वीरगन्ज कारागारका ३० प्रतिशत कैदी लागूऔषध मुद्दाका

शंकर आचार्य

पर्सा — देशकै पुरानो तथा अत्यधिक भीडभाड रहने गरेको वीरगन्ज कारागारमा कूल कैदीबन्दीको झन्डै ३० प्रतिशत कैदीबन्दी लागूऔषध मुद्दाकै छन् । बुधबारसम्म कारागारमा कूल १ हजार ४ सय ५९ कैदीबन्दी रहेकोमा ती मध्ये ५ सय ४२ कैदीबन्दी लागूऔषध मुद्दाकै हुन् ।

वीरगन्ज कारागारका ३० प्रतिशत कैदी लागूऔषध मुद्दाका

वीरगन्ज कारागार कार्यालयको तथ्यांक अनुसार लागू औषध मुद्दाका ५ सय ४२ कैदीबन्दीमध्ये ४ सय ३७ स्वदेशी र १ सय ५ विदेशी हुन् । विदेशीमा सबै भारतीय नागरिक हुन् । स्वदेशीमध्ये १ सय ६१ कैदी र २ सय ७६ थुनुवा हुन् । तीमध्ये १ सय ५३ पुरुष कैदी र २ सय ६४ पुरुष थुनुवा छन् । महिलातर्फ ८ कैदी र १२ थुनुवा छन् ।

विदेशीमा १ सय ५ कैदी बन्दीमा ५७ कैदी र ४८ थुनुवा छन् । तीमध्ये पुरुष तर्फ ५३ पुरुष कैदी र ४७ पुरुष थुनुवा छन् । महिला तर्फ ४ कैदी र १ थुनुवा छन् ।

लागूऔषध ढुवानी तथा तस्करीका लागि वीरगन्ज तथा यसको छेउछाउको ग्रामीण भेगका नाकाहरु मुलुककै मुख्य नाका मानिन्छ । मुलुकको सर्वाधिक आयात निर्यात हुने नाका लागूऔषध ढुवानीको परम्परागत ट्रान्जिटको रुपमा बदनाम रहेको छ ।

भारतमा प्रतिबन्धित नभएका तर नेपालमा प्रतिबन्धित नुरफिन, फेनारगन, डाइजेपाम जस्ता औषधि बोकेर आउनेहरु प्रायजसो वीरगन्ज तथा छेउछाउका नाकाहरुबाट पक्राउ परी रहेका हुन्छन् । प्रतिबन्धित यी औषधि नेपालमा नियन्त्रित लागूऔषध भनिन्छ । यस्ता औषधिको ढुवानीकर्ताहरु प्राय: केही अवधिको जेल सजाय काट्छन् । तैपनि निरुत्साहित हुँदैनन् । कारोबारीहरुले यो नाकाबाट भित्र्याउने लागूऔषध विभिन्न जिल्ला हुँदै राजधानी काठमाडौंसम्म पनि पुर्‍याउँछन् ।

दैनिकजसो वीरगन्जबाट पैदल रक्सौल पुगेर लागूऔषध सेवन गरेर फर्किने दुर्व्यसनीहरु प्रशस्त हुन्छन् । यसरी भारतमै लागूऔषध सेवन गरेर फर्कनेहरुले पनि थोरबहुत लागूऔषध बोकेर ल्याउँछन् । कतिपयले यसरी ल्याउने लागूऔषध बिक्री समेत गर्छन् ।

पक्राउ पर्ने अधिकांशमा १८ देखि २४ वर्ष उमेर समूहका युवा हुन्छन् । तीमध्ये पनि अधिकांश पर्साभन्दा बाहिरी जिल्लाका हुन्छन् । नेपालमा नियन्त्रित लागूऔषध भनिने औषधिहरु सीमावर्ती भारतीय सहर रक्सौलका औषधि पसलहरुमा खुलेआम बिक्री हुन्छन् । पर्सा जिल्लामा हाल लागूऔषध गाँजाको खेती नगन्य मात्रामा रहेको तर छिमेकी जिल्ला मकवानपुरको विकट पहाडी गाउँहरुमा अझै पनि गाँजा खेती भइरहेकाले कारोबारीले त्यहाबाट गाँजा ल्याई पर्साको बाटोबाट भारतसम्म लग्ने गरेका छन् । बेलाबेलामा नेपालबाट भारत फर्कने मालबाहक सवारी साधन, इन्धन बोक्ने ट्यांकर आदिबाट पनि गाँजा बरामद हुने गरेको छ ।

वीरगन्ज कारागार कार्यालयका सूचना अधिकृत नवराज बर्तौला भारतसँगको खुल्ला नाका भएको कारण लागूऔषध कारोबारीहरुले वीरगन्ज नाका बढी प्रयोग गर्ने गरेको र त्यसै क्रममा पर्सामा दैनिकजसो लागू औषध ढुवानीकर्ताहरु पक्राउ पर्ने गरेको हुन सक्ने बताउँछन् । साथै छिमेकी जिल्ला बारामा कारागार नरहेकाले त्यहाँ पक्राउ पर्ने लागूऔषध मुद्दामा पक्राउ पर्नेहरुलाई पनि वीरगन्ज कारागार पठाइने गरिएकाले पनि यो कारागारमा लागूऔषध मुद्दाका कैदीबन्दीको संख्या बढी भएको हुन सक्ने उनले बताए ।

प्रकाशित : मंसिर १७, २०७९ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?