अनुगमन छल्न औषधि पसल बन्द


राजविराज — औषधि व्यवस्था विभागबाट अनुगमन टोली आएको खबर पाएसँगै राजविराज क्षेत्रका औषधि पसल बन्द गर्दै सञ्चालक सम्पर्कविहीन बने । विभागको विराटनगरस्थित कार्यालयबाट अनुगमन टोली आएको सुनेपछि औषधि पसलेहरूको भागाभाग भएको हो । विभागको टोली मंगलबार साँझ अनुगमन गर्न पुगेको थियो ।
‘एक–दुई वटा पसल छिर्न नपाउँदै राजविराजका अधिकांश पसल बन्द भए,’ अनुगमन टोलीका प्रमुख फार्मेसी अधिकृत टेकेन्द्र मिश्रले भने, ‘अनुगमन टोली आउनेबित्तिकै पसल बन्द गरेर भाग्नुको मतलब राजविराजका औषधि पसलमा समस्या र विकृति छ ।’
पसल दर्ता भए–नभएको, गुणस्तरीय औषधि र भण्डारण राम्रो रहे–नरहेको र सरकारले प्रतिबन्धित गरेका औषधि राखेको लगायतका विषयमा छानबिन गर्न अनुगमन टोली आएको थियो । ‘पसलै बन्द गरेर सञ्चालक फरार भए ।
राजविराजका औषधि पसलहरूको अनुगमन गर्न सकेनौं,’ मिश्रले भने, ‘सोमबार पनि सप्तरीकै बोदेवरसाइनमा अनुगमन गरेकोले त्यहाँबाट सूचना चुहिएको हो ।’ उनले यहाँ पुनः अनुगमन गरिने बताए । स्रोतका अनुसार राजविराजमा रहेका अधिकांश औषधि पसलहरू मापदण्डविपरीतका छन् ।
यस्तै औषधि बिक्री गर्ने अनुमति पाएका भन्दा फरक व्यक्तिले पसल सञ्चालन गरिरहेकाले अनुगमनबाट डराएर सञ्चालक भागाभाग गरेको एक औषधि व्यवसायीले बताए ।
यसअघि पनि राजविराजमा औषधि पसल अनुगमन गर्न टोली आउँदा पसल बन्द गरेर भागाभाग भएको थियो । सञ्चालकमध्ये केहीले सँगै क्लिनिकसमेत राखेको र धेरैजसो क्लिनिकहरू मापदण्डविपरीत छन् । यसका अतिरिक्त राजविराजमा बग्रेल्ती खुलेका प्याथोलोजी सेन्टरहरूसमेत अनुमति नलिएका र मापदण्डविपरीतका छन् ।
‘अनुगमन गर्न आउँदा पसल बन्द गरेर भाग्दा सिल पनि गर्न मिल्दैन,’ मिश्रले भने, ‘अब प्रहरीसमेतको सहयोग लिएर अनुगमन गरिनेछ । मापदण्डविपरीत गर्नेलाई कारबाहीको दायरामा ल्याइनेछ ।’
प्रकाशित : मंसिर १५, २०७९ ०८:१७