२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

कुखुराको फार्ममा १८० केजी गाँजा बरामद

शिव पुरी

रौतहट — रौतहटको सदरमुकाम गौरस्थित नेपाल भारत सीमा क्षेत्रमा रहेको एक कुखुरा फार्ममा जमिनमुनि गाडेको अवस्थामा प्रहरीले १८० किलो गाँजा बरामद गरेको छ । युवकसहित बरामद गरेको गाँजाको प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

कुखुराको फार्ममा १८० केजी गाँजा बरामद

गौर नगरपालीका– ३ स्थित भारतीय व्यापार अफरोज मियाले सञ्चालन गरेको फलक पोल्ट्री (कुखुरा) फार्मबाट शनिबार साँझ १२ पोकामा १ सय ८० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । कुखुरा फर्मको जमिनमुन‍ि गाडेको अवस्थामा गाँजा फेला पारेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताए ।

‘मकवानपुरबाट गाँजा ल्याएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ उनले भने,‘गाँजा कहाँ लैजान लागेको र यसको मुख्य मानिस को हो भन्ने अनुसन्धानबाट चाँडै पत्ता लाग्छ ।’ मकवानपुरबाट गाँजा ल्याउने ट्रक र चालकलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनायो ।

जिल्ला प्रहरीका अनुसार गाँजा ल्याउने वाग्मती प्रदेश ०१–००६ ख २८३० नम्बरको ट्रक र चालक मकवानपुरका सुरेन्द्र स्याङ्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । कुखुरा फार्मका सञ्चालक मियाँ फरार छन् । फर्ममा रहेको ट्रक र चालकलाई सोधपुछ गर्दा मकवानपुरबाट गाँजा ल्याएको खुलको हो । केही समय यता जिल्लामा गाजाको ओसारपसार बढेको पाइएको छ ।

एक महिना अघि गौर नगरपालिका–२ स्थित लालबकैया नदी हुँदै भारत गाँजा तस्करी गर्न लागेको अवस्थामा अस्थायी प्रहरी पोष्ट महादेवपटी र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरको संयुक्त टोलीले १७ पोका गाँजा फेला पारेको थियो । प्रहरीलाई देखेपछि गाजा बोक्ने समूह फरार भयो । पोका खोलेर हेर्दाभित्र २०४ किलो लागूऔषध गाँजा बरामद भएको डिएसपी सुनिल मल्लले बताए ।

प्रकाशित : मंसिर १८, २०७९ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?