पृथकतावादपछि राउतको संसदीय यात्रा

उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराए, दोहोर्‍याएर कोही नजित्ने सप्तरी–२ को इतिहास
अवधेशकुमार झा

(राजविराज) — ‘मधेसके बेटा सिके राउत, काठमाडौंमे किल्ला गाइर देतै’ (मधेसको छोरा सीके राउतले काठमाडौंमा किल्ला गाड्छ) । चुनावी प्रचारका क्रममा जनमत पार्टीले यो गीत बेस्सरी घन्काए । उनको चुनाव चिह्नलाई पिपही भनेर विपक्षीले खिसिट्युरी गरे पनि राउत भने मतदातासँग बेथिति, भ्रष्टाचार र अन्यायकै मुद्दामा मत मागिरहे ।

पृथकतावादपछि राउतको संसदीय यात्रा

नासामा कार्यरत राउत अमेरिकाबाट फर्केपछि मधेसलाई अलग राज्य बनाउनुपर्ने माग गर्दै पृथकतावादी अभियानमा लागे । त्यसक्रममा उनी धेरै पटक समातिए र राज्यविप्लवको मुद्दासमेत खेपे । केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला पृथकतावादको मुद्दा छोडेर एकाएक राजनीतिको मूलप्रवाहमा सक्रिय भएका उनी प्रतिनिधिसभा चुनावमा मधेसका ‘मसिहा’ कहलिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै सप्तरी–२ बाट विजयी भएका छन् । उनले ३५ हजार ४२ मत ल्याउँदा मधेस आन्दोलनबाट उदाएका यादवले १६ हजार ९ सय ७९ मत मात्रै पाए । सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४४ मत मात्र पाए । कुल ९५ हजार ३ सय ९४ मतदाता रहेको यो क्षेत्रमा ६४ हजार ५ सय ६० मत खसेको थियो ।

सप्तरी–२ मा हालसम्मका चुनावमा दोहोर्‍याएर कसैले पनि जितेका छैनन् । यो क्षेत्रमा तत्कालीन नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहपछि राष्ट्रिय अध्यक्ष पराजित भएको दोस्रो पटक हो । मोरङ र सुनसरीबाट निर्वाचित हुँदै ०७४ को निर्वाचनमा सप्तरी इन्ट्री गरेका यादव यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । पहिलो संविधानसभादेखि ०७४ को निर्वाचनसम्म निरन्तर संसद्मा रहेका यादवलाई यस पटक राउतले पूर्णविराम लगाइदिएका छन् ।

जसपाका अध्यक्ष यादवले ०७४ को निर्वाचनमा यस क्षेत्रबाट चुनिँदा २१ हजार ६ सय २० मत पाएका थिए । यस पटक उनले अघिल्लो निर्वाचनमा पाएको मत पनि जोगाउन सकेनन् । अघिल्लो निर्वाचनमा तत्कालीन राजपा र कांग्रेसको साथ पाएका उनले यस पटक एमालेसँग तालमेल गरेका थिए ।

०७४ मा स्वतन्त्र उम्मेदवारी दिएका जयप्रकाश ठाकुरलाई यस पटक पाँच दलीय गठबन्धनको मजबुत साथ भए पनि अघिल्लो पटक एक्लैले पाएको जति मत पनि ल्याउन सकेनन् । ०७४ मा ठाकुरले ९ हजार ४ सय ५८ मत पाएका थिए । यस पटक ७ हजार ३ सय ४४ मत मात्रै पाए ।

पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको जनमत पार्टीले प्रतिनिधिसभा र प्रदेशसभामा राम्रो नतिजा ल्याएको छ । युवा र न्यून आय भएका गरिब र दलित समुदायले राउतप्रतिको क्रेजले जनमत पार्टीका उम्मेदवारलाई मत आफ्नो पक्षमा पार्न सहज बनाइदियो । मनोनयनदेखि नै जनमतका कार्यकर्ताले राउतलाई विभिन्न समयमा पक्राउ गर्दाको भिडियो गरिब बस्तीमा प्रोजेक्टरमार्फत देखाएर आकर्षण बढाएका थिए ।

दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेहरू आफ्नो कर्म क्षेत्रमा पनि राउतको प्रचार गर्थे । हरेक निर्वाचन क्षेत्रमा जनमत पार्टीको प्रचार सामग्रीमा सम्बन्धित क्षेत्रका उम्मेदवारभन्दा राउतको तस्बिर ठूलो थियो । मुलुकभरिमै थोरै जनसंख्या रहेको राजधोब जातिका राउतप्रति यस निर्वाचनमा देखिएको आकर्षणले मधेसमा केही हदसम्म जातीय राजनीतिलाई समेत निरुत्साहित गरेको छ ।

प्रकाशित : मंसिर ९, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?