको मृत्यु भइसकेको छ । लक्ष्मीपुरका ६५ वर्षीय रामभगत माझी र पिडारीका ४० वर्षीय रमेश माझीको चिसोले कठ्यांग्रिएर ज्यान गएको हो । उनीहरूको पनि आर्थिक अवस्था कमजोर थियो । यस्तै, हरिवन बजारमा भने एक मागिखाने पुरुषको पनि चिसोले कठ्यांग्रिएर ज्यान गएको छ । नाम–थर नखुलेका अन्दाजी ६०/६५ वर्षका पुरुषको चिसोले कठ्यांग्रिएर ज्यान गएको प्रहरीले जनाएको छ । गतसाता जाडो छल्नका लागि बालेको घुरको आगो सल्किँदा जलेर हरिवन नगरपालिका–३ का टीकाराम रखालकी श्रीमती ५५ वर्षीया गोरीमायाको मृत्यु भयो । चिरान मिलमा कुरुवाको काम गर्ने उनी मिलभित्रै आगो तापेर बसेकी थिइन् । आगो तापिरहेको अवस्थामा कपडामा आगो सल्कन गई घाइते भएकी रखालको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु अबेरसम्म रहँदा जाडो अत्यधिक बढेको हो । चिसोबाट अति विपन्न, मुसहर र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार बढी प्रभावित छन् । उनीहरूलाई न्यानो कपडाको समेत अभाव छ । विपन्न परिवार जाडो छल्न अधिकांश समय आगो तापेर बस्छन् । पराल र पातलो ओढ्नेको भरमा उनीहरू शीतलहर झेलिरहेका छन् ।

चिसोले मौसमी रोगीको चाप बढेको सर्लाही अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवलकिशोर झाले बताए । उनका अनुसार बालबालिकामा श्वासप्रश्वास, कोल्ड डायरिया, रुघाखोकीजस्ता समस्या देखिएको छ । वृद्धवृद्धामा दम, शरीरका अंग राम्ररी नचल्ने र अचेत हुनेलगायत समस्या छन् । घुरमा जलेर गम्भीर घाइते भई उपचारका लागि आउने पनि धेरै रहेको उनले जानकारी दिए । ‘बढ्दो चिसोमा मौसमी रोगका बिरामीको संख्या जिल्ला तथा गाउँगाउँमा बढेको छ, सबैभन्दा बढी विपन्न परिवार नै चिसोबाट बढी प्रभावित भएर स्वास्थ्य संस्थामा आउने गरेका छन्,’ उनले भने, ‘चिसोमा बालबालिका र वृद्घवृद्घा सबैभन्दा बढी प्रभावित देखिएका छन् ।’

चिसोबाट बच्न आगो बालेर ताप्ने क्रममा आगलागीका घटना धेरै भएकाले सावधानी अपनाउन जिल्ला प्रहरीले आग्रह गरेको छ । बाक्लो हुस्सुले भिजिबिलिटी कम भएपछि पूर्व–पश्चिम राजमार्गसहित जिल्लाको भित्री सडकमा अहिले सवारीसाधन दिउँसै बत्ती बालेर गुडिरहेका छन् । यस्तो मौसममा अगाडिको दृश्य देखिन मुस्किल पर्ने गरेकाले सावधानी अपनाएर सवारीसाधन गुडाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । जाडोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खानेकुरा खान र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन चिकित्सकले सुझाव दिएका छन् ।

यस्तै, अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टपूर्ण बनेपछि महोत्तरीको मनराशिस्वा नगरपालिकाका सबै सामुदायिक तथा धार्मिक विद्यालयमा बिदा दिइएको छ । आइतबारदेखि ६ दिनका लागि नगरभित्रका विद्यालयमा बिदा दिने निर्णय गरिएको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले बिहीबार जारी गरेको सूचनामा अत्यधिक चिसो र शीतलहरका कारण विद्यालयमा बिदा दिएको जनाइएको छ ।

प्रकाशित : पुस १७, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?