महोत्तरी — महोत्तरीमा अंग्रेजी वर्ष सन् २०२२ को अवधिभर बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका ४० घटना सार्वजनिक भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा जबर्जस्ती करणीका ४० सहित १० वटा हत्या घटना भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक गरिएको तथ्यांक २०२२ को जनवरीदेखि डिसेम्बरसम्म दर्ता भएका घटनाहरू भएको इन्सेक महोत्तरीका प्रतिनिधि अजय साहले जानकारी दिए ।
सार्वजनिक गरिएको तथ्यांकमा परिवारजन र व्यक्तिबाट १० जनाको हत्या, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटना ४०, मानव बेचबिखन तथा ओसारपसारका १, बहुविवाह १३, बालविवाह १, प्रहरीको गोली प्रहारबाट घाइते २ गरी जिल्लामा एक वर्षमा ६४ वटा घटना इन्सेकमा दर्ता भएको साहले जानकारी दिए ।
महिला अधिकारकर्मी तथा ओरेक महोत्तरीका कार्यक्रम अधिकृत लिला दियालीले हिंसामा परेका पीडितलाई न्याय प्राप्तीको अन्तिम विन्दुसम्म पुर्याउन इन्सेकले महत्त्वपूर्ण भूमिका निभाएको बताइन् ।
महिला मानवअधिकार रक्षक महोत्तरीकी अध्यक्ष काजल नागवंशीले मानवअधिकार उल्लंघनका घटनाहरू सत्यतथ्यको आधारमा हरेक वर्ष इन्सेकले वर्ष पुस्तकमा अभिलेखिकरण गर्दा राज्य पक्ष र गैरराज्य पक्षबाट हुने घटनालाई खबरदारी गर्न सहज भएको बताइन् ।
नागरिहरूका लागि वर्ष पुस्तक दस्तावेज बन्दै गएको नागवंशीले बताइन् । घटनालाई अभिलेखिकरण मात्रै गर्ने नभई अधिकारका लागि पनि पहल गर्न सहयोग गर्दै पीडितलाई न्याय दिलाउन सबै मानवअधिकारकर्मी एकै ठाउँमा उभिनुपर्ने उनले बताइन् ।
महोत्तरी — एक वर्षअघि बोक्सीको आरोपमा उनले यातना भोग्नुपर्यो । छरछिमेक मिलेर पोलमा बाधेर उनलाई कुटपिट र लछारपछार गरेका थिए । महोत्तरी जलेश्वर–४ सुगाकी सुकमरिया देवीलाई देख्दा आफ्नी छोरी रुने गरेको भन्दै स्थानीय सिकिन्दर महतोले उनलाई बोक्सीको आरोप लगाएका थिए ।
सुकमरियाले आफूलाई यातना दिनेविरुद्ध कानुनी लडाइँ लडिन् र जितिन् पनि । कुटपिटको आरोपमा सिकिन्दर, अनिल महतो, पुरनीदेवी र प्रमिलादेवी जेलमा छन् । तर, न्याय पाए पनि सुकमरियाको दुःख सकिएको छैन । आफूमाथि अत्याचार गर्नेलाई कठघरामा उभ्याएकैले उनी समाजमा एक्लो परेकी छन् । जेलबाट परेकाहरूलाई नछुटाएसम्म आफूलाई ‘बोक्सी नै होस्’ भनेर समाजले बात लगाउने गरेको उनले गुनासो गरिन् । घरबाट बाहिरै निस्कन नदिन बाटो बन्द गरिदिने, ओल्लोपल्लो घरका सबैले बोक्सी भन्दै गिज्याउने, आफ्नो मान्छे थुनिएको भन्दै सामाजिक गतिविधिमा सहभागी नगराउने र थुनाएका मानिसलाई तत्काल निकाल्न दबाब दिने गरेको सुकमरियादेवी बताउँछिन् । यही कारणले आफू मानसिक तथा शारिरीकरुपमा अस्वस्थ रहेको उनले बताइन् । कानुनी लडाइँ लड्दा सामाजिक अन्यायमा परेको भन्दै सुकमरियादेवी अहिले पनि न्यायका लागि भौंतारिरहेकी छन् ।
