प्रदेशसभामा जनमत र कांग्रेसका तीन निर्वाचित

राजविराज — प्रदेशसभाअन्तर्गत सप्तरीमा जनमत पार्टीले दुई वटा क्षेत्र जितेको छ । सप्तरी–२ (१) र (२) मा जनमत पार्टीका उम्मेदवार क्रमशः सतिशकुमार सिंह र महेशकुमार यादव विजयी भएका हुन् । सिंहले १६ हजार ७ सय ३४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी प्रदेशका अर्थमन्त्रीसमेत रहेका जसपाका शैलेन्द्रप्रसाद साहले ८ हजार २ सय ९२ मत पाए ।

सिंह गत स्थानीय तहको चुनावमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए । त्यतिबेला उनी लोसपाबाट उम्मेदवार थिए । उनी ०७४ को स्थानीय तह निर्वाचनमा सोही गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । शरदसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीबाट राजनीतिमा सक्रिय भएका सिंह तत्कालीन राजपाको जिल्ला अध्यक्ष थिए । सिंहका बुबा शेखरकुमार सिंह लोसपाका तर्फबाट राष्ट्रिय सभामा सांसद छन् ।
तत्कालीन राजपा र एमालेको गठबन्धनबाट सिंह राष्ट्रिय सभामा निर्वाचित भएका थिए । सप्तरी–२ (२) मा विजयी यादव माओवादीले टिकट नदिएपछि मनोनयनको अघिल्लो दिन जनमत पार्टीमा प्रवेश गरेका थिए । उनले पूर्वसिँचाइमन्त्री उमेश यादवलाई ६ हजार ३ सय २ मतान्तरले पराजित गरे । यादवले १३ हजार ३ सय २५ पाए । माओवादीका उमेशले ७ हजार २३ मत प्राप्त गरे ।
पर्सा २ (१) मा कांग्रेसका पटेल निर्वाचित
कांग्रेसका श्याम पटेल पर्सा–२ (१) बाट विजयी भएका छन् । जनता समाजवादी पार्टीका रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मतान्तरले पराजित गर्दै पटेल निर्वाचित भएका हुन् । उनले १३ हजार ७ सय ८४ मत ल्याए भने यादवले १२ हजार १ सय २७ मत पाए । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा पनि कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेसका राजेश्वरप्रसाद साह १० हजार २ सय ५९ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला पनि तत्कालिन संघीय समाजवादी फोरमबाट उम्मेदवार रहेका राम नरेश यादवले १० हजार ७९ मत ल्याएर पराजित भएका थिए ।
४६ वर्षीय पटेलले आफूले ठाकुरराम क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेको र यसै क्याम्पसको परिसरबाट जनप्रतिनिधि बनेर बाहिरिँदा खुसीसँगै चुनौती पनि थपिएको बताए । बहदुरमाई नगरपालिका पुर्ख्यौली घर भएका उनी ०६२/६३ को आन्दोलनको क्रममा करिब ३ महिना वीरगन्ज कारागारमा कैद सजाय भोगेका थिए । दुई पटक पर्सा कांग्रेस–२ को क्षेत्रीय सभापतिको जिम्मेवारी वहन गरिसकेका उनी पर्सा कांग्रेसको सचिवसमेत भएका थिए ।
प्रकाशित : मंसिर ७, २०७९ ०७:४८