वडाध्यक्षले च्यातिदिए सेवाग्राही एकल महिलाको सिफारिसपत्र - मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडाध्यक्षले च्यातिदिए सेवाग्राही एकल महिलाको सिफारिसपत्र 

सुनिता बराल

महोत्तरी — गौशाला नगरपालिका वडा नं. १२ अध्यक्ष कुशेश्वर सिंहले एकल महिलाले वडाबाट लिएको सिफारिस पत्र च्यातिदिएका छन् । सामाजिक सुरक्षा भत्ताको कार्ड बनाउन गएकी एकल महिलाको सिफारिस पत्र अध्यक्षले च्यातिदिएका पीडित महिलाले आरोप लगाएकी छिन् । 

एकल महिला भत्ताको कार्ड बनाउन सिफारिस गरिदिनु भन्दा वडाध्यक्षले श्रीमान्‌को मृत्यु भएको सिफारिस नै च्यातिदिएका पडरिया निवासी पीडित बिन्दा देवी राउतले बताइन् । राउतका श्रीमान् कैलाशको दुई वर्ष पहिले जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

श्रीमान्‌को मृत्युपश्चात् एकल महिला (विधुवा)को सामाजिक सुरक्षा भत्ता राज्यबाट पाउने व्यवस्था भएअनुसार बिन्दाले पनि बुझ्दै आएकी थिइन् । वडाबाट सुरक्षा भत्ताको कार्ड नबनेका कारण चालु आर्थिक वर्षमा उनले भत्ता पाउन सकेकी छैनन् । पटक-पटक भत्ता लिन जाँदा बैंकले नदिए पछि किन रोकिएको भनेर सोध्न जाँदा अध्यक्ष सिंहले 'तिमी मेरो पार्टीको भोटर हैन' भन्दै सिफारिस पत्र च्यात्तिदिएको राउतले बताइन् ।

वडाध्यक्ष सिंहले भने आफूले सिफारिस च्यातेको नभई आफूलाई आरोप लगाइएको दाबी गरे ।

जनप्रतिनिधिले नै एकल महिलासँग गरेको अभद्र व्यवहारप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिलि थापाले बताइन् । वडाध्यक्ष सिंहलाई आफूले गरेको गल्ती सच्याउन पीडित महिलालाई बोलाएर ३ दिनभित्र सिफारिस बनाइ कार्ड बनाई सामाजिक सुरक्षा भत्ता पाउने बाताबरण बनाइदिन अनुरोध गरिएको थापाले बताइन् ।

प्रकाशित : मंसिर १, २०७९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्

काभ्रेमा निर्वाचन क्षेत्रमा पठाइयो सामग्री र कर्मचारी

ज्योति श्रेष्ठ

काभ्रे — प्रतिनिधि र प्रदेशसभा निर्वाचन २०७९ का लागि काभ्रेमा निर्वाचन सामग्री ढुवानी कार्य सुरु गरिएको छ । निर्वाचनमा खटिने मतदान अधिकृतसहित कर्मचारी, मतपत्र र निवार्चन सामग्री सम्बन्धित मतदान केन्द्रमा पठाइएको जिल्लामा निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । 

कार्यालयका अनुसार काभ्रेका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री र कर्मचारी पठाइएको छ । काभ्रेको क्षेत्र नं. १ का १ सय ९५ वटा मतदान केन्द्रका लागि मतदान अधिकृतसहित कर्मचारी, मतपत्र र निवार्चन सामग्री पठाइएको क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नं. १ का अधिकांश दुर्गम क्षेत्रमा मतदान अधिकृतसहित कर्मचारी, मतपत्र र निवार्चन सामग्री पठाइसकेको र सहरी क्षेत्रमा सामग्री पठाउने कार्य जारी छ ।

त्यस्तै काभ्रेको क्षेत्र नं. २ मा रहेका २ सय मतदान केन्द्रका लागि मतदान अधिकृतसहित कर्मचारी, मतपत्र र निवार्चन सामग्री पठाउने कार्य जारी रहेको क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए । उनका अनुसार ८० प्रतिशत निर्वाचन सामग्री पठाइसकेको छ ।

आइतबार हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काभ्रेमा ३ हजार १ सय १२ कर्मचारी खटाइने निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश राईले जनाए । उनका अनुसार निर्वाचनमा १ हजार ५ सय ५६ स्वयंसेवक परिचालन गरिनेछ भने १ मतदान केन्द्रमा ८ कर्मचारी र ४ स्वयंसेवक परिचालन हुनेछन् । यसपटक कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिले समेत समानुपातिकतर्फ प्रदेशअन्तर्गत र प्रतिनिधिसभातर्फ मतदाता नामावलीमा सूचीकृत भएकाले मतदान गर्न पाउने भएपछि जिल्लामा ४ अस्थायी मतदान केन्द्रको व्यवस्थापन गरिने जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित : मंसिर १, २०७९ १५:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×