श्रीमतीको हत्या आरोपमा पक्राउ


राजविराज — श्रीमतीको हत्या आरोपमा सप्तरीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१ रामपुरका हीरालाल रजक छन् । रकम हिनामिना गरेको भन्दै उनले शुक्रबार राति ४० वर्षीया श्रीमती गीतालाई टाउको र निधारमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान गीताको शव फेला परेको थियो । मृतकका बुबा गजानन्द रजकले आफ्नी छोरीलाई ज्वाईले नै हत्या गरेको किटानी जाहेरी दिएका छन् । हीरालालविरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट सात दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक सोधपुछका क्रममा उनले आफूले भारतको केरलाबाट कमाएर ल्याएको साढे चार लाख रुपैया र घरमा भएको गरगहना गिताले हिनामिना गरेको र सोही विषयमा बिबाद भई कुटपिट गरेको बताएको प्रहरी स्रोतले जनाएको छ ।
सप्तरीमै सोमबार राति एक जनाको घाँटी रेटी हत्या भएको छ । कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय पप्पु भनिने सञ्जय राउतको हत्या भएको जिल्ला प्रहरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए । सोमबार राति १० बजे आफ्नो घरबाट निस्केका राउत बिहानसम्म नफर्किएपछि परिवारले खोजी थालेको थियो ।
स्थानीयले राउतको घरदेखि डेढ सय मिटर उत्तरमा रहेको पोखरीमा घोप्टो अवस्थामा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । डीएसपी सिंहका अनुसार धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेसहित इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली पुगेर अनुसन्धान थालेको छ । थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर मगाइएको डीएसपी सिंहले जानकारी दिए ।
प्रकाशित : मंसिर १४, २०७९ ०७:४१