बोक्सीको आरोपमा सुकमरियादेवीको घटना एउटा प्रतिनिधि मात्रै हो । महोत्तरीमा बोक्सीको आरोपमा २०७८/०७९ मा चारवटा घटना प्रहरीमा दर्ता भएका छन् । न्यायको ढोका ढकढक्याउन पुगेका अधिकांश पीडितले सामाजिक न्याय नपाउने महिला अधिकारकर्मर् ीलीला दियाले बताउँछिन् । महोत्तरीको सम्सी गाउपालिकाकी एक १६ वर्षीया किशोरी अहिले आफ्नो घर र समाजमा फर्कन संघर्षरत छिन् । गाउँकै एक पुरुषबाट आफूमाथि बलात्कार भएपछि परिवार र समाजको डरले घटना गोप्य राखेकी किशोरी जर्वजस्तीकरणीबाट गर्भवती भएकी थिइन् । किशोरी गर्भवती भएको थाहा पाएपछि परिवार र समाजले उनलाई गाउँमा बस्न दिएन । किशोरी अहिले जनकपुरको सेफ हाउसमा छिन् । घटना सार्वजनिक भएपछि महिला अधिकारकर्मीको सहयोगमा किशोरीले आफूमाथि बलात्कार गर्ने २० वर्षिय सुनिल मण्डलविरुद्ध प्रहरीमा उजुरी दिइन् । फरार रहेका मण्डलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
किशोरीले ६ महिनामै बच्चा जन्माएको र बच्चालाई बचाउन नसकिएको सेफ हाउसकी व्यवस्थापक सविता पुनले जानकारी दिइन् । हिंसामा परेर मानसिक तनाव खेपिरहेकी किशोरी कानुनी र सामाजिक न्याय पाउन नसक्दा घर फर्कन सक्ने अवस्था नरहेको उनको रेखदेख गरिरहेकी पुन बताउँछिन् । ‘मलाई अन्यायमा पार्नेलाई प्रहरीले पक्राउ गरे पीडामा मलम लाग्थ्यो,’ ती किशोरीले भनिन, ‘समाजको अनेक भनाइ र व्यवहार खेप्नुपरेको छ । घर फर्किने अवस्था बनाइदिनुपर्छ ।’
महोत्तरी, एकडारा गाउपालिकाकी १६ वर्षिया किशोरी पनि जर्वजस्तीकरणीबाटै आमा बनिन् । उनी अहिले ९ महिनाको छोरी हुर्काइरहेकी छिन् । किशोरीलाई अन्याय गर्ने ३६ वर्षका जिन्दु दास थुनामा छन् । तर, किशोरी सामाजिक अपहेलनामा गुज्रिरहेकी छन् । कुमारी आमा बन्दा उनलाई समाजले हेर्ने दृष्टिकोण फरक छ । किशोरीलाई भने उनको परिवारको साथ छ । अविवाहित छोरी आमा बन्दासमेत काखी च्यापेको भन्दै समाजले अपहेलना गर्ने गरेको उनको परिवारका एक सदस्यले बताए ।
यस्ता जघन्य बलात्कारका धेरै घटना प्रतिष्ठा जोगाउने अभिलाषाले अझै समाजमै गुपचुप मिल्ने गरेको महिला अधिकारकर्मीहरू बताउँछन् । महिलाहरू आफ्नो न्यायको लागि खुलेर अगाडि आए पनि समाज र परिवारको दबाबमा न्याय खोज्नबाटै पछि हट्ने गरेका मानवअधिकार आयोग मधेस प्रदेशकी प्रमुख मञ्जु खतिवडाले बताइन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत आर्थिक वर्षमा जबर्जस्ती करणीका २२ र जबर्जस्ती करणी उद्योगमा आठवटा उजुरी परेका छन् । चालु आर्थिक वर्षमा पनि १५ उजुरी जबर्जस्ती करणीका परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए । गतवर्ष परेका ७ सय ४५ वटा उजुरीमध्ये ३० वटा जबर्जस्ती करणी र ४ सय ५५ वटा घरेलु हिंसाको उजुरी परेको प्रहरीले जनाएको छ ।