कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मतपेटिका लुटिएको ठाउँमा सुरक्षा सतर्कता

शिव पुरी

रौतहट — स्थानीय तह निर्वाचनमा मतपेटिका लुटेको घटना दोहोरिन नदिन प्रशासनले आसन्न निर्वाचनमा कडा सुरक्षा व्यवस्थाको योजना बनाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यमुनाईमा गाउँपालिका–२ स्थित भेडियाही मतदान केन्द्रमा स्थानीयले मतपेटिका लुटेर लगेका थिए ।

मतपेटिका लुटिएको ठाउँमा सुरक्षा सतर्कता

घटनापछि रौतहट प्रहरीको सर्वत्र आलोचना भएको थियो । त्यसैले यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा बनाउन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय गौरमा सुरक्षा अधिकारीको बैठकमा निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन कडाइका साथ सुरक्षा व्यवस्थाको सबै तयारी पूरा भइसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए ।

‘स्थानीय तह चुनावमा भएका केही प्राविधिक त्रुटि सच्याउँदै अब त्यस्तो गल्ती नदोहोरियोस् भन्दै मतदान केन्द्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाउनेछौं,’ उनले भने, ‘मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बेला कुनै पनि अराजक गतिविधि भएमा कडा एक्सन लिनेछौं । यस पटक सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन दिँदैनौं ।’ जिल्लामा २७६ स्थायी र दुई अस्थायी मतदान स्थल छन् । त्यस्तै ५२३ मतदान केन्द्र छन् । तीमध्ये १४९ मतदानस्थल अतिसंवेदनशील र १०१ संवेदनशील सूचीमा छन् ।

केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र म्यादीसहित ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ शाहीले बताए । कैदीका लागि कारागार र कर्मचारीका लागि प्रहरीको ब्यारेक मैदानमा दुईवटा अस्थायी मतदानस्थल थप गरिएको छ । प्रजिअ शाहीका अनुसार मतदान केन्द्रमा कुनै पनि असामान्य गतिविधि भएमा सुरक्षाकर्मीले गोली प्रहार गर्नसमेतको अधिकार दिइएको छ ।

मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी रहनेछन् । बाहिरी घेरामा सशस्त्र प्रहरी र सेनाले सुरक्षा दिनेछन् । मतदान केन्द्रहरूमा कमान्ड सम्हाल्न शुक्रबारबाट सुरक्षाकर्मी जान थालेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।

जिल्लाको उत्तरी भेगस्थित जुडिबेला, पौराई, गैंडाटार मतदान केन्द्रमा सुरक्षाथ्रेट बढी देखिने भएकाले सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । स्थानीय तह निर्वाचनमा मतपेटिका नै बोकेर स्थानीय भागेका थिए । घटनापछि प्रहरी प्रधान कार्यालयले तत्कालीन रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेसित स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित : मंसिर ३, २०७९ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?