२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पर्सामा १५ हजार थान नमुना मतपत्रसहित भारतीय नागरिक पक्राउ 

शंकर आचार्य

पर्सा — सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी १५ हजार थान नमुना मतपत्रहरुसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण जिल्ला नरकटियागन्ज ग्राम पन्चायत वडा नं १४ घर भएका ४० वर्षीय इजाजत अहमद छन् । 

पर्सामा १५ हजार थान नमुना मतपत्रसहित भारतीय नागरिक पक्राउ 

सशस्त्र प्रहरीको भिखमपुर बीओपीबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापा मागरको कमाण्डको टोलीले नियमित जाँच गर्ने क्रममा जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित सडक खण्डबाट मंगलबार दिउँसो ३ बजेतिर अहमदलाई पक्राउ गरेको हो । भारतबाट बिआर २२ डब्लु ८००२ भारतीय नम्बरको मोटरसाइकल चढी नेपालतर्फ आउँदै गरेका अहमदले मोटरसाइकलमा पछाडिको सिटको भागमा हरियो रंगको बोरा शंकास्पद कागजपत्रहरु बोकी ल्याउँदै गरेका थिए । उक्त मोटरसाइकल रोकी इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले जाँच गर्दा बोरामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसन्बन्धी १५ हजार थान नमुना मतपत्रहरु फेला परेका थिए । मतपत्र र मोटरसाइकल बरामद गरी अहमदलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।

डिएसपी गिरीका अनुसार, पक्राउ परेका अहमदले नेपालमा उम्मेदवार रहेका एक व्यक्तिले भारतमा छपाएर निर्वाचनमा मतदातालाई आफ्नो चुनाव चिह्नमा मतदान गर्न सचेतनाका लागि उक्त नमुना मतपत्र छपाएको बताएका छन् । अहमदले ती उम्मेदवारको नाम भने नखुलाएको र यसबारे थप अनुसन्धान भइरहेको उनले बताए । ‘निर्वाचन आयोगले जारी गरेको तथा मतदान अधिकृतको आधिकारिक हस्ताक्षर भएको मतपत्रमात्र आधिकारिक हुने भएकाले यस्ता मतपत्रको आधिकारिकता हुँदैन,’ उनले भने, ‘हामी यसबारे थप अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित : कार्तिक ३०, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?