सिरहामा महिला हत्याका दुई आरोपी पक्राउ- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरहामा महिला हत्याका दुई आरोपी पक्राउ

भरत जर्घामगर

सिरहा — घाँस काट्न जंगल गएकी सिरहा मिर्चैया नगरपालिका–२ पीडारी टोलकी २६ वर्षीया लक्ष्मीनिया देवी कापरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–२ मल्हनियाका २० वर्षीय राजकुमार महतो कोइरी र मिर्चैया नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक छन् ।

उनीहरुलाई सिरहा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मिर्चैया नजिकै अरहिया सामुदायिक वनमा मंगलबार अपराह्न लक्ष्मीनियाको घाँटी र पेटमा खुकुरीले प्रहार गरी हत्या गरिएको थियो । हत्यापछि युवक फरार थिए । घटनाको १२ घण्टाभित्र प्रहरीले फरार दुवै युवकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले घाँस काट्न मृतक लक्ष्मीनियासँगै गएकी अर्की महिलाले लक्ष्मीनियालाई युवाहरुले लछारपछार गर्न थालेपछि जंगलमा लुकेर गाउँमा हत्याको खबर गरेकी थिइन् । गाउँलेले प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरेको खुकुरी बरामद गरेको छ ।

प्रकाशित : मंसिर २८, २०७९ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्

घाँस काट्न जंगलमा गएकी महिलाको हत्या

एक जनालाई पक्राउ गरी अनुसन्धान सुरु । हत्याको विरोधमा दुई घण्टा राजमार्ग अवरुद्ध ।
भरत जर्घामगर

सिरहा — घाँस काट्न जंगलमा गएकी सिरहा मिर्चैयाकी एक महिलाको मंगलबार हत्या भएको खुलासा भएको छ । मिर्चैया नगरपालिका–२ की २६ वर्षीया लक्ष्मीनियाँ कापरको शव अरहिया सामुदायिक वनमा हत्या भएको अवस्थामा मंगलबार अपराह्न फेला परेको प्रहरीले जनाएको छ ।

मिर्चैया नजिकै रहेको सामुदायिक वन कर्जन्हा नगरपालिका–६ मा पर्छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले जंगलमा हत्या गरेको अवस्थामा कापरको शव भेटिएको र कापरको घाँटी र पेटमा धारिलो हतियार प्रहारबाट हत्या भएको देखिएको जानकारी दिए ।

प्रहरीका अनुसार घाँस काट्न मृतक लक्ष्मिनियासँगै अर्की एक महिला पनि गएकी थिइन् । दुई जना जंगल गएका बेला लक्ष्मिनियालाई तीन जना युवाले लछार–पछार गर्न थालेपछि जंगलमा लुकेकी अर्की महिलाले गाउँमा हत्या खबर गरेका थिइन् । गाउँलेले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको डीएसपी वलीले जानकारी दिए ।

स्थानीयले घटनालगत्तै तीन जनाको नाममा किटानी जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिएका थिए । घटनाको अनुसन्धानपछि मात्र जाहेरी दर्ता गर्ने भनेपछि विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्गको मल्हनीया खण्डमा अपरान्ह ४ बजेदेखि २ घण्टासम्म राजमार्ग अवरुद्ध पारेका थिए । उनीहरुले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै सडकमै टायर बालेर राजमार्ग अवरोध गरेका थिए । राजमार्ग अवरोध दुई घण्टापछि खुलेको थियो ।

घटनाको अनुसन्धान भइरहेको र मृतक लक्ष्मिनियासँगै गएकी महिलाको बयानको आधारमा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको डीएसपी वलीले जानकारी दिए ।

प्रकाशित : मंसिर २७, २०७९ २०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×