विजय र्‍यालीको विवादले राजमार्ग अवरुद्ध- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विजय र्‍यालीको विवादले राजमार्ग अवरुद्ध

भरत जर्घामगर

सिरहा — विजय र्‍यालीमा सहभागी एमाले कार्यकर्ताले निकटतम प्रतिद्वन्द्वी माओवादीका विश्वनाथ साहका दाइको घरमा ढुंगामुढा गरेको विरोधमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग ८ घण्टापछि खुलेको छ । घटनामा संलग्नलाई कारबाही गर्ने सहमतिपछि राजमार्ग खुलेको हो । 

सिरहा–३ बाट प्रतिनिधिसभामा निर्वाचित लीलानाथ श्रेष्ठको विजय र्‍यालीमा सहभागी एमाले कार्यकर्ताहरूले शुक्रबार साँझ साहका दाइको घरमा ढुंगामुढा गरेका थिए । त्यसैको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्ड अवरुद्ध पारिएको थियो । राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन पूर्वतर्फ कसहा र पश्चिमतर्फ चोहर्वामा रोकिएका थिए । गोलबजार नगरका पूर्वप्रमुख देवनाथ साहको गोलबजार नगरपालिका–४ स्थित घरमा ढुंगामुढा भएको हो । एक जनालाई कुटपिट पनि गरेको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरूले शनिबार बिहानदेखि राजमार्ग अवरुद्ध पारेका थिए ।

एमाले कार्यकर्ताहरूले ढुंगामुढा गर्दै झ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरेका थिए । टाउकोमा चोट लागेका साहको गोलबजारस्थित लाइफ लंग अस्पतालमा उपचार भइरहेको छ । साहको टाउकोमा चार वटा टाँका लगाइएको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

एमालेका श्रेष्ठले सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार साहलाई १ हजार १ सय ८२ मतान्तरले पछि पार्दै जित हासिल गरेका थिए । निर्वाचित श्रेष्ठले विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनामा संलग्नलाई तत्काल पक्राउ र कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित : मंसिर ११, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

ढुंगामुढा गरेको विरोधमा सिरहा माओवादीको प्रदर्शन

भरत जर्घामगर

सिरहा — सिरहा निर्वाचन क्षेत्र नं ३ मा निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहितको विजय र्‍यालीमा सहभागी एमाले कार्यकर्ताहरूले शुक्रबार साँझ निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका विश्वनाथ साहका दाजुको घरमा ढुंगामुढा गरेपछि त्यसको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।


प्रदर्शनको क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्ड सडक अवरुद्ध पारिएको छ । राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन पूर्वतर्फ कसहा र पश्चिमतर्फ चोहर्वामा रोकिएका छन् । विरोधमा संलग्नहरूले बजार, पसल बन्द गराएका छन् ।

गोलबजार नगरका पूर्व मेयर देवनाथ साहको गोलबजार नगरपालिका–४ स्थित घरमा ढुंगामुढा र एक जनालाई कुटपिट गरेको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरूले शनिबार बिहानदेखि गोलबजार बन्द गरी सडक अवरुद्ध पारेका हुन् । देवनाथ पराजित उम्मेदवार विश्वनाथका दाजु हुन् ।

एमाले कार्यकर्ताहरुले ढुंगामुढा गर्दै झ्यालको सीसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरेको पनि स्थानीयहरूले बताए । टाउकोमा चोट लागेका साहको गोलबजारस्थित लाइफ लङ अस्पतालमा उपचार भइरहेको छ । घाइते साहको टाउकोमा चारवटा टाँका लगाइएको र उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

एमालेका श्रेष्ठले सत्ता गठबन्धन अन्तर्गत माओवादी केन्द्रका साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै आफ्नो जित निकालेपछि उन्मादमा एमाले कार्यकर्ताहरुले ढुंगामुढा गरेको माओवादी केन्द्र गोलबजारले आरोप लगाएको छ ।

शनिबार भएको प्रदर्शन रोक्नका लागि भने सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पहल भइरहेको बताए । साथै सडक खुलाउने विषयमा वार्ता भइरहेको उनले बताए ।

माओवादी केन्द्र सिरहाका जिल्ला इञ्चार्ज अजयशंकर नायकले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जितको उन्मादमा गरिएको गुण्डागर्दीको निन्दा र भर्त्सना गर्दै तत्काल घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको लागि स्थानीय प्रशासनसँग माग गरेका छन् ।

निर्वाचित उम्मेदवारको उपस्थितिमै उनका कार्यकार्ताले निजी घरमा ढुंगामुढा गर्दै रोक्न खोज्नेलाई कुटपिट गरिनु गुण्डागर्दी भएको औंल्याउँदै विज्ञप्तिमा अलोकतान्त्रिक र गुण्डागर्दी हर्कत बन्द गर्न आग्रहसहित लोकतान्त्रिक मूल्य मान्यता अनुसार चल्न सचेत गराइएको छ ।

प्रकाशित : मंसिर १०, २०७९ १४:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×