न्याय पाए पनि समाजबाट बहिष्कृत- मधेस - कान्तिपुर समाचार

न्याय पाए पनि समाजबाट बहिष्कृत

सुनिता बराल

महोत्तरी — एक वर्षअघि बोक्सीको आरोपमा उनले यातना भोग्नुपर्‍यो । छरछिमेक मिलेर पोलमा बाधेर उनलाई कुटपिट र लछारपछार गरेका थिए । महोत्तरी जलेश्वर–४ सुगाकी सुकमरिया देवीलाई देख्दा आफ्नी छोरी रुने गरेको भन्दै स्थानीय सिकिन्दर महतोले उनलाई बोक्सीको आरोप लगाएका थिए । 


सुकमरियाले आफूलाई यातना दिनेविरुद्ध कानुनी लडाइँ लडिन् र जितिन् पनि । कुटपिटको आरोपमा सिकिन्दर, अनिल महतो, पुरनीदेवी र प्रमिलादेवी जेलमा छन् । तर, न्याय पाए पनि सुकमरियाको दुःख सकिएको छैन । आफूमाथि अत्याचार गर्नेलाई कठघरामा उभ्याएकैले उनी समाजमा एक्लो परेकी छन् । जेलबाट परेकाहरूलाई नछुटाएसम्म आफूलाई ‘बोक्सी नै होस्’ भनेर समाजले बात लगाउने गरेको उनले गुनासो गरिन् । घरबाट बाहिरै निस्कन नदिन बाटो बन्द गरिदिने, ओल्लोपल्लो घरका सबैले बोक्सी भन्दै गिज्याउने, आफ्नो मान्छे थुनिएको भन्दै सामाजिक गतिविधिमा सहभागी नगराउने र थुनाएका मानिसलाई तत्काल निकाल्न दबाब दिने गरेको सुकमरियादेवी बताउँछिन् । यही कारणले आफू मानसिक तथा शारिरीकरुपमा अस्वस्थ रहेको उनले बताइन् । कानुनी लडाइँ लड्दा सामाजिक अन्यायमा परेको भन्दै सुकमरियादेवी अहिले पनि न्यायका लागि भौंतारिरहेकी छन् ।

बोक्सीको आरोपमा सुकमरियादेवीको घटना एउटा प्रतिनिधि मात्रै हो । महोत्तरीमा बोक्सीको आरोपमा २०७८/०७९ मा चारवटा घटना प्रहरीमा दर्ता भएका छन् । न्यायको ढोका ढकढक्याउन पुगेका अधिकांश पीडितले सामाजिक न्याय नपाउने महिला अधिकारकर्मर् ीलीला दियाले बताउँछिन् । महोत्तरीको सम्सी गाउपालिकाकी एक १६ वर्षीया किशोरी अहिले आफ्नो घर र समाजमा फर्कन संघर्षरत छिन् । गाउँकै एक पुरुषबाट आफूमाथि बलात्कार भएपछि परिवार र समाजको डरले घटना गोप्य राखेकी किशोरी जर्वजस्तीकरणीबाट गर्भवती भएकी थिइन् । किशोरी गर्भवती भएको थाहा पाएपछि परिवार र समाजले उनलाई गाउँमा बस्न दिएन । किशोरी अहिले जनकपुरको सेफ हाउसमा छिन् । घटना सार्वजनिक भएपछि महिला अधिकारकर्मीको सहयोगमा किशोरीले आफूमाथि बलात्कार गर्ने २० वर्षिय सुनिल मण्डलविरुद्ध प्रहरीमा उजुरी दिइन् । फरार रहेका मण्डलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

किशोरीले ६ महिनामै बच्चा जन्माएको र बच्चालाई बचाउन नसकिएको सेफ हाउसकी व्यवस्थापक सविता पुनले जानकारी दिइन् । हिंसामा परेर मानसिक तनाव खेपिरहेकी किशोरी कानुनी र सामाजिक न्याय पाउन नसक्दा घर फर्कन सक्ने अवस्था नरहेको उनको रेखदेख गरिरहेकी पुन बताउँछिन् । ‘मलाई अन्यायमा पार्नेलाई प्रहरीले पक्राउ गरे पीडामा मलम लाग्थ्यो,’ ती किशोरीले भनिन, ‘समाजको अनेक भनाइ र व्यवहार खेप्नुपरेको छ । घर फर्किने अवस्था बनाइदिनुपर्छ ।’

महोत्तरी, एकडारा गाउपालिकाकी १६ वर्षिया किशोरी पनि जर्वजस्तीकरणीबाटै आमा बनिन् । उनी अहिले ९ महिनाको छोरी हुर्काइरहेकी छिन् । किशोरीलाई अन्याय गर्ने ३६ वर्षका जिन्दु दास थुनामा छन् । तर, किशोरी सामाजिक अपहेलनामा गुज्रिरहेकी छन् । कुमारी आमा बन्दा उनलाई समाजले हेर्ने दृष्टिकोण फरक छ । किशोरीलाई भने उनको परिवारको साथ छ । अविवाहित छोरी आमा बन्दासमेत काखी च्यापेको भन्दै समाजले अपहेलना गर्ने गरेको उनको परिवारका एक सदस्यले बताए ।

यस्ता जघन्य बलात्कारका धेरै घटना प्रतिष्ठा जोगाउने अभिलाषाले अझै समाजमै गुपचुप मिल्ने गरेको महिला अधिकारकर्मीहरू बताउँछन् । महिलाहरू आफ्नो न्यायको लागि खुलेर अगाडि आए पनि समाज र परिवारको दबाबमा न्याय खोज्नबाटै पछि हट्ने गरेका मानवअधिकार आयोग मधेस प्रदेशकी प्रमुख मञ्जु खतिवडाले बताइन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत आर्थिक वर्षमा जबर्जस्ती करणीका २२ र जबर्जस्ती करणी उद्योगमा आठवटा उजुरी परेका छन् । चालु आर्थिक वर्षमा पनि १५ उजुरी जबर्जस्ती करणीका परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए । गतवर्ष परेका ७ सय ४५ वटा उजुरीमध्ये ३० वटा जबर्जस्ती करणी र ४ सय ५५ वटा घरेलु हिंसाको उजुरी परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ५, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सुनिता बराल

महोत्तरी — महाेत्तरीको जलेश्वरबाट नेपाली नक्कली नाेटसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। महोत्तरी प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतकाे बिहार राज्य सीतामढी ग्रामपञ्चायत भदियन थाना नानपुर वडा नं. १० बस्ने २१ वर्षीय रमन कुमार रहेका छन् ।

रमन कुमारलाई जलेश्वर नगरपालिका वडा नं. ३ मलिवाडा बजारबाट पक्राउ गरिएको महाेत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्ताेष पाेखरेलले जानकारी दिए।

जलेश्वर नगरपालिका वडा नं. ३ बस्ने सब्दुल अन्सारीको कठघेरा घुम्ती पसलमा उनले नकल्ली जस्तो नोट साट्न खोज्दा स्थानीय मानिसहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको डीएसपी पाेखरेलले बताए ।

रमन कुमारकाे साथबाट नकल्ली जस्तो देखिने नेपाली १ हजार का ११ वटा नोट ११ हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसुर मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरबाट १० दिन म्याद थप गराएर थप अनुसन्धान भइरहेको डीएसपी पाेखरेलले जानकारी दिए ।

प्रकाशित : पुस २, २०७९ १५:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×