२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

जीर्ण भवनमा प्रहरी

वर्षायाममा चुहिने र सर्पको बिगबिगीसमे त हुँदा सुरक्षाकर्मी राम्रोसँग सुत्न पाउँदैनन्
शंकर आचार्य

पर्सा — नियमित मर्मतसम्भार नहुँदा पर्साको ठोरीस्थित इलाका प्रहरी कार्यालयको भवन जीर्ण बनेको छ । ठोरी गाउँपालिका–२ मा ५ बिघा ७ कट्ठा ८ धुर क्षेत्रफलमा फैलिएको इलाका प्रहरी कार्यालय परिसर तथा यसको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत सुरक्षाकर्मी सास्ती भोग्न बाध्य छन् । 

जीर्ण भवनमा प्रहरी

हाल यो कार्यालयमा ५ कोठे पुरानो कच्ची भवन, मेस र गोलघर छ । सबै भवन मक्किएर जीर्ण भइसकेका छन् । कार्यालय प्रमुखलगायत कर्मचारीको क्वार्टर भवनसमेत जीर्ण छ । वर्षायाममा चुहिने र सर्पको बिगबिगीसमेत हुँदा सुरक्षाकर्मी राम्रोसँग सुत्न पाउँदैनन् ।

‘पुरानो कच्ची भवनको छानो हावाहुरीले उडाउने र मक्किएको भवन लड्नेसमेत भयले वर्षायाममा ढुक्कसँग बस्न सक्दैनौं,’ एक प्रहरी अधिकृतले भने, ‘कतिबेला भवन लडेर थिच्ने हो त्रास भइरहन्छ ।’ हाल कार्यालयमा २१ जना प्रहरी कार्यरत छन् । ठूलो क्षेत्रफलमा फैलिएको तथा वनजंगलसँग जोडिएको कार्यालय परिसरमा बाउन्ड्री वालसमेत नरहेकाले वन्यजन्तुबाट आक्रमणको भयसमेत रहने गरेको ती प्रहरी अधिकारीले बताए ।

स्थानीय शिक्षक चिरन्जीवी सापकोटा शान्ति सुरक्षाको जिम्मेवारी वहन गरिरहेका सुरक्षाकर्मी कार्यरत भवन नै जीर्ण हुनु दुःखद भएको बताउँछन् । ‘सुरक्षाकर्मीको मनोबल उच्च हुने गरी उनीहरू काम गर्ने र बस्ने भवन चुस्तदुरुस्त हुनुपर्छ,’ उनले भने, ‘स्थानीय तहले पनि बर्सेनि केही बजेट बिनियोजन गरेर नयाँ भवन निर्माणमा तदारुकता देखाउनुपर्छ ।’

अर्का स्थानीय प्रकाश खनालले द्वन्द्वकालमा समेत माओवादीले क्षति नगरेर यहाँस्थित इलाका प्रहरी कार्यालयको अस्तित्व जोगाएर राखेको बताउँछन् । ‘द्वन्द्वकालमा जिल्लाका ग्रामीण भेगका अधिकांश प्रहरी चौकी माओवादीले ध्वस्त बनाएपनि यो कार्यालयको भवन भने क्षति नगरी जोगाएर राखेकाले ठोरी क्षेत्रमा प्रहरीको आवश्यकता र महत्त्व कत्तिको छ भनेर बुझ्न सकिन्छ,’ उनले भने, ‘यो कार्यालय भवन २०२५ सालअघिकै हो, त्यतिबेला नेपाली सेनाको कार्यालयका रूपमा रहेकाले अहिले पनि अधिकांश स्थानीयले यसलाई इलाका प्रहरी कार्यालय नभनेर ब्यारेक नामले सम्बोधन गर्छन् ।’ पछि सेना हटेपछि प्रहरीले यो भवन प्रयोग गर्दै आएको उनले बताए ।

कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री हुँदा ठोरीवासीले ज्ञापनपत्र बुझाएर इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माणका लागि बजेट विनियोजन गर्न माग गरेको खनाल बताउँछन् । त्यसअनुरूप ८७ लाख रुपैयाँ गृह मन्त्रालयले विनियोजन गरेर टेन्डरसमेत आह्वान गरेको उनले बताए । ‘हामी ठोरीवासीले त्यतिखेर इप्रकाको नयाँ भवन निर्माणका लागि गृहमन्त्रीलाई गुहारेर बजेट विनियोजनसमेत गराउन सफल भयौं,’ उनले भने, ‘तर मुलुक संघीय संरचनामा गएपछि उक्त टेन्डर प्रक्रिया नै तुहियो, त्यसपछि भवन निर्माणको प्रक्रिया पनि स्थगित भयो ।’

यो कार्यालयसँग ५ बिघा बढी जग्गा भएकाले प्रहरीले यहाँ इलाका प्रहरी कार्यालय मात्र नभई तालिम केन्द्रलगायत अन्य संरचना निर्माण गरेर पनि यसको सदुपयोग गर्न सक्ने खनाल बताउँछन् । कार्यालय प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले आफूले जिल्ला प्रहरी कार्यालयलाई इप्रकाको जीर्ण भवन र यहाँका समस्याबारे जानकारी गराइसकेको बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीले इप्रका ठोरीको नयाँ भवन निर्माणका लागि प्रहरी प्रधान कार्यालयलाई आवश्यक पत्राचार भइसकेको जानकारी दिए । तर केन्द्रबाट यसबारे अघि बढेको प्रक्रियाबारे आफू अनभिज्ञ रहेको उनले बताए ।

प्रकाशित : मंसिर १०, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?