१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विजय र्‍यालीको विवादले राजमार्ग अवरुद्ध

भरत जर्घामगर

सिरहा — विजय र्‍यालीमा सहभागी एमाले कार्यकर्ताले निकटतम प्रतिद्वन्द्वी माओवादीका विश्वनाथ साहका दाइको घरमा ढुंगामुढा गरेको विरोधमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग ८ घण्टापछि खुलेको छ । घटनामा संलग्नलाई कारबाही गर्ने सहमतिपछि राजमार्ग खुलेको हो । 

सिरहा–३ बाट प्रतिनिधिसभामा निर्वाचित लीलानाथ श्रेष्ठको विजय र्‍यालीमा सहभागी एमाले कार्यकर्ताहरूले शुक्रबार साँझ साहका दाइको घरमा ढुंगामुढा गरेका थिए । त्यसैको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्ड अवरुद्ध पारिएको थियो । राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन पूर्वतर्फ कसहा र पश्चिमतर्फ चोहर्वामा रोकिएका थिए । गोलबजार नगरका पूर्वप्रमुख देवनाथ साहको गोलबजार नगरपालिका–४ स्थित घरमा ढुंगामुढा भएको हो । एक जनालाई कुटपिट पनि गरेको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरूले शनिबार बिहानदेखि राजमार्ग अवरुद्ध पारेका थिए ।

एमाले कार्यकर्ताहरूले ढुंगामुढा गर्दै झ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरेका थिए । टाउकोमा चोट लागेका साहको गोलबजारस्थित लाइफ लंग अस्पतालमा उपचार भइरहेको छ । साहको टाउकोमा चार वटा टाँका लगाइएको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

एमालेका श्रेष्ठले सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार साहलाई १ हजार १ सय ८२ मतान्तरले पछि पार्दै जित हासिल गरेका थिए । निर्वाचित श्रेष्ठले विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनामा संलग्नलाई तत्काल पक्राउ र कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित : मंसिर ११, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?