किर्ते आरोपमा मटिहानी मन्दिरका महामहन्त दास पक्राउ- मधेस - कान्तिपुर समाचार

किर्ते आरोपमा मटिहानी मन्दिरका महामहन्त दास पक्राउ

अजित तिवारी

जनकपुर — महोत्तरी, मटिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई महोत्तरी प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोपमा दासलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृृष्ण पंगेनीका अनुसार रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर रोक्का रहेको बैंक खाता फुकुवा गरेर ७० लाख १८ हजार ५ सय १० रुपैयाँ ३५ पैसा भिकेका महामहन्त दासलाई पक्राउ गरेर रुपन्देही पठाइएको एसपी पंगेनीले जानकारी दिए ।

महामहन्त दासले आफ्नै नाममा रहेको सिद्धार्थनगर शाखाको मेघा बैंकको खाताबाट जनकपुरका श्रवण यादवलाई ७ नोभेम्बरमा त्यो पैसा टान्सफर गरेका थिए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोक्का राखेको उनको नामको खाता फुकुवा गराउन महामहन्त दासले त्यहाका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको पत्रअनुसार महोत्तरी प्रहरीले महामहन्त दासलाई पक्राउ गरेर सिद्धार्थनगर पठाएका छन् ।


प्रकाशित : पुस ३, २०७९ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

धनुषामा जन्ती सवार गाडी दुर्घटना : ५ जनाको मृत्यु, ९ घाइते

अजित तिवारी

जनकपुर — धनुषाको वीरेन्द्रबजारमा पूर्वबाट आउँदै गरेको यात्रुवाहक भ्यान र पश्चिमबाट पूर्व जाँदै गरेको पिकअप भ्यान ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । शनिबार बिहान करिब ५ बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुई गाडी ठोक्किएको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इटहरीबाट महोत्तरीको पिपरातर्फ आउँदै गरेको ना १ ज ८३९६ नम्बरको गाडी र विपरीत दिशा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज१च १४९६ नम्बरको पिकअप ठोक्किएको थियो ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको र ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दीपक रायका अनुसार घटनास्थलमै करिब १२ वर्षको एकजना बालकको मृत्यु भएको थियो भने अरुको उपचारको क्रममा जनकपुर ल्याउने क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा धनुषाको मुखियापट्टी मुसहनिया–४ का २९ वर्षीया रुवी साह, महोत्तरी रामगोपालपुर–७ ससौलकी १७ वर्षीया मञ्जुकुमारी साह उनकै बहिनी १३ वर्षकी सिर्जना साह र धनुषा धनौजी–४ का २५ वर्षीय अब्दुल मन्सुरीको मृत्यु भएको डीएसपी रायले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु भएका एकजनाको सनाखत हुन बाँकी छ ।

धनुषा प्रहरीका एसपी बसन्त रजौरेले एउटा वैवाहिक कार्यक्रममा इटहरीबाट सहभागी हुन महोत्तरीको पिपरातर्फ आउँदै गरेको गाडी र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिकअप ठोक्किएको बताए ।

प्रकाशित : मंसिर १७, २०७९ ०९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×