तोकआदेशमा कर्मचारी भर्ना

अवधेशकुमार झा

राजविराज — गत जेठ ९ बाट जिम्मेवारी सम्हालेका नगर प्रमुख भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन् । अख्तियारले राजविराजको राजरंगशाला स्तरोन्नति योजनामा अनियमितता गरेको आरोपमा निर्माण कम्पनीको सञ्चालकका रूपमा उनीविरुद्ध गत असार २९ मा मुद्दा दायर गरेको थियो ।

तोकआदेशमा कर्मचारी भर्ना

त्यसपछि उपप्रमुख इसरत परविण कार्यवाहक नगर प्रमुख भएकी छन् । उनले हालसम्म ३ जनालाई आफ्नो तोक आदेशमा दैनिक ज्यालादारीमा नियुक्ति दिएकी छन् । राजविराज–१ की इशा परविणलाई असोज ४ मा, मोहम्मद सलाउद्दिनलाई असोज ९ मा र राजविराज–२ का हरिनारायण साहलाई असोज ११ मा उनले नियुक्ति दिएको पालिकाको प्रशासन शाखाले जनाएको छ ।

निशा परविणलाई कम्प्युटर अपरेटरमा नियुक्ति दिएको छ । उनलाई दैनिक १ हजार ९६ रुपैयाँ तलब दिइने गरिएको छ । तर, उनी कार्यवाहक प्रमुख परविणको नवजात शिशुको स्याहारमा खटिएकी छन् । यस्तै सलाउद्दिनलाई कार्यालय सहयोगीको नियुक्ति दिइएको छ । उनी दैनिक सात सय रुपैयाँ पाउँछन् । हरिनारायण साहलाई भने सहायकस्तरको पाँचौं तहमा नियुक्ति दिइएको छ । उनी दैनिक १ हजार १ सय ५७ रुपैयाँ पाउँछन् । आफ्नै तोकआदेशमा ३ जनालाई नियुक्ति दिएको कार्यवाहक नगरप्रमुख परविणले स्विकारिन् । ‘पदमा गएपछि सुरक्षा चाहिन्छ,’ उनले भनिन्, ‘मैले आफ्नो सुरक्षाका लागि कर्मचारी भर्ना गरेकी हुँ ।’ उनले आफूलाई कसरी असुरक्षा छ भन्नेबारे खुलाउन चाहिनन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले पनि आफूखुसी एक जनालाई तोकआदेशकै भरमा नियुक्त गरेका छन् । महोत्तरीको भंगहा–८ धरमपुर घर भएका रत्नमणिलाल कर्णलाई हेल्थ असिस्टेन्ट पदमा नियुक्ती दिइएको हो । दैनिक १ हजार १ सय ५७ रुपैयाँ पाउने गरी नियुक्त गरिए पनि नगरपालिकाकै स्वास्थ्य शाखालाई जानकारी छैन ।

कर्णले प्रमुख प्रशासकीय अधिकृत सोनुको स्वकीय सचिवका रूपमा काम गर्ने गरेको एक कर्मचारीले बताए । ‘हो मैले तोकआदेशकै भरमा एक जनालाई नियुक्ति दिएको हो । गल्ती हो बुझ्दै छु,’ अधिकृत सोनुले भने, ‘यहाँ यस्तै चलन देखियो ।’ सोनु २०७९ भदौ ५ मा राजविराजको प्रमुख प्रशासकीय अधिकृत बनेका थिए ।

प्रशासन शाखाका अनुसार स्थानीय चुनावअगावै २०७८ चैत १६ देखि गत भदौ ४ सम्म प्रमुख प्रशासकीय अधिकृत रहेका भोगेन्द्र यादवको तोकआदेशकै भरमा पनि कर्मचारी नियुक्त गरिएको थियो । त्यतिबेला यादवले नौसाद अली, सुरज कार्की, श्यामनारायण यादब, जगदेब यादव, राजेशकुमार दास, प्रदीपकुमार यादवलाई कर्मचारीको नियुक्ति दिएका थिए ।

नौसादलाई कम्प्युटर अपरेटरमा दैनिक १ हजार ९६ रुपैयाँ, सुरजलाई चालकमा दैनिक ८ सय, श्यामनारायणलाई कम्प्युटर अपरेटरमा दैनिक १ हजार ९६ रुपैयाँ पाउने व्यवस्था गरिएको थियो । यस्तै, जगदेवलाई सर्वेक्षकमा दैनिक १ हजार ९६ रुपैयाँ, राजेशलाई कम्प्युटर अपरेटरमा १ हजार ९६ रुपैयाँ र प्रदीपलाई ६ सय ४० रुपैयाँ दिइने गरिएको थियो । पालिकामा यति धेरै नियुक्ति तोकआदेशकै भरमा हुँदा कार्यपालिका सदस्यहरू भने अनभिज्ञ छन् । वडा नम्बर ४ का अध्यक्ष दिनेशकुमार साहले यस्ता नियुक्तिबारे जानकारी नभएको बताए ।

‘हामीलाई थाहै दिइँदैन, कसरी नियुक्ति भयो, कसले र कुन प्रक्रियावाट गरे थाहै दिएन,’ उनले भने । यस्ता कर्मचारी पालिकाका लागि तत्काल आवश्यक नभएको स्वयं प्रमुख प्रशासकीय अधिकृत सोनुको भनाइ छ । ‘अहिलेको दैनिक ज्यालादारीमा दिइएको नियुक्तिको कुनै जरुरी छैन,’ उनले भने, ‘यो नगरपालिकामाथि अनावश्यक व्ययभार हो । आफ्ना मान्छेलाई ज्यालादारीमा भर्ना गर्ने विगतकै चलनको निरन्तरता छ । मैले पनि एक जना नियुक्त गरेँ ।’

प्रकाशित : मंसिर १७, २०७९ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?