१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मापदण्डविपरीतका साना सिलिन्डर बिक्री

शिव पुरी

रौतहट — जिल्लामा मापदण्डविपरीतका साना ग्यास सिलिन्डरको बिक्री फेरि बढेको छ । गत वर्ष स्थानीय प्रशासनले यस्ता सिलिन्डरको किनबेच रोक्न जिल्लाका विभिन्न बजारमा कडाइ गरेको थियो । पछिल्लो समय फेरि यस्ता साना सिलिन्डर खुलेआम सडक छेउमै राखेर बेच्न थालेका छन् ।

मापदण्डविपरीतका साना सिलिन्डर बिक्री

गौर–चन्द्रनिगाहपुर सडकको राजमार्ग छेउका पसलहरूमा मापदण्ड विपरीतका साना सिलिन्डर खुलेआम बिक्री हुँदै आएका छन् । पसल छेउबाटै सुरक्षा अधिकारीहरू ओहोरदोहोर गर्छन् तर व्यापारीले टेर्दैनन् ।

जिल्लाको सदरमुकाम गौर, शिवनगर, गरुडा, बिर्ता, चन्द्रनिगाहपुरलगायत बजारका किराना तथा भाडा पसल र ग्यासकै डिलरहरूमा साना सिलिन्डर बिक्री भइरहेको हो । बढी मुनाफा कमाउने उद्देश्यले व्यापारीले ठूला सिलिन्डरबाट सानामा ग्याससमेत भर्ने गरेका छन् । यसरी भर्दा निकै जोखिम हुन्छ । सुरक्षा मापदण्ड पूरा नगरी बनाइएका साना सिलिन्डर खतरायुक्त रहे पनि बजारमा लामो समयदेखि निर्बाध रूपमा बिक्री हुँदै आएका छन् । बिर्ताको प्रहरी चौकी अगाडि नै यसरी मापदण्ड विपरीतका सिलिन्डरहरू बेच्न राखेका छन् । उपभोक्ताको सुविधालाई मध्यनजर राखेर साना सिलिन्डर बिक्री गरेको ती व्यापारीले बताए । शिवनगरमा १ सय ५० रुपैयाँ प्रतिकेजीमा भारतीय सिलिन्डरमा ग्यास भर्ने गरेको पाइएको छ । खुला सीमाका कारण भारतबाट अवैध रूपमा ५ र २ किलोको साना सिलिन्डर भित्र्याएका हुन् ।

पछिल्लो समय स्थानीय प्रशासनले यस्ता सिलिन्डर बिक्री रोक्ने कुनै गतिविधि गरेको छैन । उपभोक्ताहरू सचेत नभएकाले व्यवसायीले साना सिलिन्डर बिक्री गरेको हुन सक्ने स्थानीय प्रशासनको भनाइ छ । जिल्ला प्रशासनका प्रशासकीय अधिकृत मनीष झाले बजारमा साना सिलिन्डर बिक्रीका लागि राखेको आफूले पनि देखेको सुनाए । ‘मापदण्डविपरीत छ भने बिक्री गर्न पाइँदैन । यस विषयमा हामी अनुगमन गर्छौं,’ उनले भने, ‘यसमा उपभोक्ताहरू पनि सचेत हुनुपर्छ ।’

प्रकाशित : मंसिर ६, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?