कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विवाहोत्सवले भरिभराउ जनकपुर

राम–सीताको वैवाहिक विधि सोमबार, श्रद्धालुलाई खानबस्नको समस्या
श्यामसुन्दर शशि

जनकपुर — राम–जानकी विवाहोत्सव मनाउन आएका श्रद्धालुले जनकपुर भरिभराउ भएको छ । सोमबार हुने विवाहोत्सवमा सहभागी हुन देशभित्रै र भारतबाट श्रद्धालु आउने क्रम जारी छ ।

विवाहोत्सवले भरिभराउ जनकपुर

श्रद्धालुले जनकपुरको गोपाल र पगलाबाबा धर्मशालालगायत अन्य साना धर्मशाला र होटल भरिभराउ छ । उनीहरूलाई विश्रामका लागि रंगभूमि मैदानमा पण्डाल निर्माण गरिएको छ । कैयौं श्रद्धालु स्थानीयको घरको बरन्डा, खुल्ला चौर, राम मन्दिरको अगाडिको बर्साती र कम्पाउन्डमा बास बसेका छन् । उनीहरूका लागि रंगभूमि मैदानमा अस्थायी शौचालय तथा खानेपानीको व्यवस्था मिलाइएको छ । तर, नगरभित्र स्थायी र अस्थायी शौचालयको कमी हुँदा उनीहरू नियमित कर्म र खानेपानीका लागि सास्ती भोगिरहेका छन् ।

विवाह पञ्चमीमा सहभागी हुन आउने भारतीयका लागि नेपाल रेल्वेको सेवा अहिले दैनिक चार पटक पुर्‍याइएको छ । अरू समयमा दैनिक दुई पटक जयनगर–जनकपुर–कुर्था रेल ओहोरदोहोर गर्ने गरेको थियो । यस्तै, भारतीय नाका जटही र भिठ्ठामोडबाट पनि भारतीयहरू जनकपुर भित्रिएका छन् । आइतबार बिहान १० बजे रेलबाट जनकपुर आएका भारत, दरभंगाका महाजन महतो जनकपुरको भानुचोकमा सार्वजनिक शौचालय नभेट्दा हैरान थिए । झन्डै २० जनाको टोलीमा आएका महतो सस्तो धर्मशाला खोज्दै थिए । ‘सबैजना होटल र लजमा बस्ने हैसियतका हुँदैनन् । हामीजस्ताका लागि नगरपालिकाले शौचालय र खानेपानीको व्यवस्था गरिदिँदा राम्रो हुन्थ्यो,’ उनले भने ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव विवाह महोत्सवमा करिब १० लाख श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको बताए । कोरोना महामारीपछि पहिलो पटक विवाहोत्सव आयोजना हुन लागेको हो । महन्त दासले श्रद्धालुहरूको आवास र भोजनका लागि सरकारी, गैरसरकारी संघसंस्थासँगै जनकपुरवासीलाई सहयोग गर्न आग्रह गरे । ‘सीता जनकपुरकी छोरी हुन् । छोरीको विवाहमा सहभागी हुन आउने सबैको स्वागत गर्ने जिम्मेवारी नगरवासीकै हो,’ उनले भने । बुधबार नगर दर्शनसँगै सुरु भएको साताव्यापी रामजानकी विवाह महोत्सवको दोस्रो दिन बिहीबार फूलबारी लीला भएको थियो । शुक्रबार धनुष यज्ञ तथा शनिबार तिलकोत्सव आयोजना भएको थियो ।

महोत्सवको पाँचौं दिन आइतबार सन्ध्या मटकोर गरियो भने सोमबार अपराह्न सीता स्वयंवर तथा राति राम र सीताबीच मिथिला परम्पराअनुसार विवाह हुनेछ । मंगलबार जन्तीलाई भोजन (रामकलेवा) खुवाएर महोत्सव सम्पन्न हुनेछ । विवाह पञ्चमीका दिन जनकपुरस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजासहित लावा–लस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम गरिन्छ ।

प्रकाशित : मंसिर ११, २०७९ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?