ब्याजदर वृद्धिविरुद्ध जनकपुरमा प्रदर्शन 

सन्तोष सिंह

धनुषा — जनकपुरका व्यापारीहरु बैंकले बढाएको ब्याजदरविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । राष्ट्र बैंकले नीतिगत दरमार्फत् ब्याजदर बढाएपछि जनकपुरधामका व्यवसायीहरू बजार बन्द गरी प्रदर्शनमा उत्रिएका हुन् । दोब्बर ब्याजले धान्नै नसक्ने अवस्था आएको भन्दै प्रदर्शनमा उत्रिएका व्यापारीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । 

ब्याजदर वृद्धिविरुद्ध जनकपुरमा प्रदर्शन 

जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा बिहीबार बैंक तथा वित्तीय समस्या समाधानार्थ व्यवसायीहरूले 'बैंकिङ आतंक बन्द गर', 'ब्याजदरमा स्थिरता कायम गर', 'चालु पुँजी निर्देशिका स्थगित गर', 'ब्याजदर एक अंकमा कायम गर', 'कर्जा ब्याजदर घटाउ' लेखिएका पम्पलेट बाेकेर जनकपुरमा प्रदर्शन गरेका छन् । ब्याजदर वृद्धिले व्यापार/व्यवसाय बन्द गर्ने अवस्था आएपछि आन्दोलित हुनु परेको उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयमा १२ बुँदे मागसहित ज्ञापनपत्र बुझाइएको महासेठले बताए । बैंकहरूको सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एल.सी.नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्त्य गरी गत वर्षभन्दा बढी नलिन माग गरिएको छ । कर्जाहरूलाई यस आर्थिक वर्षसम्म पुन:तालिकरण गरी ब्याज बुझाउने म्याद ३५ दिनसम्मलाई नियमित मान्ने र लिलामी गर्ने प्रक्रियालाई हाल स्थगित गर्नुपर्ने, बैंक र ऋणिबीच ऋणलाई नवीकरण गर्दा सहमति हुन नसकेको खण्डमा ऋण चुक्ता गर्ने समयसीमा साविककै दरमा १ वर्ष निर्धारण गर्नुपर्ने माग गरेका छन् ।

उद्योगलाई पुनर्उत्थान गर्नका लागि कोभिडकालमा भएको नोक्सानीलाई गणना र व्यवस्थापन गर्नुपर्नेलगायतका माग पनि उनीहरुले अघि सारेका छन् ।

प्रकाशित : कार्तिक २४, २०७९ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?