१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राम जानकी विवाह महोत्सव : फूलबारीमा सिया-पिया मिलन 

श्यामसुन्दर शशि

जनकपुर — राम जानकी विवाह महोत्सवको दोस्रो दिन बिहीबार फूलबारी लीला सम्पन्न भएको छ । राम र सीताबीच पहिलो मिलन फूलबारीमै भएको वर्णन विभिन्न धर्मग्रन्थमा छ । सात दिवसीय विवाह महोत्सवको क्रममा फूलबारी लीला विशेषरुपले मनाउने चलन छ ।

राम जानकी विवाह महोत्सव : फूलबारीमा सिया-पिया मिलन 

जानकी मन्दिरभन्दा उत्तरमा अवस्थित विवाह मण्डप अगाडिको फूलबारीमा सीता र रामबीच पहिलो मिलन गराइएको थियो । ‘सिया–पिया मिलन’ नाम दिइएको फूलबारी लीला हेर्न हजारौंको सहभागिता थियो ।महाकवि चन्दा झाले मिथिला भाषा रामायणमा राम–सीताबीचको पहिलो मिलनबारे लेखेका छन् ‘सीता रामचन्द्र मुख हेरी, अनिमिष–आँखी निमिष नहिं फेरि ।’ अर्थात् सीता र रामको पहिलो मिलन हुँदा अनन्तकालसम्म एकले अरुलाई हेरिरहे । फूल टिप्न फूलबारी गएकी सीता र गुरु विश्वामित्रको पूजा प्रयोजनका लागि सोही फूलबारीमा फूल टिप्न गएका रामको पहिलो मिलन हुँदा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव, छोटे महन्त रामरोशन दास वैष्णवसँगै उपस्थित श्रद्धालुहरु पुष्प वर्षा गरेर हर्ष बढाइँ गरेका थिए ।

फूलबारीमा रामसीता बीच प्रथम मिलन भइरहँदा मुख्य गायक (व्यास) महेन्द्र दास सुरिलो स्वरमा गाइरहेका थिए– ‘लागल जनकपुरमे मेला, देखेला मोरा मनमा करेला ।’ दासको यस प्रसङ्गलाई सिया–पिया मिलन समारोहको संज्ञा दिइन्छ । रातो कार्पेटमा आफ्ना सहेलीहरुसँग फूल टिपिरहेकी सीता र अनुज लक्ष्मणसँग फूलबारी घुम्न आएका रामबीच पहिलो मिलन भएको थियो ।

बुधबार नगर दर्शनसँगै प्रारम्भ भएको रामजानकी विवाह महोत्सवको दोस्रो दिन ‘फूलबारी लीला’ सम्पन्न भएको हो । ‘सखी फूल तोडय चलल फूलवरिया, सीताकेसँग सहेलिया’ गीतको धुनमा फूलबारी प्रवेश गरेकी सीता र रामबीच पहिलो मिलन हुँदा सीताको पिताका भूमिकामा रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव भावुक बनेका थिए– ‘छोरीको विवाह हुने भएपछि पिता भावुक भई हाल्छ नि...।’ महन्थ दासको प्रतिक्रिया थियो । जानकी मन्दिरका महन्थ सीतालाई छोरीको रुपमा माया गर्ने परम्परा छ । राम जानकी विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ जनकको रुपमा प्रस्तुत हुन्छन् ।

राम, लक्ष्मण, सीता तथा सहेलीहरुको स्वरुपमा सजिएका किशोर–किशोरीहरुले रामायण वर्णित कथा अनुसार अभिनय गरेर विवाह महोत्सवका विधिहरु सम्पन्न गरेका थिए । राम जानकीको विवाह भएको अवसर पारी मंसिर शुक्ल पञ्चमीको दिन सीताको जन्मस्थल जनकपुरधाममा प्रत्येक वर्ष विशेष महोत्सव आयोजन हुँदै आएको छ । मंसिर ७ गतेदेखि सुरु भएको विवाह महोत्सव मंसिर १३ गते रामकलेवासँगै सम्पन्न हुने छ ।

जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवका अनुसार– साताव्यापी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठो दिन विवाह महोत्सव तथा सातौ दिन रामकलेवाको आयोजना हुनेछ । विवाह महोत्सवको अवसरमा साधु सेवा समिति, स्थानीय युवा क्लवहरु, जानकी मन्दिर तथा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदलगायतले पनि सकृय भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?