सुरुंगा बालविवाहमुक्त पालिका

राजविराज — सप्तरीको सुरुंगा नगरपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको छ । कदमाहामा बुधबार एक कार्यक्रमका बीच नगरपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको हो । बालविवाहमुक्त घोषणा हुने सुरुंगा मधेस प्रदेशकै पहिलो पालिका हो । नेपालको कानुनले विवाह गर्ने उपयुक्त उमेर २० वर्षलाई तोकेको छ ।

सुरुंगा बालविवाहमुक्त पालिका

बालविवाहमुक्त क्षेत्र घोषणा गर्न गरिएका विभिन्न कार्यक्रम र अभियानका क्रममा स्पष्ट सूचक प्राप्त भएकाले त्यसकै आधारमा यस्तो घोषणा गरिएको नगर प्रमुख गीता चौधरीले बताइन् । उनका अनुसार पालिकामा बसोबास गर्दै आएका विभिन्न समुदायका प्रतिनिधि, पुरोहित, मौलाना, मायनजन, जवार, मौल्बी, दुरालगायतले पालिकामा बालविवाह हुन नदिने प्रतिबद्धता जनाएका छन् । अभिभावकले समेत सन्तानको बालविवाह नगर्ने, नगराउने, कतै भए भोजभतेरमा समेत सामेल नहुने बताएका छन् । विद्यालय नजाने बालबालिकाको समेत जन्म दर्ता बनाउन पनि अभिभावक सहमत भएका छन् ।

वडा तथा पालिकास्तरमा यसअघि नै बालविवाहका घटनाको उजुरी र सम्बोधन गर्न संयन्त्र निर्माण गरिएको छ । समुदायमा आधारित निगरानी समूहहरू आ–आफनो टोल समुदायमा बालविवाह रोक्न सक्रिय छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माका अनुसार सन् २०१९ मा पालिकाभर २ सय ४१ जनाको विवाह भएकोमा १३ जना १८ वर्षमुनि र २१ जना २० वर्षमुनिका थिए । सन् २०२० मा भने बालविवाह गर्नेको संख्या घटेको देखिन्छ । त्यस वर्ष ३ सय १८ जनाको विवाह हुँदा १८ वर्षमुनिका ७ जना, २० वर्षमुनिका ३ जना थिए । सन् २०२१ मा पालिकाभर १ सय ४ जनाको मात्रै विवाह भएको रेकर्ड छ । जसमध्ये १८ वर्षमुनिका ६ जना र २० वर्षमुनिका २ जना थिए । यो वर्ष (सन् २०२२) विवाह गर्नेको संख्या उल्लेख्य मात्राले बढे (३३५ जना) पनि बालविवाह गर्ने १ जना मात्रै रहेको शर्माले जानकारी दिए ।

बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, सामाजिक तथा आर्थिक समस्याका बारेमा सचेतना फैलाइएकाले त्यसको सकारात्मक प्रभावस्वरूप सानै उमेरमा विवाह गर्नेको संख्या निकै कम भएको उनको भनाइ छ । अहिले पनि विद्यालयदेखि टोल, समाज सबैतिर बालविवाहविरुद्धको अभियान सञ्चालनमा छ । ‘घोषणा त भयो तर यसलाई कायम राख्न सबै पक्षको सहयोगको उत्तिकै अपरिहार्य छ,’ कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद तेजुलाल चौधरीले भने ।

प्रकाशित : मंसिर १६, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?