१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

गहुँलाई मल अभाव

अवधेशकुमार झा

राजविराज — गहुँ छर्ने सिजनमा मल अभाव भएको भन्दै सप्तरीका पालिका प्रमुखहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार ज्ञापनपत्र बुझाउँदै १८ वटा पालिकाका प्रमुखहरूले आवश्यक मात्रामा रासायनिक मलको व्यवस्था गरिदिन माग गरेका छन् । 

गहुँलाई मल अभाव

सप्तरीमा ८१ हजार ६ सय ६८ हेक्टर जग्गा खेतीयोग्य छ । उक्त जग्गामा खेती गर्न वर्षभरिमा २३ हजार ८ सय ५७ दशमलब १५ मेट्रिक टन युरिया, १२ हजार ७ सय ८४ दशमलब १ मेट्रिक टन डीएपी, ९ हजार २४ मेट्रिक टन पोटास मल आवश्यक हुन्छ ।

तर पछिल्लो पटक कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडमा हिउँदेबालीका लागि ४ सय ९ दशमलब ६५ मेट्रिक टन डीएपी, २ सय ८३ दशमलब ७५ मेट्रिक टन युरिया र ८३ दशमलव ७ मेट्रिक टन युरिया आएको छ । जिल्लामा मौज्दात मलले किसानको आवश्यकता धान्न सक्ने अवस्था नरहेकाले तत्काल व्यवस्था गर्न प्रदेश र संघ सरकारलाई पालिका प्रमुखको आग्रह छ ।

मलको व्यवस्थापन हुन नसक्दा उत्पादनमा ह्रास भई किसानको लगानीसमेत उठ्न सक्ने अवस्था नरहेको ज्ञापनपत्रमा उल्लेख छ । आइतबार प्रशासनमा भएको बैठकमा पालिका प्रमुखहरूले रासायनिक मलको व्यवस्थापन स्थानीय सरकारले गर्न सक्ने अवस्था नरहेकाले सप्तरीमा खेतीयोग्य जग्गाको अनुपातमा मलको व्यवस्था गर्नुपर्ने बताए ।

‘अन्नको भण्डार सप्तरीमै रासायनिक मलको अभावमा उत्पादन घट्दै गएको छ,’ छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले भने, ‘किसानको समस्याप्रति संघीय सरकार गम्भीर हुनुपर्छ ।’ हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले मल उपलब्ध नभएर खेती प्रभावित भए यसको जिम्मेवारी प्रदेश र संघ सरकारले लिनुपर्ने बताए ।

सप्तरीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यहरू, पालिका प्रमुखहरू, स्थानीय प्रशासन र सरोकारवालाबीच बैठक भएको हो । मलको समस्या समाधानबारे छलफल गर्न आगामी दिनमा फेरि बैठक बस्ने जनप्रतिनिधिले जनाएका छन् ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?