सवारीको ठक्करबाट व्यापारीको मृत्युपछि स्थानीयले गरे प्रदर्शन

शिव पुरी

रौतहट — मर्निङ वाकमा निस्केका गरुडाका एक व्यापारीको सोमबार सवारीको ठक्करबाट मृत्यु भएको छ । दुर्घटनापछि पीडितका आफन्तले दिनभर गरुडामा चक्काजाम गरे ।

सवारीको ठक्करबाट व्यापारीको मृत्युपछि स्थानीयले गरे प्रदर्शन

यस क्रममा सुरक्षाकर्मी र स्थानीयहरूबीच केही बेर तनाब उत्पन्न भएको थियो । दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले गरुडा–चन्द्रनिगाहपुर खण्ड अवरुद्ध पारेपछि दिनभरजसो सवारी रोकिए । केही बेरअघि सवारी पुन: सुरु गर्दै सुरक्षा अधिकारीसँग पीडित पक्षले वार्ता सुरु गरेका छन् । ठक्कर दिने सवारी पहिचान हुन नसकेपछि स्थानीयहरू थप आक्रोसित बनेका हुन् ।

सवारीको ठक्करबाट गरुडा नगरपालिका–४ का ४८ वर्षीय व्यापारी राजनारायण साहको मृत्यु भएको थियो । साह बिहान नियमित मर्निङ वाकमा जाने गर्थे । त्यही बेला सवारीले ठक्कर दिएको स्थानीयले बताएका छन् ।

घटनापछि गरुडाका नगरप्रुमख कन्थमणि जैसवालले पीडितलाई न्याय दिनुपर्ने र घटनाको सत्यतथ्या पत्ता लगाई दोषी चालकलाई कारबाही गर्नुपर्ने बताए । ठक्कर दिएपछि समयमै उपचार हुन नसकेकाले साहको मृत्यु भएको पीडित परिवारको आरोप छ ।

घटनालगत्तै पीडित र स्थानीय मिलेर सडक जाम गरेका थिए । त्यस क्रममा सदरमुकाम गौर र चन्द्रनिगाहपुरबाट जाने सबै सवारी रोकिएको थियो ।

जल्ला प्रहरी प्रवक्ता डीएसपी सुनील मल्लले ठक्कर दिने सवारीको पहिचान हुन नसकेको बताए । ‘हामी बस, ट्रक, ट्याक्टर, मोटरसाइकल वा कुन सवारीले ठक्क दिएको हो भन्ने पत्ता लगाउने काममा नै लागेका छौं,’ उनले भने, ‘घटनाबारे अनुसन्धान जारी छ ।’

ठक्कर दिने सवारी पहिचान नभएपछि स्थानीय आक्रोसित बनेका हुन् । केही स्थानीयले बसले ठक्क दिएको भने पनि त्यसको अझै पहिचान हुन सकेको छैन । अहिले त्यस क्षेत्रको अवस्था समान्य बने पनि ठक्कर दिने सवारी पहिचान नभए पीडितहरूले थप आन्दोलन गर्ने स्थानीय सुुरज साहले बताए ।

प्रकाशित : मंसिर १२, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?