‘यमगज’ को काटियो दाह्रा

शंकर आचार्य

पर्सा — बिहीबार एक महिलाको ज्यान लिएको जंगली हात्ती ‘यमगज’ को दाह्रा काटिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनको प्राविधिक टोलीले शुक्रबार उक्त मत्तालाई डार्ट गरी दुवै दाह्रा काटेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक कुमार रामले जानकारी दिए ।

‘यमगज’ को काटियो दाह्रा

‘कोषको चितवन कार्यालयबाट आएको ४ जनाको चिकित्सक टोलीले निकुञ्जको अमलेखगन्जस्थित हात्तीसार शाखाको परिसरमा डार्ट गरी यमगजलाई घाइते बनाएको थियो,’ उनले भने, ‘उक्त जंगली हात्ती नियन्त्रणभन्दा बाहिर गएको र थप क्षति गर्न सक्ने भएको हुनाले विभागीय अनुमति अनुसार यो कारबाही गरिएको हो ।’

बिहान २ बजेर ५० मिनेटमा डार्ट गरी बिहान ४ बजेर ४५ मिनेटमा बेहोस पारी उक्त हात्तीको दाह्रा काटेपछि बिहान ५ बजेर १८ मिनेटमा होसमा आई उक्त हात्ती सकुशल प्राकृतिक बासस्थानमा गएको डा. रामले जानकारी दिए ।

करिब २ महिनाअघि पूर्वतर्फबाट सर्लाही, रौतहट र बाराको टांगीया बस्ती हुँदै पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेका तीन वटा भाले जंगली हात्तीमध्ये २ वटा हात्ती हलखोरिया टांगीया बस्ती तथा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १३ र १४ मा बिचरण गरी रहेका छन् । अर्को एउटा हात्ती ३ सातादेखि अमलेखगन्ज, आधाभार तथा पथलैयास्थित निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा बिचरण गरिरहेको छ ।

यसै क्रममा उक्त हात्तीले निकुञ्ज अन्तर्गत अमलेश्वर मध्यवर्ती समितिको क्षेत्रमा घाँसदाउरा गर्न जाने क्रममा निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित नेपाल आयल निगमको पार्किङ क्षेत्र नजिक जीतपुर सिमरा उपमहानगरपालिका–२१ की ५१ वर्षीया रुकैया खातुनलाई बिहीबार दिउँसो करिब अढाइ बजे आक्रमण गरी घाइते बनाएको थियो । खातुनको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ हस्पिटलमा सोही दिन साँझ करिब ५ बजे उपचारको क्रममा मृत्यु भएको थियो ।

यमपञ्चकका दिन यो घटना गराएकाले उक्त जंगली हात्तीको नाम ‘यमगज’ राखिएको हो । दाह्रा काटेपछि आक्रामक हात्ती शान्त हुन्छ भन्ने मान्यता रहेको डा. राम बताउँछन् । ‘अहिले यमगज हात्तीसार भन्दा करिब ३ किमी पश्चिम निकुञ्ज क्षेत्रमा बसिरहेको छ, उसको आक्रामकतामा पनि कमी आएको छ,’ उनले भने, ‘दाह्रा काट्नुअघि यमगज दैनिक रातको समयमा हात्तीसारमा आएर हात्तीसारकी ढोइ राप्तीकलीसँग संसर्ग गरिरहेको थियो ।’

३ वटा हात्तीको यो समूह करिब डेढ महिनाअघि कोसी टप्पु आरक्षबाट पश्चिम हान्निएर पर्सा निकुञ्जसम्म आइपुगेको डा. राम बताउँछन् । हात्तीको समूहले वर्षेनि धान बाली पाक्ने बेलामा यसरी लामो यात्रा गर्ने गरेको उनले बताए ।

तस्बिर सौजन्य : पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय

प्रकाशित : कार्तिक १२, २०७९ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?