कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्रदेश सरकारमा जनमतको दाबी

प्रत्यक्षमा ६ सिट जितेको पार्टीले समानुपातिकबाट ७ सिट पाउने आकलन
अवधेशकुमार झा

राजविराज — प्रत्यक्ष र समानुपातिकतर्फ मधेस प्रदेशमा निर्णायक सिट ल्याएको जनमत पार्टीले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ । केन्द्रमा सत्ता गठबन्धनमा सहभागी हुने तयारी गरेको जनमतले प्रदेशमा भने मुख्यमन्त्रीसहित चार मन्त्रालय दाबी गर्ने जनाएको हो । 

प्रदेश सरकारमा जनमतको दाबी

निर्वाचनमा पहिलो सहभागितामै राष्ट्रिय पार्टी बनेको जनमतका अध्यक्ष सीके राउतले प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनका लागि दाबी गर्ने कान्तिपुरलाई बताए । ‘हाम्रो संघर्षको पृष्ठभूमिको पहिचान मधेसका जनताले चुनावमा गरे,’ राउतले भने, ‘हामीले चुनावी प्रचारका क्रममा जनसरोकारका विषयलाई मूल मुद्दा बनायौं । जनताले अझै पनि राज्यबाट पाउने सेवा प्रवाहको अनुभव गर्न सकिरहेका छैनन् । सरकारमा जानु पनि आवश्यक हुन्छ । प्रदेश सरकारमा पनि जनताका आकांक्षा पूरा गर्ने धेरै अवसर छन् ।’

प्रत्यक्षतर्फ प्रदेशसभामा सप्तरीमा चार र सिरहामा दुईवटा क्षेत्र जितेको जनमतले समानुपातिकमा कम्तीमा ७ सिट पाउने आकलन गरिएको छ । मधेसमा सत्ता गठबन्धन दलसँग सरकार बनाउन बहुमत पुग्दैन । त्यसका लागि जनमतको साथ उनीहरूले खोजेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले जनमतलाई संघ र मधेस प्रदेश सरकारमा ल्याउन कोसिस गरिरहेका छन् । निधिकै पहलमा राउतले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासित भेटेर दुवै सरकारमा जान सकारात्मक रहेको प्रतिक्रिया दिइसकेका छन् ।

विकास र सेवा प्रवाहलाई अगाडि बढाउन सरकारमा सहभागी हुने राउतले बताए । ‘शिक्षा, स्वास्थ्य र रोजगारी तथा किसानका समस्या समाधान हाम्रो पहिलो लक्ष्य हो, यससँगै विकासको गतिलाई पनि तीव्रताका साथ अगाडि बढाउनु जरुरी छ,’ उनले भने । अन्य दलले गठबन्धन गरेको र आफ्नो दलले एक्लै चुनाव लडेको उद्देश्य उनले मुख्यमन्त्रीका लागि दाबी गर्नु स्वाभाविक भएको जनाए । ‘सिट संख्या हेर्दा चारवटा मन्त्रालय हामीले पाउनुपर्छ,’ राउतले भने, ‘छलफल भइरहेको छ ।’

जनमतले सरकारको नेतृत्व गर्न पाए मुख्यमन्त्रीको भन्ने प्रश्नमा उनले भन्न हतार हुने प्रतिक्रिया दिए । तर, राउत निकटका अनुसार जनमत पार्टीमा सुरुदेखि नै लागेका पार्टी उपाध्यक्ष वसन्त कुशवाहालाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्ने सम्भावना छ । रौतहट घर भएका कुशवाहाको नाम समानुपातिक सूचीमा मधेसी क्लस्टरमा २ नम्बरमा छ । ‘सरकारमा सामेल हुने वा नहुने, भए मुख्यमन्त्री वा मन्त्रीको बन्ने भन्ने निर्णयको अधिकार पार्टी अध्यक्ष राउतलाई दिइएको छ,’ पार्टी महासचिव चन्दन सिंहले भने, ‘समय आएपछि अध्यक्षजीले निर्णय लिनुहुनेछ ।’

जनमतबाट सप्तरी–१ (२) मा सकिल मियाँ, सप्तरी– २ (१) मा सतिशकुमार सिंह, २ मा महेश यादव, सप्तरी–३ (२) मा शम्भुकुमार साह निर्वाचित भएका छन् । यस्तै सिरहा–२ (१) बाट सञ्जयकुमार यादव र सिरहा–४ (१) बाट त्रिभुवन साह विजयी भएका छन् । उनीहरू सबै प्रदेशका हेभिवेट नेतालाई पराजित गर्दै प्रदेशसभामा पुगेका हुन् । सप्तरी–२(१) बाट निर्वाचित सिंहले प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहलाई पराजित गरे भने सोही क्षेत्रको २ बाट निर्वाचित महेशले माओवादी नेता तथा पूर्वसिँचाइमन्त्री उमेश यादवलाई पछि पारे । सप्तरी–३ (२) बाट निर्वाचित शम्भुकुमारले निवर्तमान प्रदेश सांसद विदेश्वरप्रसाद यादवलाई ४८ मतले हराए । सप्तरी–१(२) बाट निर्वाचित सकिल मियाँले पनि कांग्रेस र जसपाका जिल्लास्तरका नेतालाई पराजित गरे ।

सिरहा–२ (१) बाट निर्वाचित सञ्जयले प्रदेशका कृषिमन्त्री विजयकुमार यादवलाई पराजित गरे भने सिरहा–४(१) बाट निर्वाचित साहले माओवादी नेता महेन्द्र पासवानलाई पछाडि पार्दै जित सुनिश्चित गरे । जनमत पार्टीबाट जितेकामध्ये ३ जना राजनीतिमा पुरानै अनुहार हुन् भने ३ जना राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनदेखि नै लागेका ब्यक्ति हुन् । मियाँ राप्रपाबाट जिल्ला विकास समितिको सदस्य हुँदै माओवादीबाट प्रदेशसभा उम्मेदवार र जसपा पार्टी प्रवेश हुँदै स्थानीय तहको निर्वाचनअघि जनमतमा प्रवेश गरेका थिए । सप्तरीबाटै निर्वाचित सिंह तत्कालीन राजपाको जिल्ला अध्यक्ष हुँदै ०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा सिंह तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा लोसपाबाट उम्मेदवार भई पराजित भएका थिए । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको केही अगाडि मात्र उनी जनमत पार्टीमा प्रवेश गरेका थिए ।

अर्का प्रदेशसभा सदस्य महेश द्वन्द्वकालदेखि नै माओवादीमा थिए । ०७४ को निर्वाचनमा उनी सप्तरी–२(२) बाट माओवादीको उम्मेदवार भए पनि पराजित भएका थिए । यसपटक माओवादीले उक्त क्षेत्रबाट पूर्वमन्त्री उमेश यादवलाई उम्मेदवार बनाएपछि मनोनयनको अघिल्लो राति जनमत पार्टीमा प्रवेश गरेका हुन् । सप्तरीबाट नै निर्वाचित शम्भुकुमार साह र सिरहाबाट निर्वाचित सञ्जयकुमार यादव तथा त्रिभुवन साह स्वराज आन्दोलनदेखि नै राउतका सहकर्मी हुन् ।

प्रकाशित : मंसिर १८, २०७९ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?