नारायणी रंगशालाको प्यारापिट निर्माण सुस्त- मधेस - कान्तिपुर समाचार

नारायणी रंगशालाको प्यारापिट निर्माण सुस्त

कान्तिपुर संवाददाता

पर्सा — वीरगन्जस्थित नारायणी रंगशालाको प्यारापिट निर्माण जिम्मा पाएको कम्पनीले भुक्तानी नपाएको गुनासो गरेको छ । भुक्तानीको समस्याले निर्माण सुस्त छ । राष्ट्रिय खेलकुद परिषद्ले रंगशालाको ब्लक ‘सी’ को दुईवटा प्यारापिट निर्माणका लागि ४ करोड ९९ लाख ४८ हजारमा टेन्डर आह्वान गरेको थियो । रोशन/सागर ज्वाइन्ट भेन्चरले ४ करोड २५ लाख ७६ हजार रुपैयाँमा ठेक्का सकार गरेको थियो ।

२०७७ पुस २२ देखि कार्यादेश पाई ठेकेदारले काम सुरु गरेकोमा हालसम्म ७० प्रतिशत निर्माण सकिएको छ । जसबापत उसले राखेपबाट १ करोड ४९ लाख रुपैयाँ भुक्तानी पाएको छ । २०७९ असार २२ सम्म काम सम्पन्न गरिसक्नुपर्नेमा कोरोनाकालको कारण कामले गति लिन नसकेपछि म्याद थप गरी २०७९ चैतसम्मको अवधि दिइएको छ । हाल ९ दशमलव ९ मिटर लामो १४ सिँढी भएको र ६ दशमलव ४ मिटर लामो ८ सिँढी भएको गरी २ वटा प्याराफिट निर्माण गरिँदै छ ।

ठेकेदार सागर निर्माण सेवाका प्रोपाइटर उमेश क्षेत्री ७० प्रतिशत काम सम्पन्न हुँदा पनि कामअनुरूपको भुक्तानी नपाउँदा आफूलाई समस्या भएको बताउँछन् । ‘काम धेरै भइसक्यो, चैतमा काम नै सकिन्छ, तर जति मागे पनि भुक्तानी पाइएको छैन,’ उनले भने, ‘तैपनि मैले काम रोकेको छैन, बैंकबाट १ करोड रुपैयाँ ऋण लिएर मासिक ५० हजार ब्याज तिरेर काम गरिरहेको छु ।’

५ महिनाअघि नै आफूले काम भएअनुरूपको बिल पेस गरिसकेकोमा ‘अर्थ मन्त्रालयबाट स्वीकृति भएर आएको छैन’ भनी राखेपले झुलाउने काम गरेको उनले बताए । रंगशालाको पूर्व–दक्षिण कुनाको २ वटा जीर्ण प्यारापिट भत्काएर नयाँ निर्माण भइरहेको छ ।

प्रकाशित : मंसिर २२, २०७९ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीका २४ मध्ये २० सांसद नयाँ

‘राजनीतिक रुपमा संघीयता सफल त भयो तर वित्तीय रुपमा सफल हुन सकेको छैन’
ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका २४ सांसदमध्ये २० जना नयाँ छन् । मुख्यमन्त्री जीवनबहादुर शाही, एमालेका यामलाल कँडेल, माओवादीका बिन्दमान विष्ट र डोल्पाका वीरबहादुर शाही मात्र फेरि दोहरिएका हुन् ।

सांसद बन्न पाउँदा फरक अनुभूति भएको दैलेख २ (१) बाट निर्वाचित सांसद घनश्याम भण्डारीले बताए । प्रदेशको संरचना सफल बनाउन आफूले भूमिका खेल्ने उनको भनाइ छ । ‘राजनीतिक रूपमा संघीयता सफल त भयो तर वित्तीय रूपमा सफल हुन सकेको छैन,’ उनले भने, ‘कानुन बनाएर मात्र हुँदैन, जनताले बुझ्ने कानुन बनाएर कार्यान्वयनमा लैजान जरुरी छ, प्रदेश सरकार चाहिँदैन भन्नेहरूलाई प्रदेशले काम गरेर देखाउन आवश्यक देखियो ।’ ३९ वर्षीय भण्डारीले प्रत्यक्षतर्फ आफू सबैभन्दा कान्छो सांसद भएको दाबी गरे ।

कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका उनी २०७४ सालमा दुल्लु नगरपालिका प्रमुख विजयी भएका थिए । स्थानीय तहको अनुभवलाई प्रदेश संसद्मा प्रयोग गर्ने उनको भनाइ छ ।

डोल्पाबाट ४२ वर्षीय शेरबहादुर बुढा पनि पहिलोपल्ट संसद् छिर्दै छन् । एमालेबाट निर्वाचित उनले डोल्पा राज्यको पहुँचबाट सधैं टाढा रहेकाले सरकार र नागरिकबीच आफूले पुलको काम गर्ने बताए । ‘राज्यबाट दिएका सेवा सुविधा पनि भौगोलिक विकटताका कारण डोल्पालीले लिन सकेका छैनन्, जिल्लाको विकासका लागि पनि मेरो भूमिका हुनेछ,’ उनले भने, ‘यसअघिको अनुभवलाई प्रदेशसभामा भरपूर रूपमा प्रयोग गर्नेछु ।’ उनले यसअघि जिल्ला समन्वय समितिका प्रमुखको अनुभव बटुलिसकेका छन् ।

यसअघि डोल्पामा रहेर काम गर्दा धेरै समस्याहरू पहिचान गरेको र तिनको समाधान गर्न प्रदेशसभामा आवाज उठाउने उनको भनाइ छ । ‘डोल्पा अर्कै संसार जस्तो छ, यसलाई कर्णालीजस्तो बनाउन मेरो सक्दो पहल हुनेछ,’ उनले भने, ‘न गतिलो सडक पुगेको छ न विद्युत् र सञ्चार ।’

सुर्खेत क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भएका माओवादी केन्द्रका कृष्णबहादुर जीसीले प्रदेश सरकारको स्वरूप बदल्ने उद्देश्यले प्रदेशसभाको बाटो रोजेको बताए । ‘विगतमा कर्णाली प्रदेश सरकारको बिजोग भएको जस्तो अहिले हुने छैन,’ ४३ वर्षीय जीसीले भने, ‘अब नयाँ पुस्ताको प्रदेशसभामा आगमन भएको छ, कतिपयले स्थानीय सरकारको शासन व्यवस्था र काम, कर्तव्य र अधिकारबारे अनुभव बटुलिसकेकाले अब सबैलाई काम गर्न सहज हुनेछ ।’ जनताका स–साना कुरा पूरा गरे मात्र राजनीतिक दलप्रति जनताले हेर्न दृष्टिकोण परिवर्तन हुने उनको भनाइ छ ।

उनले संसद् भवनमा छिरेर विचार र राजनीतिको बहसभन्दा पनि निर्वाचनमा गरेका वाचा पूरा गर्न आफू तल्लीन रहने जनाए । ‘प्रदेशसभामा जाँदा जनतासँग समस्याहरूबारे प्रत्यक्ष बुझ्न सकिन्छ, अब कामको परम्परागत विधि परिवर्तन गर्न पनि आवश्यक छ,’ उनले भने, ‘यो पटक मतदाताले हाम्रो परीक्षा लिएका छन् । यो पटक राम्रो काम गरे मात्र हामीलाई जनताले फेरि पत्याउँछन् ।’

रुकुम पश्चिमबाट निर्वाचित भएका राजकुमार शर्मा र महेन्द्र केसी, सल्यानका भीमप्रकाश शर्मा र सुरेश अधिकारी, दैलेखका पूर्णबहादुर खत्री, कृष्णकुमार बीसी र विनोद शाह, कालीकोटका दुर्गबहादुर रावत र हिक्मतबहादुर विष्ट पनि नयाँ सांसद हुन् । त्यस्तै, सुर्खेतका खड्गबहादुर पोखरेल, जाजरकोटका बेदराज सिंह र राजीवविक्रम शाह, हुम्लाका रणसिंह परियार, मुगुका जितबहादुर मल्ल र मंगलबहादुर शाही तथा जुम्लाबाट टेकराज पछाई पनि संसद्मा पहिलोपल्ट प्रवेश गर्दै छन् ।

प्रकाशित : मंसिर २२, २०७९ ०९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×