वीरगन्ज नाकाबाट ४ महिनामै अर्बौंको तेल निकासी

शंकर आचार्य

पर्सा — चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा वीरगन्ज नाकाबाट ३२ अर्ब रुपैयाँभन्दी बढीको भटमास, पाम र सूर्यमुखीको प्रशोधित तेलको निकासी भएको छ । गत आर्थिक वर्ष अवधिको यसै अवधिको तुलनामा यी तेलको निकासी अत्यधिक बढी हो । यी तेल भारत निकासी भएका हुन् ।

वीरगन्ज नाकाबाट ४ महिनामै अर्बौंको तेल निकासी

वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको अवधिमा यी तीनै तेलको उच्च निकासीको कारण यो नाका हुँदै सर्वाधिक निकासी हुने वस्तुहरुको सूचीमा भटमास र पाम तेल क्रमश पहिलो र दोश्रो नम्बरमा तथा सूर्यमुखीको तेल चौथो नम्बरमा रहेका छन् ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा यो नाकाबाट १७ अर्ब २० करोड ९० लाख रुपैयाँ बराबरको ७ करोड ५९ लाख किलो भटमासको तेल निकासी भएको छ । तुलनात्मक रुपमा गत आवको यसै अवधिमा ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ४ करोड ८२ लाख किलो भटमासको तेल निकासी भएको थियो ।

त्यसैगरी, समीक्षा अवधिमा यो नाका हुँदै १३ अर्ब ४० करोड रुपैयाँ बराबरको ७ करोड ६ लाख लिटर प्रशोधित पाम तेल निकासी भएको छ । गत आर्थिक वर्षको यस अवधिमा यो तेलको निकासी शून्य रहेको थियो ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म यो नाका हुँदै १ अर्ब ५८ करोड रुपैयाँ बराबरको ७९ लाख ५३ हजार किलो सूर्य मुखीको प्रशोधित तेल निकासी भएको छ । गत आवको यसै अवधिमा ११ करोड ४८ लाख रुपैयाँ बराबरको ८ लाख ५१ हजार किलो सूर्यमुखीको प्रशोधित तेल निकासी भएको थियो ।

भारतले आफ्नो मुलुकका उद्योगले आन्तरिक बजारको माग धान्न नसक्ने अवस्था आएपछि छिमेकी मुलुकहरुबाट पाम आयल, भटमास तेल, बनस्पति घिउ आदिको आयात खुल्ला गर्छ । फेरी आफ्ना मुलुकका उद्योगी व्यवसायीको दबाबमा अचानक यस्ता वस्तुको आयात रोक्ने गर्छ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल नेपाली उद्योगीहरुले विभिन्न मुलुकबाट भटमास, पाम र सूर्यमुखीको कच्चा तेल आयात गरी त्यसलाई प्रशोधन गर्ने गरेको बताउँछन् । भारत बाहेक कुनै महिनामा थोरै परिमाणमा जर्मनी लगायत युरोपेली मुलुकमा भटमासको तेल निकासी भए पनि त्यो न्युन परिमाणमा हुने गरेको छ ।

प्रकाशित : मंसिर १२, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?